काठमाडौं उपत्यका कति जोखिममा ?

काठमाडौं, राजधानीमा कोरोना भाइरस संक्रमित पुष्टि भएकोे पाँच महिनापछि उपत्यकामा दिनहुँजसो संक्रमितको ग्राफ बढेको छ। उपत्यकाका तीन जिल्लामा दुई सातायता झन्डै तीन सय संक्रमित फेला परेका छन्।

हालसम्म कोरोनाबाट मुलुकभर मृत्यु भएका ३५ जनामध्ये उपत्यकाका तीन जना छन्। जसमध्ये ललितपुरका दुई जना र काठमाडौंका एक जना रहेका छन्। स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. बासुदेव पाण्डेले केही सातायता काठमाडौंमा संक्रमणको धेरै केस देखिएको बताए। ‘उपत्यकाबाहिर संक्रमणको स्थिति घटिरहेको छ। तर काठमाडौंमा अलि जोखिम देखिएको छ। विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ,’ डा. पाण्डेले भने।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार, उपत्यका बाहिर संक्रमित हुनेको संख्या दिनहुँ घटिरहेको छ। आइसोलेसनमा बस्नेहरूको संख्या पनि घट्दो छ। तर, उपत्यकाबाहिर कोरोना संक्रमण दर घटेको छ। ७७ जिल्लामध्ये तेह्रथुम, भोजपुर, सोलुखुम्बु, हुम्लामा कोरोना संक्रमण मुक्त छन। तर, काठमाडौंमा भने मंगलबार थप २८ जना नयाँ संक्रमित पुष्टि भएका छन्।

शैय्या भरिँदै

संघीय राजधानी बाहिर आइसोलेन कक्ष रित्तिँदै गइरहेका बेला उपत्यकाका कोरोना अस्पतालका शैया संक्रमितले भरिएका छन्। पाटन अस्पतालमा ९२ जना कोरोना संक्रमित उपचाररत छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ३५ जना संक्रमितको उपचार भइरहेको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा आइसोलेसन र सघन उपचार कक्ष (आईसीयू) मा ९ जनाको उपचार भइरहेको छ। सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका केही बिरामीमा गरिएको परीक्षणमा कोरोना भाइरस पोजेटिभ पाइएपछि आकस्मिक सेवा बाहेकका सेवा स्थगन गरिएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. पाण्डेका अनुसार, संक्रमितमध्ये अधिकांश लक्षणविहीन छन्। लकडाउन अलि खुकुलो भएपछि काठमाडौंमा २ सय ६७ केस देखिएको छ। त्यसमध्ये १ सय ७५ जना काठमाडौं, ४३ जना भक्तपुर र ४१ जना ललितपुरका छन्। यीमध्ये ७९ जना विदेशबाट आएका हुन्। उनीहरू विभिन्न मुलुकबाट स्वदेश फर्कने क्रममा संक्रमित हुन पुगेको डा. पाण्डेले जानकारी दिए।

स्वाब थुप्रिँदै

उपत्यकामा पीसीआर विधिबाट स्वाब परीक्षण गरिने चारवटा प्रयोगशालामा स्वाब थुप्रिँदै गएका छन्। काठमाडौं, भक्तपुर र ललितपुरका साथै उपत्यका बाहिरबाट पनि संकलित स्वाबको परीक्षण गर्न स्वास्थ्यकर्मीलाई भ्याइनभ्याइँ छ। अधिकांश विदेशबाट आएका व्यक्तिको स्वाब संकलन र परीक्षण भइरहेको रोग नियन्त्रण महाशाखाका निर्देशक डा. पाण्डे बताउँछन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, शुक्रराज ट्रपिकल अस्पताल, पाटन अस्पताल , वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा रहेको प्रयोगशालाहरूमा पीसीआर परीक्षणका लागि स्वाब थुप्रिएका छन। शिक्षण अस्पताल, कोभिड बिरामीको उपचार संयोजक डा. सन्तकुमार दासका अनुसार दैनिक एक सयको हाराहारीमा नयाँ स्वाब संकलन हुने गरेको छ। डा. दास भन्छन्,‘ कोरोनाको जोखिम घटेको छैन। स्वाब संकलन हुने क्रम दैनिक बढिरहेको छ।’

पाँच महिनादेखि कोरोना संक्रमितको उपचार गरिरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन र अति सघन उपचार कक्ष (आईसीयू) मा संक्रमितको भीडभाड छ। अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारी भन्छन्,‘ कोरोना भाइरस छ/छैन भन्दै दिनहुँ आठ सयदेखि एक हजारको हाराहारीमा आउँछन्।’

जाँच गर्न अस्पताल पुग्नेमध्ये झन्डै तीन सयको मात्र स्वाब संकलन गर्ने गरिएको अस्पतालले जनाएको छ। बाँकीलाई आवश्यक परामर्श दिने गरिएको निर्देशक भण्डारीले बताए। आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।