अन्तरिक्षमा उमारियो खानलाई स्वादिलो साग !

एजेन्सी, अन्तरिक्षयात्रीहरुले पृथ्वी बाहिर उमारिएको पहिलो खानेकुरा सेवन गरिसकेपछि अत्याधिक उत्साह र खुसी व्यक्त गरेका छन् । ‘रेड रोमेन लेट्युस’ नामक साग खाँदैगर्दा उनीहरुले त्यो स्वादिष्ट भएको प्रतिक्रिया दिएका हुन् । उक्त साग उनीहरुले अन्तरिक्षमै रोपेर उमारेका हुन् ।

अन्तरिक्षमा ताजा तरकारी उमार्नु अगाडि अगाडि आइस–क्रिम बनाएर खान सम्भव थियो । तर यसमा पहिलोपटक त्यहाँ रोपिएको भए पनि सागको स्वाद पृथ्वीमा जस्तै भएको उनीहरुले बताएका हुन् जबकि क्रिमयुक्त खानेकुराको स्वाद भने अन्तरिक्षमा फरक हुने गर्दछ ।

अन्तरिक्षमा साग उमार्ने सम्बन्धी रिसर्च २०१४ देखि थालिएको थियो जसको निष्कर्ष शुक्रबार ‘फ्रन्टियरर्स इन प्लान्ट साइन्स’ मा प्रकाशित गरिएको छ । उक्त अध्ययनका अनुसार अन्तरिक्षको साग स्वादिष्टका साथै पूर्ण रुपमा सुरक्षित पनि रहेको स्पष्ट भएको छ ।

२०१४ मा नासाले सागसब्जी उत्पादनका लागि पहिलोपटक सामग्री र उपकरणहरु स्पेस स्टेसन पुर्याएको थियो । तर त्यतिबेला उमारिएका साग जमेपछि रिसर्च असफल भएको हो । तापनि उत्पादित बिरुवालाई परीक्षणका लागि पृथ्वी पठाइएको थियो जसमा साग खानका लागि सुरक्षित रहेको पत्ता लागेको हो ।

त्यसपछि नै हरिया सागसब्जीहरु स्पेस स्टेसनमा उमार्ने काम सुरु भयो । यसमा उक्त रोमेनियन साग, अन्तरिक्षयात्रीहरुका लागि पोषणको राम्रो स्रोत र रोग लगाउन सक्ने किटाणुमुक्त पनि भएको पाइएको थियो ।

यसरी नासाले भविष्यमा लामो दुरीको मिसन तय गर्दा यस किसिमका स्पेस स्टेसनमै उत्पादन गर्न मिल्ने खाद्यान्नको महत्व अधिक हुने क्रिस्टिना बताउँछिन् जो फ्लोरिडास्थित नासाकी अनुसन्धानकर्ता हुन् ।

यसअघि अन्तरिक्षयात्रीहरु विशेष रुपमा प्याक गरिएका खानेकुरामा निर्भर रहँदै आएका थिए । जसमा ड्राइ फ्रुट, पिनट बटर, कुखुराको मासु लगायत हुने गर्दथ्यो ।

तर सागसब्जीको सलाद भने सेवन गर्न पाइँदैनथ्यो । यस्तोमा प्याक गरिएका खानेकुरामा भिटमिन सी, बी१, भिटमिन के लगायतका केही अति जरुरी पोषण तत्वहरु समयअनुसार हराउँदै जान्छन् । जसकारण पनि ताजा उत्पादन सबैभन्दा राम्रो विकल्प हुने वैज्ञानिकहरुको निष्कर्ष थियो ।

यस्तोमा चन्द्रमा, मंगल ग्रह लगायतको लामो मिसनमा अब अन्तरिक्षयात्रीहरुले खानाका लागि पृथ्वीमा निर्भर रहनु नपर्ने सम्भावना खुलेको नासाले बताएको छ । यसरी स्पेस स्टेसनको सागसब्जी बगैँचामा ६ वटा बिरुवासम्म उमार्न सकिने नासाको भनाइ छ ।

यसमा सबै बीउहरु स्टेरिलाइज गरिएको हुन्छ भने माटोका रुपमा विशेष ‘पिलो’ को प्रयोग गरिन्छ । ती पिलोमा मल पनि हुन्छ जसले बिरुवाको जरासम्म पर्याप्त पोषण र पानी पुगेको सुनिश्चित गराउँछ । त्यसैगरी एउटा फ्यान पनि जडान गरिएको हुन्छ जसले हावालाई सबैतिर बराबरी फैलिन मद्दत गर्दछ ।

हालसम्म त्यसमा तीन प्रजातिका सागहरु उत्पादन गरिएको छ – चाइनिज बन्दा, मिजुना तोरी, रसियन केल । यी सागहरु उम्रिसकेपछि सिधै टिपेर खान सकिन्छ तर हालसम्म तिनलाई स्पेस स्टेसनमै पकाउने तरिका भने पत्ता लागेको छैन ।

२०१४ देखि १६ का बीच गरिएका केही अनुसन्धानमा पृथ्वीको तुलनामा स्पेस स्टेसनका बिरुवामा ‘पोटासियम, सोडियम, फस्फोरस, ससल्फर र जिंक’ पदार्थहरु उच्च मात्रामा हुने गरेको पाइएको थियो ।

त्यस्तै टमाटर, स्याउ लगायतका खानेकुरामा पनि फेनोलिक्सको मात्रा जमिनमा भन्दा उच्च हुने गरेको पत्ता लागेको थियो । सो पदार्थमा इन्फ्लामेटरी, क्यान्सर र एन्टिभाइरल विरुद्धको गुण हुन्छ । त्यसैले पनि अन्तरिक्षमै उत्पादित तरकारीको धेरै महत्व हुने बताइएको हो । सीएनएनबाट