पार्टी, पार्टी नेतृत्व बिकास र रुपान्तरण

कम्युनिस्ट आन्दोलनको जन्म समाजमा रहेका सबैखाले विभेद र उत्पीडनहरूको अन्त्य गरी पूर्ण मानवीय स्वतन्त्रता र समानताको स्थापना गर्ने महान् उद्देश्यका साथ भएको हो । त्यसैले कम्युनिस्ट पार्टीको अन्य पार्टीकोभन्दा अलग्गै पहिँचान हुनुपर्दछ । कम्युनिस्ट पार्टीमा व्यक्तिगत होइन, सामुहिक आधिपत्य र श्रमजीवी सर्वहारा वर्गको वर्चस्व हुन्छ । समाजमा भएका सबै प्रकारका शोषण र असमानताको अन्त्य गरेर समाजवाद तथा साम्यवादी समाजको स्थापना गर्नु नै कम्युनिस्ट पार्टीको एकमात्र उच्चस्तरीय लक्ष हो ।

दलीय राजनीति पुँजीवादी युगको उपज हो । सामन्तवादी युगसम्म व्यक्तिवादी राजनीति चल्थ्यो । सामन्ती व्यवस्था हुँदासम्म राज्य सञ्चालनका निम्ति बनाइने संरचनाहरू सबै व्यक्तिवादी चरित्रका हुन्थे । भारदारी सभा या परामर्शदात्री सभा यस्तै केही हुनसक्थे तर ती सबै व्यक्तिवादी प्रकारका हुन्थे । त्यहाँ समूहगत प्रतिनिधित्व हुँदैनथ्यो ।

त्यहाँ समुह भएपनि मुख्य व्यक्तिको बोलीमा निर्णय मुखरित हुन्थ्यो । समाजमा पुँजीवादी उत्पादन प्रणालीको विकास हुँदै गएपछि राजनीतिमा समूहवादको जन्म भयो । त्यही समूहवाद दलीय व्यवस्थामा विकसित भयो । सुरुमा पुँजीपति वर्गको नेतृत्वमा उसकै हित प्रतिनिधित्व गर्ने दलहरू बने । ती दलहरूले समाजको अर्को महत्त्वपूर्ण पक्षका रूपमा रहेको श्रमजीवी वर्गको हित गर्न सकेनन् या गरेनन् । त्यसैले श्रमजीवी वर्गको हित गर्ने, त्यस वर्गको पक्षमा काम गर्ने दल या पार्टीको आवश्यकता पर्‍यो । त्यही आवश्यकताले कम्युनिस्ट पार्टीको जन्म भयो ।

पार्टीहरू आन्दोलनबाट जन्मेका हुन् र जन्मन्छन् । सामन्ती शोषण, दमन र उत्पीडनका विरुद्धको आन्दोलनका दौरान पुँजीवादी या बुर्जुवा पार्टीहरू जन्मेका थिए भने कम्युनिस्ट पार्टी सामन्ती शोषण, दमन मात्रै होइन, पुँजीवादी शोषण, दमन र उत्पीडनका विरुद्ध समेत आन्दोलन गर्ने क्रममा जन्मेको हो । त्यसैले कम्युनिस्ट पार्टी र बुर्जुवा पार्टीहरूका बीच केही मौलिक भिन्नताहरू हुन्छन् र हुनुपर्दछ ।

