काम नपाएपछि मजदुरलाई छाक टार्नै मुस्किल

पर्वत , पर्वतको फलेवास नगरपालिका-४ मुडिकुवाका ५८ वर्षीय धनलाल सुनार (टुकी) ले काम नगरेकै कारण गाउँमा ४ हजार रुपैयाँ ऋण काढेर बिहान बेलुका हात मुख जोड्न खाद्यान्न खरिद गरे। कोरोना भाइरसको सङ्क्रमणको विषयमा रेडियोमा धेरैपटक सुनेका उनलाई काममा जाँदा धेरै मानिससँग भेट हुनुपर्दा संक्रमणको जोखिम हुने डरले सतायो।

यही कारण उनले लकडाउन सुरु भएको चैत ११ गतेबाट पनि काममा जान छाडे। मुडिकुवाको चुरीमा रहेको घरमा एक्लै बस्दै आएका उनलाई काम पाए पनि काममा जान डर हुँदा दैनिक ज्यालादारीमा दाउरा चिर्ने, ढुंगाखानीमा ढुङ्गा निकाल्ने, खेत जोत्ने लगायतका काम गर्दै आएका उनलाई छाक टार्न निकै धौ भएको छ। ‘दिनभर हलो जोतेर बेलुका खाने नुन तेल किन्ने दाम कमाउँथे यति बेला काममा नै गएको छैन।’ टुकी भन्छन्, ‘कोरोना भन्नेले रोग लागे बाँच्न नदिने, नलाने नि खान नदिने रहेछ।

काम गर्ने अवस्थै छैन।’ फलेवास नगरपालिका ३ शंकरपोखरीस्थित रुग्दीका गणेशबहादुर भण्डारी पनि यति बेला कामविहीन बनेर घरमा नै बसिरहेका छन्। ढुंगामाटोले निर्माण हुने घर र काष्ठ कलामा सिपालु रहेका भण्डारीले एक्लै बसेर गर्न पाएमा मात्र काम गर्दै आएको बताए। समूहमा बसेर काम गर्दा संक्रमणको जोखिम हुने भएका कारण पहिलेको अवस्थामा जस्तो काम नभएको र काम पाएमा पनि एक्लै बसेर ढुंगा र माटोको काम गर्दै आएको उनको भनाइ छ।

‘अरू मान्छेसँग बसेर काम गर्न हुँदैन भनेर सबैले भने मलाई नि डर लाग्यो खासै काम गरेको छैन।’ उनले भने, ‘काममा नगए परिवार चलाउनै मुस्किल हुन्छ, काममा जाऊँ भन्यो जाने अवस्था नै छैन।’ मुस्किल पर्दै दैनिकी चलाउन धनलाल र गणेशबहादुर जस्तै धेरै सिकर्मी, डकर्मी लगायतका कामदारहरू कामविहीन बन्दा उनीहरूको दैनिकी चलाउन नै मुस्किल परेको छ। दैनिक मजदुरीको भरमा नै जीविका चलाउँदै आएकाहरू कोरोनाको भयका कारण सबैभन्दा बढी मारमा परेका छन्।

हातमुख जोड्न नै समस्यामा परेका मजदुरहरूको लागि पालिकाहरूले राहत कोष खडा गरेर पालिका तथा स्थानीय सङ्घ संस्था र व्यक्तिहरूले पनि त्यसमा रकम र खाद्यान्न जम्मा गर्दै आएका छन्। हरेक दिन अभावको जीवन गुजार्दै आएकाहरूलाई अब दिने खाद्यान्न राहत पनि धेरै ढिला भइसकेको छ। जिल्लाका केही स्थानीय तहका केही वडाहरूले मजदुरहरूलाई राहत बाँड्ने काम गरेको भए पनि केही पालिकाहरू भने अझै पनि खाद्यान्न खरिदको प्रक्रियामा छन्।

स्थानीय तहबाट राहत वितरणको लागि लगत सङ्कलनको काम भइरहेकोले जतिसक्दो छिटो मजदुरहरूलाई राहत उपलब्ध गराउने गरी काम गरिरहेको फलेवास नगरपालिका ३ शंकरपोखरीकी वडा सदस्य निर्मलाकुमारी शर्माले बताइन्। ‘केही नामहरू सङ्कलन भइसकेका छन्। उनीहरूको अवस्था कस्तो छ भनेर बुझने काम पनि भइरहेको छ।

’ उनले भनिन्, ‘यो बेलामा राहत गलत व्यक्तिको हातमा पनि जान सक्ने भएकोले समस्यामा परेकाहरू व्यक्तिहरूको वास्तविक अवस्था पनि थाहा पाउनुपर्छ।’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले नगरपालिकाले ३० लाख रुपैयाँ विनियोजन गरेर राहत कोष स्थापना गरेको बताउँदै समस्यामा परेकोहरुलाई थोरै भए पनि मलहम लगाउन काम गर्न कर्मचारी र जनप्रतिनिधिहरू दिनरात खटिरहेको जानकारी दिए।