यसपालिको तिज र कोरोनाले लुटेको खुसी

 मैले यो भन्दा अघिल्लो हप्ता एउटा अफ्रिकी महादेशको केन्यामा एउटा परिवारको निकै दर्दनाक समाचार पढेको थिएँ । त्यसमा लेखिएको थियो । गरिबीको कहर बढ्दै जाँदा एक आमाले आफ्ना सन्तानलाई ढुंगा उमालेर मन बहलाउँदै गरेकी थिइन । उनी आठ सन्तानकी आमा , उनको नाम बहाती कित्साओ हो । उनी निरक्षर एकल महिला थिइन् । मानिसको कपडा धोएर उनले आफ्ना सन्तानको पेट भर्दै आएकी थिइन् । तर, कोभिड(१९ को महामारीका कारण उनको रोजगारी खोसियो ।

 

त्यसयता गरिबीको चक्रमा यसरी पिल्सिन थालेकी थिइन् कि उनलाई छोराछोरीलाई खुवाउने खाना समेत थिएन । सोही कारण उनले आफ्ना सन्तानको मन बहलाउन ढुंगा भाँडोमा राखेर उमालिन्। आमाले केही पकाउँदै गरेको देखेर बच्चाहरू खाना खाने प्रतिक्षा गर्दै निदाउने गर्थे तर पछि यस्तो दर्दनाक स्थिति सहन नसकेर उनी महिलाले सामाजिक सञ्जालमा फोटो राखेर सहयोग मागिन र सहयोगी मनहरुले उनलाई सहयोग पनि गरे ।

तर हाम्रो जस्तो मुकुकमा यतिसम्म त नहोला तथापि पनि यस्ता घटना घट्न सक्ने सम्भावना भने किनै बढिरहेको देखेको छु । सरकार बारम्बार लकडाउन भनेर गरिब माथी नै आवतजावतमा रोक लगाइएको छ । बिहान बेलुकी काम नगरी खान नपुग्नेलाई कस्तो भएको होला रु दिनभर रिक्सा चलाएर बेलुका श्रीमती र छोराछोरीको मन जित्न भएपनी एकमुठी दाल चावल लिएर घरको कौसीमा पुग्ने लाखौं आमा-बालाई तिजले कति रुवाएको होला ।

कति सपना तिलाञ्जली दिन बाध्य बनाएको होला । छिमेकीको घरको मगमगाउने दरको वासनाले पेट कति काउकुती लागेर निमोठिएको होला । धेरै आमाहरु छोरी आउने आशामा कौसीमा बसेर आँशु पुछ्दै बसि होलान् ।

धेरै छोरिहरु तिजको अवसर पारेर आमालाई खुसी पार्ने सपना चकनाचुर भएका होलान् तर सरकार अझै भष्ट्रचार र गफ गर्न मै ब्यस्त छ तर लाखौंलाख गरिबको हालत मरुभूमिको पालुवा झैँ भएको छ । पानी हालौँ पानी छैन, नहालौँ सुक्ने खतरा, खै के जिन्दगी ?  कोरोनाले ओरालो लागेको जिन्दगी ।

 पलाँता गाउँपालिका कालिकोट