उसको प्रेम !

पुसको महिना चिसो सिरेटो । मटु नै लुक लुक कमाउने जाडो । सिरकभित्र गुजुल्टिएकी छु । मेरा खुट्टा अहिलेसम्म पनि कठ्याङ्ग्रिएका छन् । भित्ताको घडीले २ बजाइसक्यो । म निदाउन सकेकी छैन । मानौँ म दमको रोगी हुँ । म पल्टिएर निदाउन सक्दिनँ, उठिरहनुपर्छ । यस्तै यस्तै हालत मैले थुप्रै दिनदेखि भोगिरहेकी छु । यसरी उठिरहेको पनि महिनौँ हुनै आँटेछ । हिमालको बरफजस्ता यी मेरा आँखाहरू पग्लिएर भूपि शेरचनको लेते नदी बन्दैछन् । थाहा छैन, यो नदीमा कति भेलबाढी बग्छन् । कति जँघार र भेल उर्लेर आउँछन् । कति दोभान, त्रिवेणीहरू मिसिएर हराउँछन् ।

जतिबेलादेखि म निश्चल तिम्रो प्रेममा परेँ। मेरा दिनरात कसरी बितिरहेका छन् मलाई थाह छैन । मैले के लेखिरहेकी छु, आफैंलाई थाहा छैन । जे होस् केही न केही त लेखिरहेछु । कहिलेकाहीँ म के खाइरहेकी छु, आफैंलाई थाहा हुन्न । के बोलिरहेकी हुन्छु, के गरिरहेकी हुन्छु, त्यो केही पनि थाहा हुन्न । तर पनि म खाइरहेकी छु, बोलिरहेकी छु, गरिरहेकै छु । तर केही थाह पाउँदिन । सायद मेरो गिदीको एक चिम्टी भाग निश्चलको पकेटमा अल्झिरहेको छ ।

ऊ कतै अनलाइन देखिन्छ कि भनेर बेलाबेलामा फेसबुकको म्यासेन्जर चेक गर्छु वन ह्वार्र अगो २, ३घण्टा अगो देखाउँदै गयो फेसबुकले पनि । मलाई अनलाइन देखेर मीठा मीठा लामा म्यासेजहरूको चाङ थपिँदैछ । मलाई कसैको लामो म्यासेजमा दिल गएको छैन, अरूको सट्टा निश्चलले हाई मात्र लेखिदिएको भए पनि मेरो दुनियाँ बेग्लै हुन्थ्यो । उसको एक कल वा म्यासेजको लागि म कति तड्पिएकी छु।कास उसले यो कुरा महशुस गरिदिएको भए ।

‘किन आउँछ याद तिम्रो सधैँ सधैँ साँझमा’ बोलको सुमधुर गीत बज्दैछ एफम रेडियोमा। सङ्गीत, आवाज र शब्द कसको होला, थाहा छैन । जसले गाए पनि यो मेरो निम्ति रेकर्ड गरेको एउटा गीत रहेछ । सङ्गीत र शब्द निश्चलको कानैसम्म पुगे नि हुन्थ्यो भनेर म भगवानसँग प्रार्थना गर्छु । त्यसो त मेरो भगवान आजकल उही त भएको छ । बिहाना ६ बजेको अलरामसँगै उठेर हातमुख धोएर भगवानको मुख हेर्दै पूजा गर्ने मैले आजकल आँखा खुल्नसाथ उसलाई हेर्छु । फेसबुकमा अनि मोबाइलको स्क्रिनमा फोटो जुम गरेर एक चुप्पा खाँदै ‘तिम्रो दिन सुखद् बितोस्’ भन्ने कामना गर्दै दिनको सुरुवात गर्छु। मैले भगवानलाई छोडेर उसको पूजा गर्न थालेको धेरै भइसक्यो।

फोक्सोको क्यान्सर त्यति ठूलो खतरनाक होइन । छातीको क्यान्सर पनि खासै खतरनाक होइन । सबैभन्दा ठूलो खतरा हो– सोचाइको क्यान्सर । सबैभन्दा प्राणघातक क्यान्सर हो अटुट सम्झनाहरूको

 

हाम्रो प्रेमको सुरुवाती दिनमा सेकेन्ड सेकेन्डमा ताजा खबर सुनाउनुपथ्र्यो, उसले पनि मैले पनि। टाउको दुखेको, खोकी लागेको, भोकै सुतेको, निधारमा पसिना आएको, रातमा ऐंंठन परेको, राम्रो नराम्रो सपना देखेको खाना नरुचेको सबै थाहा हुन्थ्यो । तर, आजकल खै किन हो अनिदोले महिनौँ रात नसुतिरहँदा पनि मर्यौ कि ज्युँदै छ भनेर सोधखोजसम्म गरेनाँै निश्चल ।

तिमीलाई थाह छ निश्चल ?मलाई छटपटी भयो भने राति घरको छतमा जान्छु । मुखमा उज्यालो बालेर घर अगाडिको बाटोमा बाइकहरू ठूलो आवज गर्दै घुइकिन्छन् । मलाई लाग्छ कि यो निलो पल्सर पक्कै निश्चलले चलाइरहेको छ मुसुक्क मुस्कुराउँदै । ऊ मलाई लिन मतिर आइरहेको छ । म उसको कम्मरमा समातेर उसकै पछाडि बस्नेछु अनि यसपालि पनि हामी ककनी जानेछौँ, कहिले चोभार जानेछौँ । म तिम्रो आडमै बसेर कफीको चुस्की तान्नेछु । अनि लिपस्टिकको डोप पुछेर तिमीलाई खुवाउनेछु। अलिकति लाज मान्दै । धेरै खुसी हुँदै यस्तै सोचाइले गर्दा मलाई क्यान्सर भएको छ– सोचाइहरूको । फोक्सोको क्यान्सर त्यति ठूलो खतरनाक होइन । छातीको क्यान्सर पनि खासै खतरनाक होइन । सबैभन्दा ठूलो खतरा हो– सोचाइको क्यान्सर । सबैभन्दा प्राणघातक क्यान्सर हो अटुट सम्झनाहरूको । हो, शिथिल हुँदैछु भने सोचाइको कारण हुँदैछु । कमजोर हुँदैछु भने सम्झनाका कारण हुँदैछु । मर्दैछु भने निश्चल तिम्रै कारण मर्दैछु । कहिलेकाहीँ त लाग्छ सोचाइका कारण प्रचण्ड पुत्रलाई जस्तै एक्कासि इन्द्रले मलाई पनि खुसुक्क बोलाउने पो हुन कि।

निश्चल तिमीले मेरो जन्मदिनमा किनिदिएको घडीले मेरो हातमा आफ्नै गतिमा टाइम बजाउँदै मलाई हेरिरहेको छ । मेरो मोबाइलमा सेभ तस्बिरहरूले हामी प्रेमीप्रेमिका मात्र थिएनौँ, श्रीमान, श्रीमती नै हौँ भन्ने सङ्केत गरिरहेका छन् । मलाई थाह छैन, तिमी किन टाढिँदैछौ । के यो हाम्रो प्रेम थिएन ?के यो आकर्षण थियो ?वा अरू केही ? मेरो माया यति सस्तो भयो मानौँ ठेलामा बेच्न राखिएको बदाम हो । दुई चार गेडा बाटोमा हिँड्ने जोकोहीले निकालेर नि खान सक्छ ।
तिमी के सोचेर बदलियौ जान्न पाए कति जाति हुन्थ्यो।तर तिमी मेरो कलेजोको कुनामा अझै पनि विराजमय भएर बसेका छौ।

