गद्दारहरूप्रति घृणा जागेर आउँछ…

आफ्ना सहिद पिताको १८औं स्मृति दिवसमा सहिद पुत्रको बयान

हिजो जस्तै लाग्छ त्यो कालो दिन तर आज १८ वर्ष भएछ । ती दिनहरूमा हामीहरूले अनुभुतीको तहमा सत्ताको मानसिक तथा भौतिक यातना, भय र त्रासले नारकीय झैं अती निकृष्ट जीवन बिताएका थियौं, चाहे बुबालाई गुमाउँदाको पिडा होस् वा समाजले गरेको तिरस्कार सबै भोगेउँ । जनयुद्द सुरु हुनुभन्दा अगाडि बाबा जुम्लामा शिक्षक हुनुहुन्थ्यो । विद्यार्थी कालबाट नै राजनीतिमा प्रवेश गरेपछि राजनीति र पेशालाई सँगै लग्ने क्रममा ०४६ सालमा शिक्षक लोकसेवाबाट नाम निकालेर जुम्लामा पढाउनु हुन्थ्यो । ०५२ साल फाल्गुन १ गते नेपालमा महान जनयुद्धको थालनि भएपछि राजीनामा दिएर जनयुद्धमा होमिनु भएको थियो ।

म सानै छँदादेखि नै बाबाको धेरै साथीहरु घरमा आउनु हुन्थ्यो । मेरो कान्छी फूपू पनि पुर्णकालिन कार्यकर्ता हुन्थ्यो । दिनभर पार्टीको छलफलहरू हाम्रै घरमा हुने गर्दथ्यो । म सानै हुँदा पनि बाबाले पार्टीको कार्यक्रममा लग्ने गर्नु हुन्थ्यो । म पनि जाने भनेपछि उत्साहित हुने गर्थें । समय यसरी नै बित्दै थियो बाबा पूर्णकालीन भएर मुक्ति या मृत्युको लडाइँमा भुमिगत भईसक्नु भएको थियो । यत्तिकैमा बुबाको जिम्मा शहरी इलाकामा भूमिगत गतिविधिहरूलाई सञ्चालन गर्नेमा थियो, जुन संकटकालीन समयलाई हेर्दा निकै नै कठिन र जोखिमपूर्ण थियो । ४/५ जना सँगै हिंड्न मिल्थेन ।

शंकाको आधारमा नै कयौं निर्दोषहरू माथि गोलि हानिन्थ्यो। हिरासतमा चरम यातना दिने गरिन्थ्यो । बाबाको साथीहरू दिनहुँ जसो नै घरमा खाना खान आउने गर्नुहुन्थ्यो । कहिलेकाहीँ बाबा पनि आउनहुन्थ्यो । प्रायस् जसो राती मात्रै आउने गर्नु हुन्थ्यो । यतिकैमा साँझ त्यही ५ बजेतिर एकजना पार्टी कै दाई आएर, सर भिडन्तमा पर्नु भयो र २ जनाको घटना स्थल मै सहादत भयो तर सर दुश्मनको घेरा तोड्न सफल हुनु भयोू भन्ने खबर ल्याउनु भयो । बाबाको देब्रे पट्टिको हातमा २ वटा गोलि लागेको रहेछ । घरमा सबैको रुवाबासी चल्यो । ममि बाबालाई भेट्ने भनेर जानू भयो । त्यो बेला माओवादी भने पछि कसैले डरले एकछाक खाना पनि खुवाउथेनन् । घाइतेलाई बास दिने त परै जावोस् सबै स्वोर्ग मात्रै हेर्ने चाहाने थिए तर स्वोर्ग देख्नको लागि भौतिक शरीर दिने कोहि पनि थिएनन् ।

कथन नै छ कि अन्त्यमा काम लाग्ने आफ्नो मानिस नै हो । त्यसैले बाबालाई आफन्तीको घरमा जनमुक्ति सेनाको सुरक्षामा राख्नु भएछ । बेल्का ममि घर फर्किनु भयो । यतिकैमा राति ८ बजेतिर १२/१५ जनाले हाम्रो घरको ढोकामा लात्तिले हानेको आवाज आयो । निकै नै अपशब्द प्रयोग गरेर लात्तीले हान्दै ढोका खोल्न आग्रह गर्दै थिए हामी सबै डरले काँपिरहेका थियौं । हामीलाई एकिन थियो कि ढोका हान्ने आर्मीहरु नै हुन् । त्यतिकैमा ममीले कापेको आवाजमा बिस्तारै खोल्दैछु भन्नुभयो । ममी एक्लै गएपछि बलात्कार गर्ने डर हुन्थ्यो । त्यो बेला धेरै चेलीबेटीहरू राज्यद्वारा बलात्कारको शिकार भइसकेको अवस्था थियो । त्यही डरले मलाई पिठ्युँमा बोकेर हरियो सलले जोडसँग ५र६ गाँठो पार्नुभयो र हामी ढोका खोल्न गयौं ।

