रुकुम जाजरकोट हत्या-काण्डबारे

बसिबियाँलो

विषय प्रवेश:

हाम्रो समाजमा ‘६’ किसिमका दमनहरु छन्;
‌धनीले गरीबलाई गर्ने दमन
‌पढे-लेखकोले नपढेकोलाई गर्न दमन
‌सुगम ठाउँकोले दुर्गम ठाउँकालाई गर्ने दमन
‌उपल्लो अहोदामा बसेकोले तल्लो अहोदाका मान्छेलाई गर्ने दमन
‌पुरुषले महिलालाई गर्ने दमन । 

अनि,

‌जातपातका आधारमा हुने दमन

परापूर्वकाल देखि नै हाम्रो भारत वर्षमा, धर्मका नाममा अनेकन कुरीतिहरु जन्माईए। जातीय व्यवस्था, अझै उसैगरी गढेर बसेको, एउटा त्यस्तै गहिरो ‘खिल’ हो।

नेपाल एकीकरण पछि, एउटा निश्चित जातिका मान्छेहरूमा मात्रै सधैभरि सत्तामा रहने भए। त्यो अघि, जातपातका आधारमा गरिने कामहरू विभाजित थिए। तर, मनहरु विभाजित थिएनन् । न विभाजित थिए मान्छेहरू।

त्यसपछिका दिनहरूमा;

सर्वेपरी भएर बसेका महामहिमहरुले, हाम्रो समाजमा यो व्यवस्था यसरी लादे कि, ‘मान्छेले मान्छेलाई मान्छे नै नठान्ने चलन’को मलजल भयो। परिणामत; पूर्वका तामाङ्ग, राई, लिम्बू … आदिहरुले पनि दलितहरुलाई दमन गर्न थाले। नभए, त्यहाँका जनजातिहरुमा जातपातको अवधारणा नै थिएन पहिले।

महामहिमहरुले नै आड दिसकेपछि, ठिक ‘यही’ कुरा, नेपालका हरेक कुना-काप्चा तिर, डढेलो लागे जसरी फैलिदै फैलिदै गयो। जस्को सीधा अर्थ; जनजाति, क्षेत्री अनि मझ्यौला जातका मान्छेहरूले, आफू दमनमा परेको कुरा बिर्सेर, दलितहरु माथि पो दमन गर्न थाले।

यसरी, माथिकोले सबैलाई लाई दबाउने, बिचकोले आफुभन्दा तलकोलाई दबाउने अनि त्यही तलकोले पनि दलितलाई दबाउने गर्न थालेपछि… दलितहरु समाजको पिधमा परे। यो फरक कुरा हो कि; जनजातिहरुको कुरा पनि, लगभग लगभग १९-२० उस्तै उस्तै हो।

पानी नचल्ने, छुन नहुने, मन्दिर पस्न नपाइने, सीधा बोल्न नदिने.. आदि जस्ता अनेकन अमानवीय कुराहरू उनीहरू माथी भयो। उनीहरुलाई राज्यका हरेक सुख सुविधाहरु बाट परै राखियो। अधिकार ‘यो – त्यो’ जस्ता मूलभूत हकहरुको कुरा पनि त्यस्तै।

यसरी, सबै -सबैबाट अपहेलित हुँदै शताब्दी बिताए उनीहरूले। र पनि, उनीहरूका समस्या ज्यूँका त्यु अझै उस्तै छन्। उनीहरू उस्तै छन्। उनिहरूको जीवनशैली उस्तै छ। उनीहरूको समाजमा ठाउँ उस्तै छ।

७ सालको प्रजातन्त्र। १० वर्षे जन-आन्दोलन। ४५ को बहुदल। ६२-६४ साले परिवर्तन हुन वा संविधान बनेको समय । पिधका मान्छेहरूलाई युद्ध भूमिमा ‘ढाल’का रूपमा मात्रै प्रयोग गरियो। परिणामत; समाजमा केही परिवर्तन आए। केही नयाँ लहरहरु आए। व्यवस्था फेरिए। अर्थोक फेरिए। तर, पिधका मान्छेहरूको दैनिकी फेरिएन। उनिहरूको दिन फिरेन। उनिहरूको जीवनशैली फेरिएन।

