स्वास्थ्य सामाग्री खरिदको लागि तीनवटा कम्पनीसँग सम्झौता

विज्ञ भन्छन्-गलत भयो

काठमाडौं, कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणको लागि आवश्यक स्वास्थ्य सामाग्री र उपकरण खरिदको लागि तीनवटा नीजि कम्पनीसँग सम्झौता भएको छ । स्वास्थ्य सेवा विभागले तीनवटा कम्पनीसँग सामाग्री चीनबाट ल्याउने गरी सम्झौता गरेको हो । पहिलो सम्झौतामा विवाद आएपछि सरकारले स्वास्थ्य सामाग्री ल्याउने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो ।

जिटूजी प्रक्रियाद्वारा सामाग्री खरिदको लागि सेनाले पत्राचार समेत गरिसकेको छ । सरकारले फेरि जिटूजीबाटै सरकार आफैले सामान खरिद गर्ने निर्णय समेत गरेको छ । तर स्वास्थ्य सेवा विभागले फेरि तीनवटा कम्पनीसँग सामाग्री खरिदको लागि विहीबार सम्झौता गरेको छ । विभागका अनुसार स्वास्थ्यकर्मीले लगाउने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई सेट), सर्जिकल तथा एन ९५ मास्कलगायतका सुरक्षा सामग्री दुई साताभित्र ल्याउने गरी सम्झौता भएको छ । ओम सर्जिकल, हाम्रो मेडि कन्सर्न र लुम्बिनी हेल्थ केयरसँग सम्झौता गरेको छ ।
त्यसैगरी प्रयोगशालासम्बन्धी सामान खरिदका पनि छिटै सम्झौताकोे तयारी भइरहेको छ ।

ओम्नी ग्रुपसँग कमिसनको चक्करमा महंगोमा सामान सम्झौता गरेको भन्दै चौतर्फी विरोध भएको थियो । सुरुमा बचाउ गरेको सरकारले दवाव थेग्न नसकेपछि सम्झौता तोडेको घोषणा गरेको थियो । त्यसपछि सरकारले सामान खरिद गर्ने जिम्मा सेनालाई दियो ।

प्रक्रिया अगाडि बढाइरहेको बेलो सरकारले फेरि स्वास्थ्य सेवा विभागमार्फत भित्रभित्रै नीजि कम्पनीसँग सम्झौताको तयारी गर्यो । विभागले सूचना प्रकाशित गर्यो । त्यही सूचानाको आधारमा प्रस्ताव पेश गरेका कम्पनीसँग विभागले खरिद सम्झौता गरेको हो ।

सरकारले फेरि अर्को निर्णय गर्यो, जिटूजीबाट सरकार आफैले सामान खरिद गर्ने भनेर । सरकारले यसमा विभागमार्फत निजि कम्पनीलाई खरिद जिम्मा दिने बाटो पनि खुला गर्यो । सरकारको यो निर्णय गैरकानुनी भएको केही प्रशासकहरुले बताएका छन् । जिटूजीबाट खरिद गर्ने भनेपछि नीजि कम्पनीलाई जिम्मा दिनै नमिल्ने खरिद प्रक्रियामा लामो समय काम गरेका एक कर्मचारीले भने ।

“यो सरकारको निर्णय अख्तियारको दुरुपयोग हो । सरकारले जिटूजीबाट ल्याउने भएपछि केही निजि कम्पनीलाई दिनु गलत छ” ती कर्मचारीले भने । विभागको दोस्रो सम्झौता पनि गलत नियतले भएको एक व्यवसायीले बताए । उनले अम्नी समूहले पहिले किनेको गुणस्तरहिन सामान ल्याउने गरी नयाँ कम्पनीसँग सम्झौता भएको दाबी गरे । उनका अनुसार अम्नी समूहलाई फाइदा पुग्नेगरी नै नयाँ सम्झौता भएका छन् ।

विभागको नयाँ सम्झौतालाई प्रतिस्पर्धा भन्न नमिल्न एक व्यवसायीले बताए । “पहिलै अम्नी समूहसँग छलफल गरेर केही साथीहरुलाई तयार गरिएको छ, हामी त्यसमा सहभगी भएनौं” उनले भने । पहिला अम्नीसँग केही व्यवसायीले सहमति भएकोले आफू प्रतिस्पर्धामा नगएको अर्का व्यवसायीले बताए । उनले आफूहरु छनोट नहुने निश्चित भएपछि लफडामा नलागेको बताए । अहिले संकटको बेला भएकोले आफूहरु चुप लाग्ने तर अवस्था सहज भएपछि अख्तियार दुरुपयोगलगायतका नियमनकारी निकायमा उजुरी गर्ने सो क्षेत्रमा लामो समयदेखि काम गरिरहेका एक उनले भने ।