ढोका खोल्न मात्रै के पाएका थियौँ उनीहरुले मेरो ममीको छातीमा, मुखमा मुड्की र बुटले हान्न थाले । म डराएर रुन थालें । उनीहरुले मलाई पनि अपशब्द प्रयोग गरि साला आतंकारीको छोरा रुन्छस रु भनेपछि म डरले चुप्प भए । एकछिन कुटपिट गर्न त बन्द गरे तर अपशब्द भने बोली पिछे नै बोल्दै गालिगलोज गरिरहेका थिए । उनीहरूको मुखबाट यति मात्रै शब्द निकालिरहेका थिए, कि तेरो लोग्नेलाई निकाल, होईन भने तेरो आमाछोरा सबैलाई यहिँ आगनमा गोलि हानेर मार्दिन्छु । उनीहरुले जति पटक सोधे पनि मम्मी हात जोड्दै मलाई थाहा छैन हजुर भन्दै हुनुहुन्थ्यो । जति सोधपुछ गर्दा कुटपिट गर्दा पनि कुनै जवाफ नपाए पछि त्यसो भए अब त हामीसँग ब्यारेकमा हिँड भनेर घिसार्न थाले । हामी सबै चिच्याएर रुन थाल्यौं ।

संकटकाल घोषणा भइसकेपछि धेरै मान्छेहरुलाई मार्न थालिसकेका थिएँ। यदि ब्यारेकभित्र लग्यो भने बाहिर आउने कुनै पनि ग्यारेन्टी हुन्थेन िहामी लाई घिसारेर आधी बाटोसम्म पुर्याईसकेका थिए । त्यसपछि भित्रबाट मेरो ७४ वर्षको हजुरआमा मेरो दादालाई बाहिर बोकेर ल्याएर रुदै हात जोडेर भन्नुभयो बाबू यिनिहरु टुहुरा हुन्छन् छोडिदिनुसू । सायद बुढी हजुरआमाले भनेको भएर होला उनीहरुले छोडिदिए तर सर्त थियो कि दुई दिनभित्र जताबाट भएपनि बाबालाई उपस्थित गराउनु पर्नेछ यति भनेर उनीहरू अपशब्द बोल्दै गए त्यो रातभर हामी डरले कोहीपनि सुतेनै बाबालाई गोली लागेछ भनेर भोलि बिहानसम्म सबै गाउँतिर हल्ला भैसेको तर समय परिस्थितिले गर्दा घरमा सान्त्वना दिनका लागि भेट्न आउने वातावरण थिएन। भोलीपल्ट मेरो बाबाको रिसले गर्दा मेरो बाबाको साहिला दाजुलाई स्कुलबाट पढाइरहेको क्रममा कक्षा कोठाबाट नै गिरफ्तार गरेर लगियो। उहाँ न माओवादी न त राजनीतिक मान्छे । सिर्फ मेरो बाबाको दाइ भएकै कारणले गर्दा गिरफ्तार गरियो । लगेको केही छिनमा नै रेडियोमा फलानो नाम गरेको आतंककारी ब्यारेकबाट भाग्न खोज्दा आर्मीहरूद्वारा मारियो भन्ने खबर प्रकाशित गरियो।