बुर्जुवा पार्टीहरू मूलतस् राजनीतिक अधिकार र राजनीतिक परिवर्तनमा सीमित हुन्छन् र उनीहरुको मुख्य उदेश्य पुँजीवादी वर्गहितको लागि सत्ता कायम गर्ने हुन्छ भने कम्युनिस्ट पार्टीले राजनीतिक अधिकारलाई मात्रै पर्याप्त ठान्दैन र आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारका निम्ति समेत संघर्ष गर्दछ । अर्थात् यसलाई अर्को तरिकाले भन्नुपर्दा बुर्जुवा पार्टीहरुको मुख्य उदेश्य सत्ता प्राप्ति गर्नु हो भने कम्युनिस्ट पार्टीको मुख्य उदेश्य समाजको आमूल परिवर्तन गर्नु हो । यसर्थ कम्युनिस्ट पार्टीले समाजको आमूल परिवर्तनको लागि सत्ता कब्जा गर्दछ । उसका लागि सत्तामा पुग्नु गौण र समाज परिवर्तन मुख्य हुन आउँछ । त्यसकारण कम्युनिस्ट पार्टी राजनीतिक उदेश्य प्राप्तिमा मात्रै सिमित हुँदैन, आर्थिक, सामाजिक,न्यायीक सबै परिवर्तनको पक्षमा समेत उभिन्छ र त्यसका निम्ति संघर्ष गर्दछ । त्यसैले एउटा कम्युनिस्ट पार्टी या कम्युनिस्ट व्यक्ति हुनु भनेको श्रमजीवी जनताका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र न्यायीक अधिकारका निम्ति संघर्ष गर्ने हुनु हो । सिंगै समाजको आमूल परिवर्तनका निम्ति संघर्ष गर्ने हुनु हो । यस प्रकारको संघर्ष नगर्ने व्यक्ति वा संस्था कम्युनिस्ट होइन । समाज बदल्न नचाहने, यथास्थितिमै रमाउने र आफ्नो भलाइमा तल्लिन रहने व्यक्ति वा संस्था कम्युनिस्ट होइन र हुन सक्तैन ।

नेतृत्व भनेको अगुवाइ गर्ने कार्य हो । यो कार्य नीति निर्माण, निर्णय र निर्देशन मार्फत् हुन्छ । नीति निर्माणमा अगुवाइ गर्नु नेतृत्वको मुख्य कार्य हो । सहि नीति निर्माण गर्नका निम्ति बस्तुस्थितिको सही आकलन गर्नसक्ने हुनुपर्दछ । त्यसैले समाजमा विद्यमान समस्याहरूको पहिँचान गर्ने र ती समस्याहरूको समाधानका निम्ति उपाय बताउने अर्थात् नीति निर्माण गर्ने कार्यमा अगुवाइ गर्नु नै नेतृत्व हो । नीति तय गर्ने या सूत्रीकरण गर्ने, ती सूत्रीकृत नीतिहरूलाई निर्णयको तहमा पुर्‍याउने र निर्णय कार्यान्वयनका निम्ति प्रभावकारी ढंगले निर्देशन गर्ने अर्थात् प्रवक्ताको भूमिका निर्वाह गर्ने कार्य नेतृत्वको व्यावहारिक रूप हो ।

नेतृत्वका दुई पक्ष हुन्छन् । एउटा वैचारिक नेतृत्व र अर्को संगठनात्मक नेतृत्व । विचार निर्माणमा अगुवाइ गर्ने कार्य वैचारिक नेतृत्व हो भने संगठन निर्माण र परिचालन गर्ने कार्य संगठनात्मक नेतृत्व हो । वैचारिक नेतृत्व र संगठनात्मक नेतृत्व एउटै व्यक्तिले गर्दा धेरै राम्रो मानिन्छ । तर त्यस्तो नहुने स्थिति पनि रहन्छ । नेतृत्वले कतिपय स्थितिमा विचार या नीति निर्माणमा अगुवाइ गर्छन् तर आफैंले संगठनात्मक नेतृत्व लिँदैनन् । कतिपय स्थितिमा कुनै व्यक्तिले विचार या नीति निर्माणमा अगुवाइ गर्न सक्तैनन् तर संगठनका निर्माण र परिचालनमा भने राम्रो भूमिका निर्वाह गर्न पनि सक्छन् । यस्तो स्थितिमा दुई पक्षमा फरकफरक नेतृत्व पनि हुनसक्छ ।

