‘जन्मदिन’ आडम्बरको कि योग्यताको ?

म प्रश्न गर्दैछु तपाईंलाई । के तपाईं साच्चिकै आजसम्म धुमधाम मनाइरहनु भएको जन्मदिनको योग्य हुनुहुन्छ ? के साच्चिकै तपाईंको जन्मेको दिनको सम्झनामा बर्सेनि उत्सव मनाउन लायक हुनुहुन्छ ? के तपाईं त्यसको अधिकारी हुनुहुन्छ ? एकपटक आफ्नो व्यक्तिगत पृष्ठभूमिलाई आत्ममुल्यांकन गर्नुहोस त  ऐनामा आफ्नो भौतिक प्रतिबिम्ब नियाले जस्तै भावनामा आफ्नो चारित्रीक र वैयक्तिक प्रतिबिम्ब एकपल्ट नियालेर हेर्नुहोस। केवल एकपल्ट।

आजको युगले हामिलाई एउटा यस्तो संस्कृति प्रदान गरेको छ जहाँ हामी प्रत्यक बर्षको एकदिन अथवा हामी जन्मेको मितिलाई जन्म दिनको रुपमा मनाउँछौँ। उसो त यो पुर्विय संस्कृतिको आदिम कालमा त्यति देखिदैन तर पछिल्लो केही समयदेखि पुर्विय समाजमा पनि प्रभुत्व राम्रै कायम गरेकोले यसलाई पश्चिमा संस्कृतिको प्रत्यक्ष प्रभावनै मान्न सकिन्छ । हामिले देख्दै र भोग्दै आएको संस्कृतिमा थप एक सांस्कृतिक अवयब बनेर आएको यो आगन्तुक शैली उचित हो या होइन यसको बारेमा भन्दा पनि अधिक म चर्चा गर्दैछु यसको सार्थकता र निर्थकताको बिषयमा ।

के जन्म दिन मनाउनु उचित छ त ? के यो साच्चिकै सार्थक छ त ? यसको बारेमा म आफ्नै शैलीबाट अलिक चर्चा गर्न चाहेँ । हुनत यसलाई पुर्विय संस्कृतिमा बिल्कुलै नभएको भन्न पनि अनुपयुक्त होला। किनकी यसको साक्षीको रुपमा रामनवमी, कृष्ण जन्माष्टमी र बुद्ध जयन्ती जस्ता तिथिहरु पनि बिधमाननै छन। यी तिथि मितिहरुले भत्र्सना गर्ने छन यहाँ मेरो चर्चाको। तर यहाँ म केवल सार्थकता र निरर्थकताको मात्र कुरा गर्ने छु।

जन्म दिन मनाउनुभन्दा पहिले हाम्रो सम्बन्ध जन्मसङ्ग छ। हामिले आफ्नो जन्मदिन मनाएर अनावश्यक द्रव्य र समय समेतको सत्यानाश गर्नु पुर्व आफ्नो जन्मको सार्थकताको मार्ग अनि जिवनको रहस्य जान्न आवश्यक लाग्छ मेरो बिचारमा। किनकी सर्वप्रथम यो सवालको जवाफ खोजिनु पर्छ कि के साच्चिकै हामी जन्म दिन मनाउन लाएकका छौँ त? के हामिले आफ्नो जिवनको अर्थ खोजेको छौँ त? के हाम्रो जीवन अरुको निम्ति र स्वयंको निम्ति समेत लाभदायक छ त ? यी सवाल सर्वप्रथम आफै सङ्ग गरिनु न्यायसंगत होलाकी ?

मैले यहाँ ‘हामी’ शब्दलाई अझै जवाफदेही बनाउन ‘म’ शब्दमा रुपान्तरण गरेँ। यी सवालका जवाफ खोजौँ कि के म जन्मेर समाज र सभ्यताको हित भएको छ त ? के मेरो जन्मले मेरो सामिप्यतामा रहेका हरेक मानव जातिलाई उन्मुक्त खुशीको आभास गराएको छ त ? के म साच्चिकै जन्म दिन मनाउनेको अधिकारी छु त ? आफै भित्रका रहस्यहरुलाई आत्मासवालको रुपमा उत्खनन गरौँ । किनकी हामिले मनाउने जन्म दिन केवल एक दिन होइन यो त मानव सभ्यताले माहान चिज हासिल गरेको दिन हो । तपाईं लाई प्राप्त गरेको दिन हो अनि मलाई प्राप्त गरेको दिन हो। सभ्यताले महान रहस्यको एक विरासत पाएको दिन हो। तर यसलाई कुन अर्थले अलंकारित गर्ने भन्ने कुराको अधिकारी हामी स्वयं हौँ।

यहाँ प्रश्न म सोध्दिन बरु तपाईं आफुले आफैलाई सोध्नुहोस जसले आफ्नो जन्म तिथि आउनुभन्दा एक महिना अघिदेखिनै संवेगको वशमा भएर धुम मच्चाउने उर्दि जारी गर्नुहुन्छ। अनि हरदिन सपनामा पनि साथिहरुलाई निमन्त्रणा गरेको, महंगा झिलिमिली उपहार संगाल्दै विएरका बोतल सङ्ग देउडा खेलिरहेको देख्नुहुन्छ। जसले आफ्नो जन्म दिनको महिना अघिदेखिनै मानसिक संरचना तयार गरिसक्नुहुन्छ कि मैले कति खर्च गर्ने छु र कसरी मनाउने छु भनेर। अर्को महान सत्य यो पनि होकि हामीलाई यो सम्म पनि ख्याल हुँदैन जन्मदिनको उत्सवमा खर्च गरिने अर्थ पनि आफ्नो हो या पिताजी को ? कि छिमेकीको ?

