अनि तीजको गीतले दाङको गढवामा सर्पदंशको उपचार केन्द्र बन्यो

सेना र समन्वयको अनुगमन

 देउखुरी ,महिलाहरुले तीजको गीत गाएर सर्पदंश उपचार केन्द्र बन्यो भन्ने कुरामा धेरैलाई पत्यार नलाग्न सक्छ । गीत गाउँनेहरुलाई पनि उपचार केन्द्र बन्ला भनेर पत्यारै थिएन तर गतबर्षको तीजमा गढवा गाउँपालिकाले पालिका स्तरको तीजगीत महोत्सवको आयोजना गर्यो । कार्यक्रममा उपस्थित महिलाहरुले तीज गीत कै रचनाको माध्यमबाट सर्पदंश उपचार केन्द्रको जोडदार माग गरे ।

उता रेडक्रस लगायतका संघसंस्थाहरले सोही महोत्सवमै सर्पदंशको बिगबिगी र यसको न्यूनिकरण सचेतना सम्बन्धी सडक नाटक पनि प्रस्तुत गरे । हजारौंको संख्यामा जुटेका महिला दिदीबहिनीहरुको तीज गीतले प्रमुख अतिथि बनेर मञ्चमा बसिरहेका गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको मन छोयो ।

त्यसपछि अध्यक्ष यादवले सोही कार्यक्रममै यसबर्ष सर्पदंश उपचार केन्द्र स्थापना गरेरै छोड्ने प्रतिवद्धता जाहेर गरे । कार्यक्रममा उपस्थित सबै खुसी भएर घर फर्किए । देउखुरीको गढवा र राजपुर गाउँपालिकामा बर्षेनी सर्पदंशका कारण सयौँ नागरिकहरुले अकालमै ज्यान गुमाउने पर्ने बाध्यता थियाे । यसबर्ष मात्र गढवा गाउँपालिकाभित्र ५२ जनालाई सर्पले टोकेको र ती सबैलाई गाउँपालिकाको स्वास्थ्य शाखा मार्फत गोरुसिंगे सम्मको एम्बुलेन्स खर्च उपलब्ध गराएको अध्यक्ष यादवले बताए । तीजपछि गढवाका एक ब्यापारी राजकुमार यादवलाई सर्पले डसेर निधन भयो ।

गढवा उद्योग बाणिज्य संघको समन्वयमा स्थानीय संघ संस्था, नागरिक समाज र राजनितिक दलहरुको भेलाले गाउँपालिकाकै अध्यक्षको रोहबरमा रामप्रसाद गैरेको अध्यक्षतामा सर्पदंश उपचार केन्द्र निर्माण सहयोग समिति गठन गर्यो । २०७६ मंसिरमा प्रमुख जिल्ला अधिकारी सहितको जिल्ला बिपद् ब्यवस्थापन समितिले पनि गढवामा सर्पदंश उपचार केन्द्र निर्माणको एजेण्डा पास गरी केन्द्रमा पठायो । सोही अनुरुप गढवा गाउँपालिकाको हिउँदे अधिवेशनबाट सर्पदंश उपचार केन्द्र स्थापनार्थ एक करोड रकम बिनियोजन भयो र काम सुरु भयो ।

गाउँपालिका र जिल्ला प्रशासन कार्यालयले नेपाली सेना संगको समन्वय बढाई रहे सोही रकमले इभिडिङ सिष्टमको टेण्डर प्रकृयाबाट ऋतु निर्माण सेवाले सर्पदंश उपचार केन्द्रको भवन र निमादेवि निर्माण कम्पनीले नेपाली सेनाको गण बस्ने आर्मी ट्रष्ट भवन निर्माणको काम हालै सम्पन्न गरेर गाउँपालिकालाई हस्तान्तरण गरेको छ ।

उपचार केन्द्रमा आवश्यक पर्ने सबै सामानहरु खरिद भैसकेको छ । नेपाली सेनाकै डाक्टरबाट सेवा सुचारु हुने छ । उपचारकेन्द्र अब संञ्चालनको अन्तिम तयारीमा रहेको गाउँपालिकाका अध्यक्ष यादवले जानकारी दिए । भौतिक पूर्वाधार र इक्युप्मेट समेत पुरा भै सकेछ, अब एण्टिस्नेक भेनमका लागि जिल्ला जनस्वास्थ्य र हाम्रो पहल जारी रहने छ । ४–५ दिनभित्रै एण्टिस्नेक भेनम आउने छ ।

जतिसक्यो छिटो उपचार सुरु गर्नुपर्छ–प्रदेश सांसद इन्द्रजित थारु र प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले स्थलगत अनुगमनको क्रममा भने । यसैबीच प्रदेश ५ का सांसद इन्द्रजित थारु, जिल्ला समन्वय समितिका सभापति जितेन्द्रमान नेपाली, प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजाल, रिपुमर्दन गणका गणपति सुमन थापामगर, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरिक्षक गणेश चन्द, जिल्ला  नस्वास्थ्य कार्यालय दाङका प्रमुख सुनिता पौडेल, उद्योग बणिज्य संघ, नागरिक समाज, राजनितिक दल, सहयोग समिति, रेडक्रस लगायतको टोलीले शुक्रवार देउखुरीको गढवामा संञ्चालनको अन्तिम तयारीमा रहेको सर्पदंश उपचार केन्द्रको भौतिक पूर्वाधार र खरिद भएका इक्युप्मेण्टहरुको स्थलगत अनुगमन गरेको छ ।