बिश्वलाई तरंगित पार्ने ३४ वर्षीया सान्ना मारिनको प्रधानमन्त्री यात्रा

राजनीतिमा नेतृत्वको कुरा आउँदा अनुभवको कुरा गरिन्छ र त्यसकै नाममा पार्टीकै नेतृत्व अधिकांश रुपमा पाको उमेरका नेताहरुको हातमा हुन्छ। अझ महिलाहरुको सवालमा भने अझै पनि पार्टीकै नेतृत्व प्रदानका गर्नका लागि अनकनाएको अवस्था छ पाको उमेरकै भए पनि।

उदहारणका रुपमा हाल कृष्णबहादुर महरामाथि बलात्कार प्रयासको आरोप लागेर सभामुखबाट पदमुक्त भएपछि संसदको नेतृत्व सम्हाल्न योग्य छिन् । अनुभव र राजनीतिमा बिताएको चार दशक भन्दा लामो समयका कारण) उपसभामुख शिवमाया तुम्बाहाम्फे। तर उनी महिला भएकै कारण अरु कोहीलाई सभामुख बनाउने तयारी भएको विश्लेषण गरिन्छ।

नेपालमा मात्रै होइन विश्वको सबैभन्दा विकसित देशका रुपमा लिइने अमेरिका पनि महिलालाई नेतृत्व तहमा पुर्‍याउने सवालमा त्यति उदार देखिँदैन। सन् २०१६ मा भएको राष्ट्रपति चुनावमा हिलारी क्लिन्टन पराजित हुनुमा उनी महिला हुनु पनि प्रमुख कारण रहेको विभिन्न सर्वेक्षणहरुले देखाएका छन्।

आउँदो वर्ष अमेरिकामा हुने राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बन्ने होडमा अग्रता स्थानमा रहेको ठानिएकी कमला ह्यारिसले आफ्नो अभियान अन्त्य गरिन्।

प्रमुख दाबेदारका रुपमा हेरिएकी एलिजाबेथ वारेनका सन्दर्भमा पनि डेमोक्र्याटहरु त्यति उदार देखिएका छैनन् र उनीमाथि विश्वास गर्न नसक्नुको प्रमुख कारणमा महिला हुनु पनि हो।

तर विश्वमा यस्तो देश पनि छ जहाँ महिलाले देशको नेतृत्व गर्दै छन् र त्यो पनि साँचो अर्थमा युवा उमेरमै। युरोपको फिनल्याण्डको प्रधानमन्त्री बन्ने पक्का भएकी नेतृ हुन् सन्ना मारिन। उनी ३४ वर्षकी भइन् र उनी पाँच राजनीतिक दलको गठबन्धनको नेतृत्व गर्दै देशको प्रधानमन्त्री बन्ने पक्का भएको छ।

उनले नेतृत्व गरेको गठबन्धनमा रहेका पाँचै राजनीतिक दलको नेतृत्वमा महिला छन् र तीन नेतृ उनीरुको ‘थटिज’ अर्थात जीवनको चौथो दशकको यात्रामा छन्।

सोसल डेमोक्र्याटिक पार्टीकी नेतृ सन्ना गठबन्धनको नेतामा चयन भएकी छन् र उनले मंगलबार देशको प्रधानमन्त्रीका रुपमा जिम्मेवारी सम्हाल्ने छिन्। गठबन्धनमा लेफ्ट एलाएन्स पार्टीले साथ दिएको छ, जसको नेतृत्व गरेकी छन् ३२ वर्षकी ली एन्डर्सनले।

यस्तै ३२ वर्षकी काट्री कुलमुनीको नेतृत्वमा रहेको सेन्ट्रे पार्टी, ३४ वर्षकी मारिया ओहिसालोको नेतृत्वमा रहेको ग्रीन लिग तथा ५५ वर्षकी एन्ना–माजा हेन्क्सिनको नेतृत्वमा रहेको स्वीडिस पिपुल्स पार्टी अफ फिनल्याण्ड गठबन्धनमा छन्। स्वीडिस पिपुल्स पार्टी अफ फिनल्याण्डकी नेतृ मात्रै ३४ वर्ष भन्दा माथिकी हुन्।