म यो पनि भन्न खोजिरहेको छैन कि जन्म दिन मनाउनु गलत हो। यद्यपि मैले यसरी लेखेँ भनेत यहाँ कोहिकोहिले ढुङ्गा प्रहार गर्न पनि बाकी रहन्न होला। तर म केवल यति कुराको स्पष्टता चाहान्छुकि हामी जन्म दिन मनाउन लायक छौँ या छैनौँ? हामिले हामी जन्मेको दिनलाई कुन दिनको रुपमा मनाउने ? के हामिले आफू जन्मेको दिनलाई युगले नयाँ इतिहास पाएको दिनको रुपमा मनाउन तयार छौं ? यात फेरि पृथ्वीलाई अर्को एउटा भार थपिएको दिनको रुपमा मनाउँछौँ ? कि केवल आमालाई प्रसव पिडाको कठोर प्रताडनाले जीवन मृत्युको दोसाँधमा पुर्‍याएको दिनको रुपमा स्मरण गर्दछौँ ? केही होइन भने के हामी हाम्रो आयु पुन: एक वर्ष घटेकोमा उत्सव मनाउँछौँ ? वास्तविक के को लागि मनाउँछौँ हामी जन्मदिन ?

प्राकृतिले हाम्रो अस्तित्व बनाइदिएको छ तर केवल यसको लागि होइन कि हामी उसैको काखमा बसेर उसैलाई पिरोल्दै उसैको पर्यावरण र परिवेशमा केवल फोहोरको डुंगुर लगाएर जाउँ। हामी जन्मेको दिनमात्रै पनि हाम्रा जननी अनि जनकको मस्तिष्कमा हजारौं आसा लाखौं सपना अनि करोडौं अपेक्षा र अरबौँ रहर हरु जन्मेका हुन्छन त्यति मात्रै होइन उनीहरुका हृदयमा अनगिन्ती भाव हरु उत्पन्न भएका हुन्छ्न। हेर्नुहोस त हाम्रो आगमन संगै कति थोकहरुको एकैपटक जन्म भएको छ? माता पिताको लागि सन्तान केवल सन्तान र साहारा भन्दा अर्को केही होइनन भने त उनका मन मस्तिष्कमा यति धेरै थोकको जन्म हुन्छ भने प्राकृति र सभ्यताले त नयाँ योद्धा पाएको दिन हो। उसका योजना र अपेक्षा हरु अझ कति होलान ? असिमित।

के हामी हाम्रा जनक जननिका असल सन्तान बन्न सकेका छौँ? के हामी हाम्रो इतिहासको पाना पोत्ने नयाँ रङ्ग बन्न सकेका छौँ? के हामी सभ्यताको नयाँ मार्गदर्शक बन्न सकेका छौँ? अनि के हामी युगको निम्ति अर्को मसिहा बन्न सकेका छौँ ? हो यिनै हुन प्रकृतिले हामिसङ्ग गर्ने अपेक्षाहरु अनि यिनै हुन अस्तित्वले हामी सङ्ग माग्ने हाम्रो सार्थक जन्मको प्रमाणहरु। यिनै हुन हाम्रा मुक्तिका मापदण्ड हरु जसले जिवनलाइ धन्यवाद बनाउन सक्छ । सार्थक अनि सफल बनाउन सक्छ। तर के तपाईंमा उल्लेखित कुनैपनी कुरा निहित छ ? आफुलाई त स्यालले पनि सिंह नै सोच्छ अनि कागले कोइली नै सोच्छ तर वास्तविक प्रतिबिम्ब कर्म र भावमा हुन्छ । खोजेर हेर्नुहोस एकपल्ट त्यहाँ कि तपाईं वास्तवमा के हुनुहुन्छ? अनि आफैले उत्खनन गरेका सवालहरुका आत्ममुल्यांकन गर्दै आफैले निचोड निकाल्नुहोस कि के साच्चिकै तपाईं जन्म दिन मनाउन लायक हुनुहुन्छ? तपाईं युगको नायक हो या खलनायक। तपाईं आर्तहरुको मलम हो या नुन चुक। अनि तपाईं कोहिको ईश्वर हुनुहुन्छ या राक्षस। तपाईं सभ्यताको नेतृत्व हुनुहुन्छ या त्यसको बिखण्डनवादी। बस जवाफ आफैले पाउनुहुने छ।

हामी जन्मेको दिन आफैमा महान दिन हो, सभ्यता र युगले नयाँ योद्धा जन्माएको दिन हो तर हामी आफ्ना कर्म र चरित्रले त्यसलाई धमिल्याएको हुन्छौँ। सोच र भावहरुले उसको यथार्थ ओझेल पारेका हुन्छौँ। सत्कर्म र सतबिचारले धमिलोपनलाई धोएर निस्चल जिवनको सुरुवात गरौँ। जन्म दिन दम्भ र आडम्बरको प्रदर्शन गर्न होइन तपाईंलाई युगसंगको प्रतिबद्धतालाई पुन: स्मरण गराउने दिन हो। देखावटी संस्कृतिको अनुसरण मात्र होइन आफ्नै जीवनको अस्तित्व उज्ज्वल बनाउँ अनि तपाईंको जन्म दिन तपाईंले होइन युगले मनाउने छ। केही बर्ष होइन युगौँ युग सम्म सभ्यताले स्मरण गर्ने छ। तपाईंको जीवन शुभ रहोस।