लाग्दैन तिमी बदिलियौ, तिम्रो पावरफुल स्वर, अलिकति हाँसो, तिम्रो चस्माभित्रका आँखाको भाका र ठट्यौलो बानीले मेरो हृदयको कुनासँग घरजम गरिसकेका छन् । अनि जीवनको रङ्गशालामा फुटबल खेलिरहेका मेरा यी मानसपटलका चित्रहरू कतै हार स्वीकार गरेर भाग्छन् कि भनेर ‘दिमागभित्रै कैद गरिरहेकी छु । मलाई थकानको महसुस भएकै छैन । सधैँ सधँै यही दिलभित्र सकुशल र सुरक्षित राखेकी छु ।हार्नु छैन मलाई तिम्रो प्रेममा जित्नु छ । काँडा बनेर कसैलाई घोच्नु छैन, गुलाबको फूल बनेर तिम्रो कानमा चुम्बन गर्नुछ । मरेर पनि बाँच्नु छ तिम्रा लागि । तिमीले खाएको खाना, लगाएको लुगा, बोलेको कुरा, घुमेको कुरा याद गरिरहनु छ मलाई, सातै जुनीसम्म । यदि मिल्छ भने आठौँ जनमसम्म ।

जिन्दगीको धावनमार्गमा मेरा चाहना र सपनालाई सफल अवतरण गराउन नसके पनि कम्तीमा उड्न त उड्यो नि हाम्रो पिरतीको जहाज ! अवतरण हुनका लागि उड्न जरुरी हुन्छ । उडिसकेपछि पहाडसँग ठोक्किने कुरा र बादलमा कतै हराउने कुरा, कुहिरोभित्र अल्मलिने कुरा, गति र उचाइ पक्रन नसकिने कुराको पूर्वानुमान गर्न सकिन्न रहेछ निश्चल ! तिमीलाई यो सबै चीजको पूर्वानुमान थिएन । तर मैले हाम्रो मायाको जहाज उडाइरहेको थिएँ । मलाई हम्मेहम्मे थियो खराब मौसम जस्तै मेरो जिन्दगीको परिस्थिति छिचोल्न । त्यो त तिमीलाई पनि थाहा छ कि म असिना–पसिन सहँदै केही मसिना सपना साँचेर बाँचेकी थिएँ ।मैले सबै तिम्रो जिन्दगी मागेकी थिइन । तिमी कसैको शरीरको न्यानोमा रात बिताउँदा पनि म कठ्याग्रिँदो रातमा एक्लै निदाउँथे । थोरै खुसीमा पनि धेरै रमाउँथे । म पहाडसँग ठोक्किएकी थिएँ, बादलभित्र हराएकी थिएँ ।

हो निश्चल ! म निरीह छु तिम्रा लागि । यद्यपि मेरो एउटा सानो दाबी छ, तिमीले मेरो हृदयलाई देख्न, बुझ्न र पढ्न कहिल्यै सकेनौँ ।

कुहिरोभित्र अल्मलिएकी थिएँ तर तिम्रो साथले गति र उचाइ लिँदै थिएँ । हाम्रो समाजले माया जस्तो पवित्र कुरालाई पनि बर्जित गरेको छ । मायाँ जहाँ जोसँग जहिले पनि बस्न सक्छ । तर त्यसको अन्तिम रूप नै विवाह भनेर सिकाएको हाम्रो समाजले तिमीसँगको मायालाई पचाउने सामाथ्र्य पक्कै पनि राख्ने छैन भन्ने कुरा जानेरै मैले प्रेम गरे । तिमीबाट मलाई धेरै अपेक्षा पक्कै थिएन ।तर तिमीले के बुजेर मसँग प्रेम गर्यौ, त्यो रहस्यकै गर्वमा लुकेको छ ।मलाई त्यो जान्न जरुरी पनि छैन तर तिमी मलाई तड्पाएर पनि खुशी छौ,खुबै रमाइलोमा छौ । अस्ति फेसबुकमा बुढाबुढीको अँगालो हालेको फोटो हालेको थियौ । त्यो हेर्दा निष्ठुरी दुस्मनले दोबाटोमा उभिएर गुलाफको फूल उचालेको जस्तो लाग्यो मलाई । यसबाटै थाहा हुन्छ, तिमीले बिताइरहेको जुनी कति फरासिलो छ, कति धैरै आनन्दको छ । तर निश्चल ! विगतलाई भुलेर वर्तमानलाई कसरी इतिहास बनाउन सक्छौ ?