विश्वका लागि राजनीतिक तथा कूटनीतिक रुपमा त्यति सहज नलाग्ने परिघटना हुन सक्छ, तर ३४ वर्षकी सन्नाले आफू जस्तै अरु युवा महिलाको साथमा पूरै देशको बागडोर आफ्नो हातमा लिँदै छिन्।

सन्नालाई उनको पार्टीले गएको आइतबार दलको नेताका रुपमा चयन गरेको हो। उनी सबै भन्दा कम उमेरमा देशको प्रधानमन्त्री बन्ने विश्वको पहिलो नेता बन्ने छिन्।

तर सन्नाले आफ्नो यात्रामा उमेर र लिंगलाई खासै महत्व नदिएको बताएकी छन्। लैंगिक समानता र मानवअधिकार सूचकांकमा लगातार शीर्ष स्थानमा रहँदै आएको फिनल्याण्डको इतिहासमा प्रधानमन्त्री बन्ने तेस्रो महिला हुन्।

सन् २००३ मा पहिलो महिला प्रधानमन्त्री पाएको फिनल्याण्डमा यो वर्ष भएको संसदीय चुनावमा महिलाको प्रतिनिधित्व उच्च भएको छ।

अहिले संसदमा ४७ प्रतिशत महिला प्रतिनिधि छन् । ४८ प्रतिशत प्रतिनिधि ४५ वर्ष भन्दा मुनिका छन् । ८ जना त ३० वर्ष पनि पुगेका छैनन्।

निवर्तमान यातायात मन्त्री सन्नाले मंगलबार प्रधानमन्त्रीका रुपमा शपथ लिने तयारी छ। एन्ती रेनियाले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि सोसल डेमोक्र्याटिक पार्टीले सन्नालाई प्रधानमन्त्रीका रुपमा चयन गरेको हो।

सन् १९०६ मा फिनल्याण्डका महिलाले मताधिकार पाएका थिए र त्यो बेला फिनल्याण्ड महिलालाई मताधिकार दिने युरोपको पहिलो देश बनेको थियो। त्यसको ११३ वर्ष पछि फिनल्याण्डले अर्को भव्य उदहारण पेश गरेको छ र ३४ वर्षकै उमेरमा सन्नालाई प्रधानमन्त्रीका रुपमा देशको जिम्मेवारी सुम्पिँदै छ।

सन्नाको सोसल डेमोक्र्याटिक पार्टीको नेतृत्वमा रहेको गठबन्धनले गएको जुनमा घोषणा गरेको नीति तथा कार्यक्रमलाई पूरा गर्नेमा प्रतिबद्धता जनाएको छ। आफूहरुको प्रमुख ध्यान सार्वजनिक हित र पूर्वाधारका लागि खर्च वृद्धि गर्ने र सन् २०३५ सम्ममा देशलाई कार्बन न्युट्रल बनाउने उनीहरुले बताएका छन्।

मंगलबार प्रधानमन्त्रीको शपथ लिँदै गरेकी सन्नालाई एकल आमाले हुर्काएकी हुन्। उनकी आमा समलिंगी हुन्। सन्ना उनको परिवारमा विश्वविद्यालय तहको अध्ययन गर्ने पहिलो व्यक्ति हुन्।

सन्ना २७ वर्षको उमेरमा फिनल्याण्डको तेस्रो ठूलो शहर काउन्सिल अफ ताम्पेरेको नेता बनेकी थिइन्।

यो वर्षको सुरुमा पार्टीको नेताका रुपमा रेनियाको साथमा उभिइन्, जब उनले बिरामीका कारण केही समय बिदा लिनु परेको थियो। उनी रेनियाको सरकारमा यातायात मन्त्री बनिन्।

तर सरकारले गरेका वाचा पूरा गर्न नसकेपछि रेनियाले राजीनामा दिए र सन्ना प्रधानमन्त्री बन्ने होडमा आइन् र पार्टीबाट अनुमोदन पाइन्। उनी अब विश्वको सबैभन्दा कम उमेरको प्रधानमन्त्री बन्दै छिन्।

न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डर्न ३७ तथा युक्रेनका प्रधानमन्त्री ओलक्सी होन्चारक ३५ वर्षको उमेरमा प्रधानमन्त्री बनेका थिए।

(यो सामग्री द न्युयोर्क टाइम्स, द गार्डियन र भक्सको सहयोगमा तयार पारिएको हो ।)देशसञ्चार