यस्ता छन्, अहिलेसम्मका चर्चित विश्व हल्लाउने महामारी

काठमाडौं, विश्व कोरोना भाइरसको चपेटमा छ । संसारका मानिस त्राहिमामको अवस्थामा पुगेका छन् । ३ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । भाइरसको उपचार पद्धति खोज्नुपर्ने समयमा मानिस मानिसको बीचमा नश्लीय विभेदका खबरहरुसमेत आउन थालेका छन् ।

चीनबाट शुरु भएको यो भाइरसले विश्वव्यापी आकार ग्रहण गरिसकेको छ । प्रसिद्ध वैज्ञानिकहरु भाइरसको खोप पत्ता लगाउन अनुसन्धानमा जुटेका छन् । यही बेला चिनियाँदेखि पूर्वी एशियाई अनुहारका मानिसमाथि नश्लीय विभेद र आक्रमणका खबरहरु पनि आइरहेका छन् । यस्ता भाइरल बन्ने रोग चीनबाट फैलिएको भन्दै चीनसँग सम्बन्ध नै नभएका मानिसहरुमाथि समेत दुर्व्यवहार बढेको छ ।

तर, यस्ता भाइरस भाइरल बन्न अनुहार विशेषको कुनै दोष हुन्न भन्ने मानव जगतले हृदयदेखि नै स्वीकार्नु जरुरी छ । यसैपनि प्राकृतिको चेपमा फसेका दुःखी मानिसहरुबीचमा एकापसमा द्रोह र द्वैष निम्त्याउने क्रियाकलाप रोकिनु पर्दछ ।

संसारमा यस्ता महामारी पहिलो पटक भएको होइन । कोरानाभन्दा ठूला र संसारमा महामारीको रुप लिएका रोगसँग विश्वले अनेकौं पटक जुधेको छ । र करोडौंको संख्यामा मानवीय क्षति व्यहोर्दै फेरि यस्ता रोग नियन्त्रण गर्न विजय प्राप्त गरेको छ । आशा गरौं कोरोनामाथि पनि मानिसले चाँडै विजय पाउने छ । कुनै समय हैजा, बुबोनिक प्लेग, बिफर, र इन्फ्लूएन्जा मानव इतिहासको सबैभन्दा क्रूर हत्याराका रुपमा चित्रित थिए । यी रोगलाई मानिसले बनाएका सीमाले रोक्न सकेन । १२ हजार वर्ष अस्तित्वमा रहेको बिफर रोगले त तीस करोडदेखि ५० करोड मानिसलाई मृत्युको मुखमा पुर्‍याएको विश्वास गरिन्छ ।

नयाँ प्रकोपका रुपमा फैलिएको इबोला भाइरसले हजारौं व्यक्तिको ज्यान लिएको भर्खरका वर्षमात्र हो । जसले सबैभन्दा बढी पश्चिमी अफ्रिकामा असर पुर्‍यायो र करिब १२ हजार मानिस मृत्युको मुखमा पुगे । यसको संक्रमण युरोप र अमेरिकासम्म फैलियो । २००९ मा विश्वभर महामारीको रुपमा फैलिएको फ्लू पाण्डेमिकले विश्वभर करिब २ लाख मानिसको मृत्यु भयो । २००९ को मार्चमा मेक्सिकोमा दुई अमेरिकी बच्चामा देखिएको स्वाइन फ्लू भनेर चिनिने इन्फ्लुएन्जा एच वान एन वानले अमेरिकामा एक लाख १५ हजार बढी संक्रमित भएका थिए । २०१५ मा भारतमा फैलिएको स्वाइन फ्लूमा दुई हजार बढीको मृत्यु भएको थियो ।

यस्तो छ, ठूला महामारी र त्यसले मृत्यु भएकाको संख्या

एचआईभी र एड्स महामारी

मृत्यु संख्याः ३ करोड ६० लाखभन्दा बढी

धेरै प्रभावित वर्षः सन् २००५ देखि २०१५

सन् १९७६ मा पहिलो पटक कंगो प्रजातान्त्रिक गणतन्त्रमा पहिचान गरिएको एचआईभी र एड्सले सन् १९८१ यता ३ करोड ६० लाखभन्दा बढी मानिसको प्राण लिएको तथ्यांक छ । वर्तमानमा तीनदेखि साँढे तीन करोड मानिस एचआईभीका साथ बाँचिरहेको अनुमान छ । जसमा धेरैजसो अफ्रिका उपसहारा महाद्वीपका रहेका छन् । जहाँ २ करोड मानिस यस समस्यासँग जुधिरहेको बताइएको छ । तर जनचेतना, संयमित र अनुशासित जीवनशैली, औषधि र खोपको विकाससँगै अब यो रोग मानिसको नियन्त्रणमा आउँदैछ । २००२ देखि २०१२ मा वार्षिक २ दशमलव २ मिलियन मृत्युदर रहेको यो रोग अब १ दशमलव १ मिलियनमा झरेको छ ।