उहाँ कोहि नभएर मेरो साहिला बुबा अर्थात मेरो बाबा को आफ्नै साहिला दाजु हुनुहुन्थ्यो । साहिला बुबाको हत्या गरेको पीडा त मनमा छँदै थियो तर त्यस रात पनि आर्मीहरु आएर हाम्रो घरमा अघिल्लो दिन जस्तै दुःख दिए त्यस रात पनि उनीहरुले अपशब्द बोल्दै जसरि भएपनि मलाई तेरो लोग्ने चाहियो भन्दै मम्मी लाई कुटपिट गर्न थाले रुन खोज्दा म नाबालक माथि नै बन्दुक तेर्साएर अपशब्द बोल्दै चुप लाग भने । त्यो दिन पनि हजुरआमाको रोदनपुर्ण आग्रहले गर्दा छाडिदिए तर सर्त थियो कि जसरि भएपनि भोलिसम्म हाजिर गराउने । होईन भने हेलिकप्टरबाट बम हानेर घर सहित सबैलाई उडाने धम्की दिए । साहिला बुबाको हत्या पनि त्यही दिन भएको थियो। यदि हामिले बुबालाई उपस्थित गराउन नसके हामी सबैलाई मार्ने निश्चितै थियो। यो सबै कुरा बाबालाई थाहा भैसके पछि उताबाट पार्टी र बाबा दुबैले घर छोडेर जान भनेर निर्देशन गर्नु भयो । हामी बाध्य भयौं र मम्मी र म दादा भएर मामाघर गयौं । अझैपनी मलाई त्यो यात्रा सम्झिदा हिन्दी सिनेमा ूगद्दरू को याद आउने गर्छ।

जसोतसो हामी सुरक्षित मामाघर पुग्यौं। त्यतिबेलासम्म बुबा उपचार का लागि भारतको लखनऊ गइसक्नुभएको थियो कहिलेकाहीँ फोन गर्नुहुन्थ्यो र भन्ने गर्नुहुन्थ्यो रे मलाई एकदमै छोराहरुसँग भेट्न मन लागेको छ । तर त्यतिबेलाको परिस्थितिमा भेट्न सम्भावना थिएन । केही समयपछि बुबा उपचार गरेर नेपाल फर्किनु भयो र पुनः पार्टीमा जोडी सक्नुभएको थियो त्यतिबेला सम्म हामी मामाघरमा नै थियौं । उहाँको फेरि पनि जिम्मा सहरी क्षेत्रमा नै थियो। धेरै ले कार्यक्षेत्र फेर्नु पर्यो भन्दा पनि दाजुको बदला लिने सोच ले गर्दा मान्नु भएन रे। दिनचर्या हरु यसरी नै बित्दै थियो। एकदिन झमक्कै साँझ परेपछि मेरो माइजू पर्ने एकजना कालो मुख लगाएर आउनुभयो। उहाँको घर अलि टाढा नै थियो यति राती किन आउनु भयो भनेर हामी हेर्दै थियौं ।

माइजु आएर मम्मी लाई घर पछाडि लिएर जानू भयो । हामि कुरा त बुझेको थिएनौ खासखुस मात्रै आवाज अलि टाडा बसेर सुनिरहेका थियौं । एक्कासि मम्मी जोडसँग चिच्याएर रोएको आवाज सुनियो। म दौडिदै गएर के भयो मम्मी भने। मलाई जोड संग अंगालो हालेर रुन थाल्नु भयो र तेरो बाबालाई भिडन्त मा आर्मीले हत्या गरे रे भनेर भन्नुभयो। म छाङ्गाबाट खसे जस्तो भए। बिश्वास नै गर्न सकिन। म पनि मम्मी संग रुन थाले। हामी सबै एउटै अङ्गालोमा बाधिएर रोयौ। सबैले सम्झाउदै हुनुहुन्थ्यो। तर मनले कहाँ मान्थ्यो र। अरु लाई सान्त्वना दिनु र आफू ले उक्त पिडा भोग्नु मा निकै अन्तर छ। जति नै वर्गसंघर्ष को कुरा गरेपनि , सर्बहारा को कुरा गरेपनि , मालेमावादी कुरा गरे पनि अरु सहिद हुदा सम्झाउन जति सजिलो हुन्छ उक्त कुरा आफुले भोग्न निकै नै कठिन हुदो रहेछ। आज त्यही पिडा भोग्दै गरेर १८ बर्ष पुगेको नि थाहा नै भएन।

