खोया

जसले मकैलाई जिन्दगी दिन
आफु जरा बनेर माटो सँग
खाना माग्थ्यो
पानी माग्थ्यो ।

जमिन छेडेर निस्किए पछि
उसको संघर्ष किराहरु सँग थियो
जब जवानीमा पुग्यो
कम्जोर साथीहरु छाटिए ।

ऊ घरी घरी आफ्नै शरीर
हेरेर मुस्कुराउथ्यो
जब धानचमेरा पलाउथ्यो
खोस्टा ,खोया र जुगाको
एकै साथ जन्म हुन्थ्यो ।

खोया लाई खोस्टाले बेरेर
कुनै राता , कुनै सेता
जुगाले सजाएर
ऊ आफ्नै अस्थित्व हुर्काउथ्यो ।

मान्छेहरु उस्को
ममता र स्याहार
घोगो सुकेपछि लुछेर
खोस्टा च्यातेर हेर्थे
अनि क्रमस नङ्ग्याउदै जान्थे ।

त्यो खोया
जसले मकैलाई जिन्दगी दिएर
झ्यालै झ्यालको
ढोकै ढोकाको
तलै तलाको
बच्चाहरुको दुनियामा
आफुलाई धरहरा बनायो ।

त्यो खोयाको दरवार हो
जहाँ अलिकति हावा चल्दा
पिल्लरहरु लर्खराउछन्
तलाहरु सागुरीन्छन्
धमिरा लागेका
झ्याल र ढोकाहरुले
सीमा बिर्सिन्छन्
अनि ढलिदिन्छन् ।

त्यो खोया
टुप्पामा पलाएर
जमिन बिर्सिदैन
किनकी उस्ले सुरुवाद
जमिन बाटै गर्नु छ ।

 मोरङ् ,नेपाल ।