फ्लू महामारी (सन् १९६८)

मृत्यु संख्याः दश लाख

कारणः इन्फ्लुएन्जा

हङकङ फ्लूसमेतको नामले चिनिने यो फ्लू एच थ्री वान टू अनुवंश अन्तर्गतको भाइरस हो । १३ जुलाई १९६८ मा पहिलो पटक चीनको हङकङमा पहिचान भएको यस भाइरसले १७ दिनमै सिंगापुर र भियतनामलाई चपेटमा पा¥यो । तीन महिनामा त फिलिपिन्स, भारत, अष्ट्रेलिया, युरोप र अमेरिकासम्म फैलियो । महामारीको हिसाबमा यसको मृत्यु दर भने कम मानिएको थियो । दशमलव ५ प्रतिशत मृत्युदर रहेको यस महामारीमा दश लाखभन्दा बढी मानिस मारिएका थिए । पाँच लाख मानिस त हङकङमा मात्र मरेका थिए ।

एशियन फ्लू (सन् १९५६–१९५८)

मृत्यु संख्याः बीस लाख

कारणः इन्फ्लुएन्जा

एसियन फ्लू एच टू एन टू प्रकारको इन्फ्लुएन्जाको महामारी हो । सन् १९५६ मा चीनमा फेला परेको यो भाइरस १९५८ दुई वर्षसम्म रह्यो । दुई वर्षको अवधिमा चिनियाँ प्रान्त गुइझाउबाट सिंगापुर, हङकङ र अमेरिकासम्म पुगेको थिो । विश्व स्वास्थ्य संगठनले करिब २० लाख मानिसको मृत्यु भएको त्यसमा करिब ७० हजार अमेरिकाका बासिन्दा रहेको जनाएको थियो ।

फ्लू महामारी (सन् १९१८–१९२०)

मृत्यु संख्याः २ देखि ५ करोड

कारणः इन्फ्लुएन्जा

सन् १९१८ देखि १९२० को दुई वर्षे अवधिमा विश्वव्यापी भएको यस महामारीले २ देखि ५ करोड मानिस मारेको अनुमान छ । स्पेनिश फ्लू भनिने यो इन्फ्लूएन्जा डरलाग्दो घातक प्रकोपका रुपमा संसारमा फैलिएको थियो । जसले विश्वको जनसंख्याको एक तिहाइभन्दा बढी मानिसलाई संक्रमित गरेको मानिन्छ । ५० करोड मानिस प्रभावित भएकामा मृत्युदर नै १० देखि २० प्रतिशत रहेको मानिन्छ । पहिलो २५ हप्तामै २ करोड ५० लाख मानिसले ज्यान गुमाएका थिए ।

छैटौं हैजा महामारी (सन् १९१०–१९११)

मृत्यु संख्याः ८ लाखभन्दा बढी

कारणः हैजा

अघिल्ला पाँच प्रकरणझै छैठौं हैजा पनि भारतमै शुरु भएको थियो । यसले मध्यपूर्व, उत्तर अफ्रिका, पूर्वी यूरोप र रसियामा फैलनुअघि नै ८ लाखको ज्यान लिएको थियो । छैठौं हैजा महामारीको स्रोत पनि अघिल्ला झै अमेरिकी हैजाकै थियो । यद्यपि अनुभवका कारण अमेरिकाले सतर्कता अपनाएकाले त्यहाँ ११ जनाको मात्र मृत्यु भएको थियो ।

फ्लू महामारी (सन् १८८९–१८९०)