नेतृत्वको निर्माण व्यवहारबाट हुन्छ । उ सहि छ कि छैन भनेर जाच्ने कसि उसको व्यबहार नै हो । विचार वा नीति निर्माण गर्ने कार्यमा र संगठनको निर्माण तथा परिचालनमा जसले अगुवाइ गर्छ वा अगुवाइ गर्नसक्ने क्षमता प्रदर्शन गर्दछ, उही नै नेता बन्दछ । त्यसैले नेता व्यवहारले जन्माउँछ । रुसी नेता प्लेखानोभले भनेका छन्, ‘एउटा महान् व्यक्ति उसमा रहेको समाजका तात्कालिक ठूला–ठूला आवश्यकताहरूको परिपूर्ति गर्नसक्ने सक्षम गुणहरूको कारणले महान् हुन्छ । ‘‘ उसले पहिले विकास भएका सामाजिक सम्बन्धहरुले सिर्जना गरेका सामाजिक आवश्यकताहरूको पहिँचान गर्दछ र तिनको परिपूर्तिका लागि पहल गर्दछ।’ ९सेलेक्टेड फिलोसोफिकल वर्कस् भोलुम टु पेज ३१४० ।

नेतृत्वसम्बन्धी सवालमा बर्जुवा पार्टीहरू र कम्युनिस्ट पार्टीमा ठूलो भिन्नता हुन्छ । बुर्जुवा पार्टीहरू नेता प्रधान हुन्छन् र उनीहरूमा नेतृत्वको प्रायस् पारिवारिक चरित्र हुन्छ । त्यहाँ व्यक्तिवाद हावी भएको देखिन्छ । तर, कम्युनिस्ट पार्टीमा चाहिँ नेता प्रधान नभई नीति प्रधान हुनुपर्ने मान्यता रहेको हुन्छ । त्यसैले कम्युनिस्ट पार्टीमा नेतृत्व निर्माणको प्रक्रिया अलि फरक हुन्छ । कम्युनिस्ट पार्टीमा नेतृत्वको निर्माण व्यक्तिकेन्द्रित भएर होइन, नीति केन्द्रित भएर बन्दछ । त्यहाँ पार्टीलाई व्यक्तिको इच्छामा होइन, नीति र विधिमा संचालन गर्नुपर्दछ भन्ने मान्यता राखिन्छ । त्यसकारण नेतृत्व व्यक्तिका इच्छा, आकांक्षा पूरा गर्ने कुनै गरगहना या पोसाक होइन, त्यो त समयको माग पूरा गर्न सक्ने योग्यता, क्षमता र कुशलता हो । समाजका समस्याहरूको सही र सटिक विश्लेषण गर्नसक्ने र ती समस्याहरूको समाधानका निम्ति चुनौतीहरूको सामना गर्दै अगाडि बढ्न सक्ने र सिंगो संगठनलाई अगाडि बढाउन सक्ने योग्यता, क्षमता र कुशलता नै नेतृत्व हो ।

नेतृत्वमा हुनुपर्ने विभिन्न पक्षहरुमा मुख्य रूपमा प्रथम पक्ष हो, विचार तथा नीति निर्माणमा अगुवाइ गर्ने क्षमता । त्यो क्षमता भएन भने वैचारिक नेतृत्व हुनसक्तैन । वैचारिक नेतृत्व नभएर सांगठनिक नेतृत्व मात्र भयो भने त्यो प्राविधिक नेतृत्व हुन्छ र प्रभावकारी बन्न सक्तैन । नेतृत्वको दोस्रो महत्त्वपूर्ण कुरा हो, विचार प्रस्तुतिको क्षमता । राम्रो विचार छ तर त्यसलाई प्रभावकारी ढंगले आमजनतामाझ पुर्‍याउन सकिएन भने पनि काम लाग्दैन । त्यसैले नेतृत्व गर्ने व्यक्तिमा प्रभावकारी प्रस्तुतिको क्षमता हुनुपर्दछ । नेतृत्वको तेस्रो महत्त्वपूर्ण पक्ष,आचरण हो । अरू जतिसुकै गतिलो भए पनि आर्थिक र नैतिक आचरण खराब भएको व्यक्ति नेता हुन सक्तैन ।

यदि यस्तै खराब आचरण भएको मान्छे नेता हुन पुग्यो भने संगठनकै आचरण भ्रष्ट हुन्छ र समाप्तिको दिशातर्फ जान्छ । नेतृत्वको चौथो महत्त्वपूर्ण पक्ष कार्यशैली हो । नोकरशाही कार्यशैली भएको नेतृत्व गतिलो मानिँदैन । जनवादी कार्यशैली राम्रो मानिने शैली हो । कम्युनिस्ट पार्टीमा जनवादमा आधारित कार्यशैलीलाई राम्रो मानिन्छ । त्यसैले जनवाद र केन्द्रीयताको राम्रो संयोजन भएको कार्यशैली अवलम्बन गर्ने नेतृत्व भयो भने राम्रो हुन्छ । नेतृत्वको पाँचौं महत्त्वपूर्ण पक्ष, पहलकदमी र क्रियाशीलताको पक्ष हो । आफैं क्रियाशील नहुने र पहलकदमी नलिने नेतृत्व संगठनलाई गति दिन सक्दैन । त्यसैले नेतृत्व गर्ने व्यक्ति आफैं अत्यन्त गतिशील र पहलकर्ता हुनुपर्दछ।

नेतृत्व लिने दुई माध्यममा हस्तान्तरण र प्रतिस्पर्धा दुई तरिका छन् । एउटा भइरहेको नेतृत्वले आफ्नो उत्तराधिकारीलाई नेतृत्व हस्तान्तरण गर्ने तरिका र अर्को नेतृत्वका निम्ति प्रतिस्पर्धा गर्ने र त्यस्तो प्रतिस्पर्धामा जित्नेले नेतृत्व लिने तरिका । हस्तान्तरणको प्रक्रियाबाट नेतृत्व परिवर्तन गर्दा एक व्यक्तिले छाड्ने र अर्को व्यक्तिले लिने गरिन्छ । त्यसो गर्नका निम्ति पहिलेदेखि नै नेताको उत्तराधिकारी तयार गर्दै गएको हुनुपर्दछ ।

त्यसरी नेतृत्व परिवर्तन गर्दा छाड्ने र लिने व्यक्तिहरूको प्रमुख भूमिका रहन्छ । अरूको खासै भूमिका रहँदैन । यस प्रक्रियाबाट जाँदा नेतृत्व निर्माणमा कार्यकर्ताको भूमिका रहन पाउँदैन । नेतृत्वपंक्तिमा पहिलो नम्बर नेताको उत्तराधिकारी बन्ने होड चल्छ । प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्ने प्रक्रियामा व्यक्तिले आफ्नो योग्यता, क्षमता र पहलकदमीको आधारमा नीति निर्माण गरि प्रस्ताव लैजाने र त्यसलाई अनुमोदनको लागि कार्यकर्ताको मन जितेर नीति सहितको नेतृत्व लिने काम हुन्छ । यस प्रक्रियामा नेतृत्व चयनमा कार्यकर्ताको सक्रिय र निर्णायक भूमिका रहन्छ । कम्युनिस्ट पार्टीले यहीँ माध्यमबाट नेतृत्व छनौट गर्ने प्रचलन छ ।

नेतृत्व छनौट प्रक्रियामा हस्तान्तरण होस् वा प्रतिस्पर्धाबाट छनौट होस्, नेतृत्व लिन चाहने व्यक्तिको योग्यता, क्षमता, कुशलता, क्रियाशीलता, कार्यशैली र आचरण जस्ता विषय उठ्नु स्वभाविक हो । साथै मापदण्डको कुरा पनि उठ्छ्न् । नेतृत्व कस्ताले र कसले गर्ने रु यो छनौट जटिल कुरा हो । त्यसकारण प्रक्रिया भन्दापनि नेतृत्व समय परिस्थिति अनुसार रुपान्तरण भएको छ कि छैन त्यो महत्वपुर्ण कुरा हो । हामीले जनता वा जन अपेक्षाबाट समेत धेरै सिक्नुपर्ने आवश्यकता छ । मुलुकको वर्तमान राजनीतिक नेतृत्वप्रति आम नेपाली जनताले गरिरहेका आलोचना र टिप्पणीतर्फ ध्यान दिने हो भने मुख्य सवाल अहिलेको प्रमुख नेतृत्व पंक्ति रूपान्तरित हुन सकेन भन्ने हो । केहि राजनीति परिवर्तन भयो तर मुख्य राजनीतिक नेतृत्वको चरित्र बदलिएन, त्यसको स्वभाव, क्रियाकलाप र गुणमा परिवर्तन आएन भन्ने हो ।

आन्दोलन, दस्तावेज र लेखमा राम्रै योग्यता, क्षमता र कुशलता प्रदर्शन गरेको नेतृत्वले परिस्थिति अनुसार, त्यो आन्दोलन, दस्तावेज र लेख अनुसार आफ्नो व्यबहार रुपान्तरण गर्न सकेनन् भन्ने आम जन गुनासो छ । मंचमा उभिएर भाषण गर्दा कति राम्रो, प्रगतिशील, समानता र जुझारु तर व्यबहारमा लागु केहि पनि छैन । त्यसैले आवश्यकता अनुरूप आफूलाई बदल्न नसक्दा या रूपान्तरित हुन नसक्दा नयाँ परिस्थितिका नयाँ चुनौतीहरूको सामना गर्न र अपेक्षित ढंगले कार्यसम्पादन गर्ने क्षमता देखाउन सकेन भन्ने कुरा हो । दशकौंदेखि एउटै तरिका र एउटै कार्यशैलीले कुशल नेतृत्व बन्न सकिदैन भन्ने हो ।

मानौं, पार्टी सिद्धान्त सही छ, विचार सही छ, नीति सही छ, तर पनि पार्टी किन भने जसरी अगाडि बढ्न सकिरहेको छैन रु आम कार्यकर्ताको गुनासो छ कि शीर्षस्थ नेताहरू आत्मकेन्द्रित भए, पार्टीको हितलाई भन्दा आफ्नो निजी हितलाई र आफ्नो वरिपरि घुम्ने केही निश्चित मान्छेहरूको हितलाई प्राथमिकता दिए तर समाज परिवर्तनको मुद्दालाई केन्द्रबिन्दुमा राखेर काम गर्न सकेनन् । त्यसैले आजको आवश्यकता नेतृत्व हस्तान्तरणको भन्दा पनि रूपान्तरणको हो ।

नेतृत्व हस्तान्तरण होस् या नहोस्, यदि नेतृत्वमा रहेको व्यक्तिवादी चिन्तन र व्यबहार जून सामन्ती व्यवस्थामा रहन्छ, त्यो प्रवृत्ति रूपान्तरित नहुने हो, अहिलेको आत्मकेन्द्रित र व्यक्तिवादी चिन्तन र व्यवहारमा परिवर्तन नल्याउने हो भने र अहिलेको नोकरशाही चरित्रको कार्यशैलीमा परिवर्तन नगर्ने हो भने अवस्था जहाँको तही रहनेछ । नेतृत्व हस्तान्तरण होस् या नहोस् यदि रूपान्तरित भएन भने अहिलेको शीर्षस्थ नेतृत्व पंक्तिले पार्टीलाई गति दिन नसक्ने मात्र होइन ऊ आफू पनि समाप्त हुनेछ र पार्टीलाई पनि समाप्त गर्नेछ । त्यसैले अबको संघर्ष गलत कार्यनीतिको सुधारको साथै नेतृत्वको कुशलता, कार्यशैली र आचरणमा समेत रूपान्तरणका निम्तिको संघर्ष पनि हुनुपर्दछ ।