राप्ती गाउँपालिकाले गर्यो समुदायमा शिक्षक परिचालन गरी प्रारम्भिक रूपमा कक्षा सञ्चालन

 भालुवाङ, दाङको एक पालिकाले पहिलो पटक समुदाय स्तरमै शिक्षक परिचालन गरि प्रारम्भिक रूपमा कक्षा सञ्चालन गरेको छ । कोरोना संक्रमणको जोखिमबाट जोगिनका लागि नेपाल सरकारले २०७६ चैत ११ गतेबाट लकडाउन गरेपछि बन्द भएको पठन-पाठनलाई सुचारु गर्न सो अभ्यास थालिएको छ ।

कोरोना भाइरस (कोभिड १९) का कारण देशभरका सामुदायिक, संस्थागत र धार्मिक विद्यालयहरूको पठनपाठन बन्द भई विद्यार्थीहरू मारमा परेका बेला नेपाल सरकारले वैकल्पिक शिक्षा कार्यक्रम अन्तरगत रेडियो, टेलिभिजन र अनलाइन कक्षा सञ्चालन गरि पठनपाठन सुरू गर्न निर्देशन दिए बमोजिम दाङको राप्ती गाउँपालिकाले पनि वैकल्पिक शिक्षा कार्यक्रम अन्तरगत रेडियो , टेलिभिजनबाट शिक्षण सिकाई गर्दा प्रभावकारी नदेखिएको भन्दै सामुदायिक र संस्थागत दुवै विद्यालयका शिक्षकहरूलाई समुदायमा नै परिचालन गरि प्रारम्भिक रूपमा साउन १ गते देखि कक्षा सञ्चालन सुरू गरिएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिएका छन् ।

रेडियो र टेलिभिजनबाट शिक्षण सिकाई गर्दा विद्यार्थीहरूले बुझे नबुझेको बारे जानकारी लिने, त्यसै गरि पाठ्यपुस्तक पाए नपाएको, अभिलेखिकरण भए नभएको, नेपाल टेलिभिजन र सामुदायिक रेडियोहरूको साँझा संगठन अकोरापबाट रेडियो कार्यक्रम प्रसारण बारे जानकारी दिने र नयाँ पाठ्यपुस्तक पाएका विद्यार्थीहरूलाई समुदायको क्लबका भवन, सामुदायिक भवन, मन्दिरका छेउछाउमा स्वास्थ मापदण्ड पुरा गरि विद्यार्थीहरुलाई जम्मा गरेर यो अभ्यास शुरु गरिएको हो ।

आफ्नै समुदायमा रहेका यस्ता स्थानमा पठन-पाठनको अभ्यास शुरु भएपछि लामो समयसम्म पठन-पाठनको अवसर नपाएका विद्यार्थीहरु पनि हौसिएको शाखा प्रमुख विकले जानकारी दिएका छन् ।  शिक्षकहरु समुदायमा पुग्नको लागि विषयगत शिक्षकहरुको रुटिन नै निर्माण गरिएको छ । त्यसै अनुसार शिक्षकहरु पालैपालो जाने गरेको मावि माैरीघाटकी प्रअ सिता रिजालको भनाई छ ।  क्षकहरुपालैपालो स्थान परिवर्तन गर्दै जाने गरेका छन् । एउटा ग्रुपमा ४ जना शिक्षकहरु रहेको प्रअ रिजालले बताइन् ।

शिक्षकहरु समुदायमा पुगेपछि अभिभावकहरु समेत खुसी भएको प्रअ रिजालले भनाई छ । विद्यालय जान नपाउँदा बालबालिकाहरुले शिक्षा लिन नपाएको हुँदा समुदायमा शिक्षक पुग्दा अभिभावकहरु खुसी हुने गरेका छन् । बालबालिकाहरुको पढाइ बिग्रने हो कि भन्ने चिन्तामा रहेका अभिभावकहरु समुदायमा पुगेपछि खुसी भएको उनको भनाइ रहेको छ । शिक्षकहरु नजाँदा बालबालिकाहरु मोबाइल तथा खेलमानै भुल्ने गरेको अभिभावकहरुले बताउने गरेको प्रअ रिजालले बताइन् ।

लामो समय विद्यालय बन्द भएको कारण विद्यार्थी सम्म पुग्न शिक्षकहरु पनि उत्साहित भएको रिजालले भनिन् । समुदायमा पुग्ने शिक्षकहरुले विद्यार्थीहरुसँग छलफल गर्ने, विद्यार्थीहरुलाई सक्रिय बनाउने गरेका छन् । जसले गर्दा बालबालिकाहरु सिकाइमा समेत सहयोग पुग्ने उनले बताइन् । गाउँपालिकाले विद्यार्थीहरुलाई विद्यालय सम्म ल्याउन र बालबालिकाहरुको सिकाइमा निरन्तरताका लागि समुदायमा कक्षा सञ्चालन गरिएको राप्ती गाउँपालिकाका शाखा प्रमुख बिकले जानकारी दिएका छन् ।

अहिले विद्यालय खोलेर पढाइ सञ्चालन गर्ने अवस्था नभएकाले यस प्रकारको कार्य शुरु गरिएको शाखा प्रमुख विकले भने । अहिले कक्षा १ देखि १२ कक्षा सम्मका बालबालिकाहरुका लागि कक्षा सञ्चालन गरिएको उनले बताए । गाउँपालिकामा रहेका विद्यालयका प्रअहरु सँगको छलफलपछि यस्तो कार्यको सुरुवात गरिएको उनले बताए । यसमा शिक्षकहरुले सक्रिय रुपमा सहयोग गरेको उनको भनाइ रहेको छ । समुदायसम्म पुग्न कठिन भए पनि शिक्षकहरु पुग्ने गरेको विक बताउँछन् ।

समुदायमा सञ्चालन गरिको कक्षामा सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरु सहभागिता हुने गरेका छन् । ‘जो विद्यार्थीहरु पनि सहभागिता पाउने छन् विद्यार्थीहरुलाई विभेद गरिएको छैन’, प्रमुख विकले भने । समुदायमा पुगेर अध्यापन गराउँदा बालबालिकाको पारिवारिक अवस्थाको समेत जानकारी लिन सकिने छ । जसले गर्दा उनीहरुको सिकाइ उपलब्धिमा समेत सहयोग गर्न सकिने उनको भनाइ रहेको छ । अभिभावकले बालबालिकालाई गर्ने व्यवहार, दिने समयको बारेमा समेत जानकारी लिन सकिने उनले बताए ।

समस्या भए त्यसलाई सुधार गरेर अगाडि बढ्न सहयोग मिल्ने उनको भनाइ रहेको छ ।  गाउँपालिकाको ९ वटै वडाको करिव १ सय ८८ टोलमा ३ सय शिक्षक परिचालन गरि १५ हजार विद्यार्थीहरूलाई शिक्षा दिन सुरू गरिएको बताइएको छ । दिनमा ३ शिक्षकले ३ घण्टा पढाउने गरेका छन् ।

स्कुल सञ्चालन नहुँदा सम्म यो प्रक्रिया निरन्तर रूपमा सञ्चालन हुने पनि बताइएको छ । हाल राप्ती गाउँपालिकामा २९ वटा सामुदायिक, १५ वटा संस्थागत र ३ वटा धार्मिक विद्यालय गरि ४७ विद्यालय रहेका छन् । भने गतवर्षको तथ्यांक अनुसार विद्यार्थी संख्या १५ हजार रहेको छ ।