म तिम्रो ध्यानाकर्षण गराउन चाहन्छु निश्चल । एकदिन तिमीलाई एक कप तातो कफीले होइन कि मेरो मुरीका मुरी सम्झनाले भतभती पोल्नेछ ।

तिमीले आफ्नो छातीलाई ज्वालामुखी ठान्नेछौ, तिमीले आफ्नो सपनालाई कुनै भूतले छलकपट गरेको सम्झिनेछौ, तिमीले आफ्नो हरेक दिनचर्यालाई देउरालीमा ध्वजा बाँधेर पहाड नाघेजस्तो धेरै अग्लो पहाड ठान्नेछौ । तिमीले आफ्नै छायामा मेरो अनुहार देख्नेछौ । मेरो ममता देख्नेछौ, तिम्रो जिन्दगीमा कति कस्ता महिला भित्रिए वा किन भित्रिए त्यो तिमी आफै समीक्षा गर। तर मसँगको दिनचर्या पक्कै पनि तिम्रो रमाइलो थियो । मैले काउकुति लगाएका पलहरू,तिमीलाई उचालेका बोकेका पलहरू तिम्रोसामु पटक पटक रोएका पलहरू, तिम्रो मायामा भिजेका परेलीहरू तिमीले पक्कै सम्झिन्छौ ।

सायद यी सबै कुरा ‘मजाक’ लाग्छन् तिमीलाई । ‘भर्चुअल’ दुनियाँमा बाँचेकाहरूसँग भावना हुँदैन । तिमीले धेरैथोक देखेको छौ, जो मैले अहिलेसम्म देख्न सकेकी छैन । तिमीले धेरै कुरा बुझेको छौ, जो मैले अहिलेसम्म बुझ्न सकेकी छैन । तिमीले धेरै कुरा पढेको छौ, जो मैले अहिलेसम्म पढ्न सकेकी छैन ।

हो निश्चल ! म निरीह छु तिम्रा लागि । यद्यपि मेरो एउटा सानो दाबी छ, तिमीले मेरो हृदयलाई देख्न, बुझ्न र पढ्न कहिल्यै सकेनौँ ।

एकदिन मेरो माया पक्कै पुरानो हुनेछ । मायासँगै सम्झना पनि पुरानै हुनेछन् तिम्रा लागि । तर एउटा कुराको ख्याल गर्नू– दुधिलाको रुखमा जोडी ढुकुर बसेको दृश्य कहिल्यै पुरानो हुनेछैन । होला, पुरानो होला– दुधिलाको रुख, फेरिएलान् ढुकुरका पखेटाहरू । तर ती उम्रिन कहिल्यै बिर्सने छैनन्, उड्न पनि भुल्ने छैनन् । म त भगवानसँग यही कामना गर्छुु– मेरो मुटु र कलेजो प्रत्यारोपण गर्नु परे पनि तिम्रो ‘माया’ अलग्गै झिकियोस् ।

कतिपय मानिसहरू मर्ने बेलामा चुरोट तान्ने वा मासु खाने इच्चा प्रकट गर्छन् रे ! मेरो अन्तिम घडीमा तिमीलाई एक चुप्पा खाने सामथ्र्य राख्न सकूँ । तिमीलाई छातीमा टाँसेर अन्तिम पटक महसुस गर्न सकूँ । अनि मुटुको कुनातिर लगेर लामो सास तान्दै धित मरुन्जेल हेरिरहूँ ।