काठमाण्डौ उपत्यकामा मेट्रो रेल निर्माण प्रक्रिया यही आर्थिक वर्ष भित्र शुरु हुने

काठमाडौं, काठमाण्डौ उपत्यकामा मेट्रो रेल निर्माण प्रक्रिया शुरु हुने भएको छ । यही आर्थिक वर्ष भित्र मेट्रो रेलको निर्माण शुरु गर्ने गरि भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले तयारी तीब्र बनाएको छ । ‘कोरोना महामारीले अलिकति ढिलो भयो, तर जस्तो सुकै परिस्थितिमा पनि यो आर्थिक वर्ष भित्र मेट्रो रेलको निर्माण शुरु हुन्छ’ मन्त्रालयका एक अधिकारीले बताए ।भौतिक, पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले कोरोना भाइरसको महामारी नसकिए पनि यो वर्ष भित्रै जसरी पनि मेट्रो रेल शुरु हुने जानकारी मन्त्रालयका उच्च अधिकारीहरुलाई दिइसकेका छन् ।

प्रधानमन्त्री केपी ओलीको प्रतिष्ठासंग जोडिएको र सरकारको कार्यकाल आधा सकिइसकेको अवस्थामा जसरी पनि मेट्रो रेलको निर्माण प्रकृया शुरु गरेर विरोधीहरुलाई जवाफ दिने तयारी गरिएको मन्त्री नेम्वांगको सचिवालयका एक अधिकारीले बताए । उनका अनुसार दशैं—तिहारको आसपासमै रुट तोकेर मेट्रो रेलको निर्माणको लागि टेण्डर आव्हान गर्ने तयारी भैरहेको छ । टेण्डर आव्हान गरेपछि सम्पूर्ण पुरा गर्न पनि कम्तिमा ६ महिनाको समय लाग्ने र आर्थिक वर्षको अन्त्यसम्ममा शिलन्यास गर्ने तयारी भैसकेको छ ।

सन् २०१२ मा गरिएको अध्ययन अनुसार काठमाण्डौ उपत्यकाभित्र विभिन्न पांचवटा रुटमा गरि जम्मा ७ दशमलव १ किलोमीटर मेट्रो रेल निर्माण हुनेछ । ती पाँच रूटहरु चोभार–सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोक–बूढानीलकण्ठसम्म २२ किमी, कीर्तिपुर–कालिमाटी–नयाँ बानेश्वर–एयरपोर्टसम्म ११ दशमलव १५ किमी, कोटेश्वर–चाबहिल–स्वयम्भू–कोटेश्वरसम्म २८ दशमलव ५३ किमी, स्वयम्भू–डिल्लीबजार–बौद्धसम्म ११ दशमलव ७० किमी र धोबीघाट–सिंहदरबार–नक्साल–गोंगबुसम्म १३ दशमलव ८० किमी रहेका छन् । पहिलो चरणमा कुन रुटमा निर्माण प्रकृया शुरु गर्ने भन्ने टुंगो केही दिनमा लगाएर प्रकृया शुरु गरिने भएको छ ।

हाल रेल विभागले चोभार– सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोक–बूढानीलकण्ठमध्ये नारायणगोपाल चोकदेखि सातदोबाटोसम्मको विस्तृत सम्भाव्यता अध्यययन डीपीआर का लागि परामर्शदाता छनोट गरेको छ । परामर्शदाताले ८ महिनाभित्रै अध्ययन सम्पन्न गर्ने भने पनि कोरोना संक्रमणका कारण केही ढिलो भए पनि केही समयमा डिपिआर प्रतिवेदन तयार हुनेछ, त्यसलगत्तै मेट्रो रेल निर्माणको शिलन्यास गर्ने गरि प्रकृया अगाडि बढाइएको छ ।

सन् २०१२ मा गरिएको लागत अनुमानमा यी रूटमा मेट्रोरेल निर्माण गर्न रू। ५ खर्ब ४७ अर्ब लगानी लाग्ने छ । तर, त्यतिबेलाको तुलनमा हरेक क्षेत्रमा मंहगी निकै बढेकोले अहिलेको समयमा त्यो भन्दा पनि धेरै लाग्ने र एकै पटक नेपालले त्यो लगानी जुटाउन नसक्ने भएकोले निर्माण शुरु गरेको करिब १ दशकको अवधिमा सक्ने प्रक्षेपण काम शुरु गर्न लागिएको छ ।रुसले उपत्यकामा मेट्रो रेल संचालनको लागि सहयोग गर्न तत्परता देखाइरहेको छ । केही दिन अघि पनि नेपालका लागि रसियाली राजदूत एलेक्सी नोभिकोभले मन्त्री नेम्वांगलाई भेटेर मेट्रो रेल निर्माणमा सहयोग गर्न रुस ईच्छुक रहेको बताएका थिए ।

मन्त्री नेम्वांगले मेट्रो रेल निर्माणमा रुसले गर्ने सहयोगलाई स्वागत गर्दै पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणमा समेत सहयोग गर्न आग्रह गरेको बताइएको छ । ‘कस्को सहयोगमा हुन्छ भन्ने थाहा छैन, तर मेट्रो रेलको निर्माण प्रकृया अब शुरु हुने कुरामा शंका छैन । संभवतः पहिलो चरणमा रुससंगै निर्माण सम्झौता हुन सक्छ, त्यो संभावना धेरै छ’ मन्त्रालयका एक अधिकारीले भने ।

२०१२ मा अध्ययन भएका मेट्रो रेलका पाँच रूट
१ चोभार–सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोक–बूढानीलकण्ठसम्म २२ किमी
२ कीर्तिपुर–कालिमाटी–नयाँ बानेश्वर–एयरपोट ११।१५ किमी
३ कोटेश्वर–चाबहिल–स्वयम्भू–कोटेश्वर २८।५३ किमी
४ स्वयम्भू–डिल्लीबजार–बौद्ध ११ दशमलव ७० किमी
५ धोबीघाट–सिंहदरबार–नक्साल–गोंगबु स् १३ दशमलव ८० किमी