सहरीकरण र पश्चिमिकरण सँगै, राजधानी तराई र केही गिनेचुनेका सहरमा, मान्छेहरूको जन-घनत्व एक्कासी बढ्यो। काठमाडौको पशुपतिमा पहिले जात सोधेर मात्रै भित्र जान पाउने चलन थियो। तर, मान्छेको चाप बढेसँगै ‘सबैलाई जान पाउने’ भन्ने भयो। ‘यो’ कुरा समाजका अरु आयामहरुमा पनि लागू भए। विद्यालय, अस्पताल, कार्यालय आदि आदि…।

जस्को सीधा अर्थ;

‘समाजमा अब छुवाछुत छैन!’ भन्ने जस्तो देखियो। तर, ‘यो कुरा, कुरा’ मात्रै न हो। नभए, रुकुम हत्याकाण्ड किन भयो ? यसरी, मानव नरसंहार नै हुनेगरी, किन एउटा सिंगो समाज जाइलाग्यो  ? अझ, वडा अध्यक्ष नै किन नेतृत्व पंक्तिमा लागे ? देशका भावी प्रधानमन्त्री भनेर हेरिएका नेता नै किन संसदमा यो घटना ढाकछोप गर्न खोज्दैछन् ?

हामीहरूले जतिजति पहाड जत्रा ‘ठूला अनि मोटा’ कुराहरू गरेपनि, हाम्रो समाजमा, आजपनि जातपात अझै उस्तै छ । पिधका मान्छेहरूका दुखाई उस्तै छन्। मुटु बिझाउने पीडाहरू अझै उत्रै छन्।

जाजरकोट खलंगाका, नबराज विक आफू सहित १८ जना साथीहरुसँग, ३ वर्षदेखि प्रेम सम्बन्धमा रहेकी मल्ल जातकी ‘ठकुरी’ प्रेमिकालाई भगाएर ल्याउन जान्छन्। उनीहरुलाई, तथानाम गालि-गलौज पछि फर्काइन्छ।

अनि, बिच बाटोमा थकाई मारिरहेको अवस्थामा, एक्कासी सिंगो गाउँ जाई लागेर, अनेक हात हतियार सहित, कुटपिट गरिन्छ। मरणासन्न हुनेगरी घाइते पारिन्छ। अनि, मरेकालाई हात बाँधेर भेरीमा फालिन्छ।

हो, यस्तो लकडाउनको बेला, एक जिल्लाबाट अर्को जिल्ला जानु। अझ, दलबल नै हुनु। त्यसमाथि, केटी भगाउने प्रायोजन हुनु… यी गलत कुराहरू थिए। यी दण्डनीय कार्य थिए।

तर, यी भन्दा कति हो कति गुणा गलत कुरा
कसैको ज्यान मार्नु हो। कसैको जिन्दगी समाप्त गर्नु हो।

पढेर यहाँसम्म आउनु भएको प्रिय मान्छे

विगत १० दिनदेखि, म यहाँ जाजरकोट खलंगाको अवस्था नजिकैबाट नियालि रहेको छु। ६ जना कलिला छोराहरू मारिएका आमाहरूको आँशु हेरिरहेको छु। एउटा सिंगो टोल ‘राणागाउँ’ हुँदै, जिल्ला-प्रदेश-देश अनि संसार भरी फैलिएको यो घटना पछिका कुराहरू, ‘प्रत्यक्षदर्शी’ भएर नियालिरहेको छु।

… र हरदिन सोचि रहेछु;

के नवराज विक, दलित हुन्थेनन् भने यो सब हुन्थ्यो होला त ? के दलित सागका मुन्टा हुन, यसरी फ्याटै भाचेर मार्नलाई?? के प्रेम गरेको सजाय, हाम्रो समाजमा यही हो त ?

