गृहमन्त्रीविरुद्ध सडक तताउने काँग्रेसको तयारी

आइतबार काठमाडौंमा प्रदर्शन

काठमाडौँ । सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले काठमाडौंमा प्रदर्शन गर्ने भएको छ ।

आज बसेको कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले जेठ १३ गते अपराह्न २ बजे भृकुटीमण्डपमा बृहत प्रदर्शन गर्ने निर्णय गरेको हो । काठमाडौं जिल्ला कार्य समितिको आयोजनामा हुने सो प्रदर्शनमा सहभागी हुन कांग्रेसले भ्रातृ संगठन र सिंगो पार्टी पंक्तिलाई आह्वानसमेत गरेको छ ।

सरकारले संसदीय प्रक्रियालाई मिचेर गलत ढंगले अध्यादेशबाट बजेट ल्याउन लागेको, सहकारी ठगीको बिरोध र प्रेस स्वतन्त्रताको पक्षमा उभिनका लागि आम जनतालाई आह्वान गर्न बिरोध प्रदर्शन गर्न लागेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

सहकारीको जुन ठगी र दुरुपयोगको प्रकरण छ । यी सबैलाई लिएर नेपाली काँग्रेस काठमाडौं जिल्ला समितिले १३ गते २ बजे प्रदर्शनीमार्गमा बिरोध प्रदर्शन गर्दैछ’, उनले भने, ‘त्यसमा सम्पूर्ण भ्रातृ संगठनहरु र पार्टीको साथीहरु संलग्न हुनुहुनेछ ।’

काँग्रेसले प्रतिशोध साँधेर कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको जिकिर गर्दै त्यसप्रति निन्दा र भत्र्सना पनि गरेको छ । संसदीय समिति गठनको माग गर्दै काँग्रेसले लगातार संसद अवरुद्ध गरिरहेको छ । तर, गृहमन्त्री केन्द्रित समिति गठनका लागि तयार नभएको सत्तापक्ष भने सभामुखको सहयोगमा अवरोधबीच सदन चलाउन अग्रसर देखिन्छ ।