अझै पनि मलाई बाबालाई गुमाएको प्रति केही पीडा छैन। किनभने बाबा जस्तै नयाँ सपना बोकेर क्रान्तिमा होमिएका १०,००० बाबाहरुले आफ्नो ज्यानको आहुति दिएका छन। तर दुःख यो कुरामा लाग्छ कि ती नेतृत्व कर्ताहरुले आज सहिदहरुको सपनामाथि होली खेलिरहेका छन्। हिजो चप्पल लगाउने हैसियत नभएकाहरु आज काठमाडौंमा बंगला किनेर राजशैलिमा जीवन बिताइरहेका छन्। हिजो साइकल किन्ने हैसियत नभएकाहरु आज पजेरो, ल्यान्ड क्रुजर चढने भएका छन । बुर्जुवा शिक्षा बहिस्कार गरौ भन्नेहरु आज उनीहरूकै छोराछोरीहरु अमेरिका अस्ट्रेलियामा रमाइरहेका छन् । हिजो संसदीय व्यवस्था भनेको खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो हो भन्नेहरु आज आफै त्यही ब्यवस्थामा लिप्त छन् । हिजो सामन्तवादका विरुद्ध निरन्तर लड्नुपर्छ भन्नेहरु आज आफै सामन्ती बनेका छन । हिजो तास खेल्ने लाई जिउँदै खाल्डोमा पुर्नेहरु आज आफै नै तास खेलेर सामाजिक संजालमा हाल्ने भएका छन। सहिदहरु हाम्रो आदर्श को पात्र हुन भन्नेहरु आज दलालहरु लाई आदर्श मान्दै हिडिरहेका छन। खैर जे होस आजको दिनसम्म आउदा सिर्फ नेताहरु बिग्रिएका छन। सहिद सदै महान नै हुनेछन ।

आज मेरो बाबा कमरेड राजन दाहाल अभिनाशुको सहादत प्राप्त भएको १८ औं स्मृति दिवस । म कमरेड राजनलाई विशेष स्मरण गर्छु यो बेला । दलाल व्यवस्थाको नाइके बन्नेहरु र तिनका पुच्छरहरु जो बडे दलाल र छोटे दलालमा अग्रगामी छलाङ हाने, उनिहरुले आज कमरेड राजनको सहादतको स्मृतिमा कुनै श्रद्धाञ्जली व्यक्त नगर्नुहोला, मलाई मेरो बुबाको अपमान सैह्य छैन । जनयुद्धताका प्रचण्ड, बाबुराम देखि तल्लो तहका नेताहरूको लर्को लाग्ने सहिद राजनको घर अचेल सुनसान छ । नेताहरू दलालहरुको कित्तामा उभिएपछी सहिदहरुका घर यस्तै सुनसान छ । सहिद परिवारहरु सहारा विहिन हुनुहुन्छ । तरपनी हामि सहिद परिवारहरूलाई विगतको जनयुद्धप्रति गौरव छ, जुन जनयुद्धलाई नेताहरु सम्झन पनि चाहन्नन् । नत उनिहरुलाई जनयुद्धप्रति गौरव नै छ । हुनत जनयुद्धलाई अरबौं रुपैयाँ र दलाल सत्ताको कुर्सीको लोभमा साट्ने जुवाडेहरुलाई गौरव किन नै हुन्थ्यो र ? 

हामी सहिद परिवारहरुलाई देशमा प्रतिक्रान्ति भएकोमा, जसले टाउकोको मोल तोक्यो उनिहरुको भिडमा रक्सी भोज गरेकोमा, जनयुद्धका सहिदहरुलाई राज्यबाट सहिद घोषणा नगरिनुमा बरु द्वन्द पिडित भनिनुमा, घाइते अपाङ्गहरु मागेर खाने स्थिति हुनुमा निकै द्रवीभूत बनाउँछ । गद्दारहरुप्रति घृणा जागेर आउँछ । तरपनी यदि मार्क्सको ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादलाई विज्ञानको रुपमा आत्मसात गर्ने हो भने, क्रान्ति वा वर्ग संघर्ष निरन्तर हुने प्रक्रिया हो । वर्तमान सत्ताका घनश्याम भुषाल र राम कार्की देखि वामपन्थी विश्लेषकहरुलाई पनि मान्ने हो भने अहिलेको दलाल पुँजीवादी संसदिय गणतन्त्रलाई परिवर्तन मान्न सकिन्न । एकाध केही साना उपलब्धिहरुलाई भजाएर जनतालाई कथित परिवर्तनको भ्रम दिन बन्द गरे हुन्छ । परिवर्तन अग्रगामी हुन्छ विकृत गतिलाई परिवर्तन मान्न हामी सहिद परिवारहरु तयार छैनौं । क्रान्ति अवश्यम्भावी छ । यो कसैले रोकेर रोकिने गाडी होइन किनकि यो समाज विज्ञानको शाश्वत नियम हो । जसले अधुरो सपनालाई पुर्णता दिने चेस्टा गर्छ हामि होस्टेमा हैँसे गर्ने नै छौं । सायद यहि नै महान सहिदहरुप्रतिको उच्च सम्मान हो ।

कमरेड राजन दाहालप्रति हार्दिक श्रद्धाञ्जली !