प्रश्न अनेक छन्। खुल्दुली उस्तै अनेकन छन्। म सोध्नेसम्म आँट गर्दिन कसैलाई। फेरिपनि, केही किताबहरूमा सोधी खोजी गर्छु। केही आलेख, समाचार अनि पत्रपत्रिकामा मन डुलाई बस्छु। तर, जबाफ केही केही भेट्दिन। न भेट्छु कि भन्छु… तर, अहँ! मेरा हर सम्भव प्रयासहरु बालुवामा पानी खनाए जस्तै हुन्छन।

“बिहे त, आफनै जातकी सँग गरेस है छोरा!” अस्तिसम्म मलाई केटाकेटी मान्ने मम्मी, अचेल यसो भनेर आफ्नो डर व्यक्त गर्नुहुन्छ। “पहिले माओवादी भन्यो। यो भन्यो। त्यो भन्यो । अनि, समाजमा परिवर्तन आयो भन्यो। अनि, तिनैबाट तरकारी काटेसरी काटी माग्यो..” बुवा यसो भनेर, हाम्रो समाजको उदाङ्गोपन माथि प्रकाश पार्नुहुन्छ।

हाम्री छिमेकी काकी

“लभ-सब गर्ने चक्करमा पर्ने हैन है त्यहाँ! थाहा भो नी? लभ गरेको नतिजा?” भनेर, मलाई डर देखाउनु हुन्छ। अनेकन नातेदारहरुको दैनिक आइरहने फोनको अभिप्राय पनि लगभग लगभग यस्तै यस्तै हुन्छ।

क्षेत्रीको छोरो यो पाउ छुन्छ, घिनले छुँदैन
मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन ।

महाकवि लक्षमीप्रसाद देवकोटाले उहिल्यै जमानामा, मुनामदनमा लेखेको यो लाईन, सुन्न पढ्न र लेख्न मात्रै हो रहेछ। मान्छे त अरु सबथोक गुणहरू छोडि, यही जातकै कारणले पो ठूलो हुने रहेछ बाबै।

संसार कहाँ पुगिसक्यो।
मान्छे मंगल ग्रह भेट्न हिँडिसके।

हामी भने अझैपनि, उसैगरी, ढुङ्गे युगमा झै एउटा जात नाउँको ‘हाउगुजी’ मै अड्किरहेका छौ। जिन्दगी प्रगती पथमा लानु त कता हो कता… “हलानो भन्दा ठूलो जातको हुँ!” भन्दै बंका मारिरहेका छौ।

प्रिय पढाकु मान्छे !

‘कुनैपनि मान्छेको यो जातको हो’ भन्नुको तात्पर्य, उ यो कुलमा जन्मिएछ भन्ने मात्रै न हो। न कि, उ अरुभन्दा तल्लो दर्जाको हो भन्ने परिभाषा। न कि, उ अरुभन्दा अब्बल भएको बुझिने पुराना व्याख्या।

ढिलो नै सही
दुःखद खबर नै सही
लकडाउनमा घटेको ‘यो’ घटना सँगसंगै, एउटा के कुरा उदाङ्गो भएको छ भने, हाम्रो समाज कस्तो छ? हामी कुन जमानामा छौ?? हाम्रो सोचाईको पराकाष्ठा के छ ?

परिणामत;

केही निश्चित जातिका मान्छे मात्रै किन राज्य व्यवस्थामा भइरहन्छन्? किन जुन सरकार आए पनि ‘कानै चिरेको जोगी’ जस्तै हुन्छन्। किन निर्मला पन्त जस्ता निमुखाहरुले किटानी जाहेर गरिदा पनि केही केही हुँदैन यो देशमा ???

सबै सबै छर्लङ्ग भएको छ।

र, दुध र पानी जस्तै छुट्टिएको छ;

यो सरकार, यही जिल्लाका स्वास्थ, गृह र निवर्तमान बन मन्त्री। यही ठाउँका ६ जना प्रदेश संसद। यहाँको प्रशासन। यहाँका ठूलाबडा पुलिसहरु… कोही कोहीलाई मतलबै छैन ‘यो’ कुरा।

सुनेथे

केही विचारहरू भोगाईको गहिरो सतहबाट आउँछन्। जस्तो, अहिले आइरहेछन् मेरो मानसपटलमा। ती, के भने;

अब कुनैपनि सन्तान, दलित भएर नजन्मिउन।
अब कुनैपनि नवराज, प्रेमी भएर नदेखिउन।
अब कुनैपनि मान्छे, अमान्छे भएर नहुर्किउन।

ईत्ती !!

१९/०२/२०७७
जाजरकोट, खलंगा