मृत्यु संख्याः दश लाख

कारणः इन्फ्लुएन्जा

शुरुमा एशियन फ्लू वा रूसी फ्लू मानिएको थियो । पहिलो घटना मे १८८९ मा मध्य एशियाको तुर्कस्तानको बुखारा, उत्तरपश्चिम क्यानाडाको अथाबास्का र ग्रीनल्याण्डमा फेला परेको थियो । तीब्र जनसंख्या वृद्धि भइरहेको १९ औं शताब्दीमा यसको बढी असर शहरी क्षेत्रहरूमा प¥यो र चाँडै नै संसारभर फैलिँदा महामारीमा दस लाखभन्दा बढी व्यक्तिको ज्यान गएको थियो ।

तेस्रो हैजा महामारी (सन् १८५२–१८६०)

मृत्यु संख्याः दश लाख

कारणः हैजा

१९ औं शताब्दीमा फैलिएको घातक महामारी १८५२ देखि आठ वर्ष रह्यो । १८६० मा नियन्त्रणमा आउनुअघि पहिलो र दोस्रो हैजा महामारीझै यो भारतको गंगा किनारबाट संसारभर फैलिएको थियो । गंगा नदी डेल्टाबाट फैलिएको यो महामारीले एशिया, यूरोप, उत्तर अमेरिका र अफ्रिकाका दश लाखभन्दा बढी व्यक्तिको जीवन अन्त्य गरेको थियो । बृटिश चिकित्सक जोन स्नोले दूषित पानी रोग सार्ने माध्यम भन्ने पुष्टि गरे । त्यसैवर्ष अर्थात् १८५४ मा भने बृटेनमा सबैभन्दा बढी २३ हजार मानिस यसको शिकार बनेका थिए ।

दि ब्ल्याक डेथ (सन् १३४६–१३५३)

मृत्यु संख्याः ७ करोड ५० लाखदेखि २० करोड

कारणः बुबोनिक प्लेग

सन् १३४६ देखि १३५३ सम्म सात वर्ष यस महामारीको प्रकोपमा युरोप, अफ्रिका र एशियाली देशहरु परे । विश्व अर्थतन्त्रलाई तहसनहस पार्ने यस महामारीले साँढे सात करोडदेखि २० करोड मानिसको ज्यान लिएको अनुमान छ । एशियामा उत्पत्ति भएको ठानिएको महामारी सार्ने कारकका रुपमा मुसालाई ठानिन्छ । व्यापारीका जहाजहरूमार्फत् संक्रमित मुसा शहरी क्षेत्रमा प्रवेश गर्दा विकराल बनेको यस महामारीले तीन महादेशमा विनाशकारी स्वरुप लिएको थियो ।

जस्टिनियनको प्लेग (सन् ५४१–५४२)

मृत्यु संख्याः २ करोड ५० लाखदेखि ५ करोड

कारणः बुबोनिक प्लेग

जस्टिनियन महामारी तात्कालीन युरोपको आधा जनसंख्या मार्ने रोगका रुपमा चिनिन्छ । यो बुबोनिक महामारीकै प्रकोप थियो । जसले बाइजान्टिन साम्राज्य र भूमध्यसागरीय बन्दरगाह शहरहरू चपेटमा आएका थिए । वर्ष दिन लामो आतंकमै यसले डेढ करोड मानिसलाई मृत्युको मुखमा पुर्‍याएको थियो । कतिले त यो संख्या ५ करोड रहेको पनि बताएका छन् । बुबोनिक प्लेग मानिएको जस्टिनीको महामारीले पूर्वी भूमध्यसागरको एक चौथाई जनसंख्या नै स्वाहा बनाइदियो । प्रतिदिन पाँच हजार मानिस यस रोगबाट भएको मान्निछ ।

एन्टोनिन प्लेग (१६५–१८० एडी)

मृत्यु संख्याः ५० लाख

कारणः अज्ञात

गलेनको प्लेग भनेर चिनिएको एन्टोनिन प्लेगलाई पुरानो महामारी मानिन्छ । जसले एशिया माइनर, इजिप्ट, ग्रीस र इटालीमा धेरै असर पारेको थियो । वास्तविक कारण थाहा नभएको योरोगलाई बिफर या हैजाकै रुप हुनसक्ने अनुमान भने गरिन्छ । यो रोग भने मेसोपोटामियाबाट फर्किएका सैनिकबाट रोम साम्राज्यमा फैलियो र रोमन सैनिकको मृत्युको कारण बनेको ठानिन्छ । जुन महामारीमा ५० लाख मानिस मारिएका थिए ।  अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ।