मखमली फूलमा बाँके आत्मनिर्भर

बाँंके । सयपत्री तथा मखमली फूलमा बाँके आत्मनिर्भर बन्दै गएको छ । यसैले अहिलेको तिहारमा जिल्लामा भारतीय फूल नभित्रिने भएको छ । बाँके तथा आसपासका जिल्लामा उत्पादन भएका फूल पर्याप्त भएपछि भारतबाट सयपत्री र मखमली फूल नल्याउने भएको व्यवसायी बताउँछन् ।

नेपालगञ्जस्थित हिमाली नर्सरीले मात्र झण्डै पाँच क्विन्टल सयपत्री फूल बजारमा पठाउने भएको नर्सरीका सञ्चालक अङ्कित श्रेष्ठ बताउँछन् । उनकाअनुसार दाङ, सुर्खेत, प्युठानका फूल व्यवसायीले अहिलेसम्म दुई क्विन्टल फूलको माग गरिसकेका छन् । यहाँ उत्पादन भएका सयपत्री फूल भारतको भन्दा गुणस्तरीय छन् । प्रतिकिलो रु ४०० का दरले सयपत्री फूल बिक्री हुँदै आएको पुष्प व्यवसायी बिन्दु चर्तीमगर बताउँछिन् ।

दुई हजार सयपत्री र दुई हजार मखमली फूलका माला बिक्री गर्ने आफ्नो लक्ष्य रहेको उनको भनाइ छ । उनले भनिन्, “तिहारमा झण्डै रु १६ लाखको फूलका माला बिक्री गर्ने मेरो लक्ष्य छ ।” कोहलपुर, दाङ र पाल्पाबाट फूलको माग रहेको चर्ती फ्लोराकी सञ्चालकसमेत रहेकी चर्तीमगरले बताइन् ।

पछिल्लो समय यहाँ मखमली तथा सयपत्री फूलको खेतीमा किसानको आकर्षण बढेको छ । सभा समारोह, जन्मदिन, विवाह, पूजाआजा, व्रतबन्ध, भोजलगायतमा फूल प्रयोग हुने गरेको छ । होटल, कार्यालय, पसलमा समेत फूल प्रयोग हुन थालिएपछि अहिले फूलको माग बढेको व्यवसायी चर्तीमगर बताउँछिन् ।

“तिहारमा धेरै माग हुने सयपत्री, मखमली, सुपारीलगायतका फूल बाँकेमै उत्पादन भएका छन्, जसले गर्दा भारतीय फूल विस्थापित भएका छन्”, उउनले भनिन् । आधुनिकतासँगै प्राकृतिक फूल र वातावरणमैत्री सामान प्रयोग हुन थालेका उहाँको भनाइ छ । फूल उत्पादक व्यवसायीले पनि फूलको माग बढ्दै गएको बताएका छन् । सबैभन्दा बढी सयपत्री तथा मखमली फूलको कारोबार हुने व्यवसायीको भनाइ छ ।

नेपालगञ्ज नाकाबाट मखमली र सयपत्री फूल अहिलेसम्म नआएको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले बताए । नेपालगञ्ज नाकाबाट आर्टिफिसियल माला आए पनि सयपत्री र मखमली फूल आएको तथ्याङ्क भन्सार कार्यालयसँग नभएको उनले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७४÷०७५ मा रु चार लाख ५६ हजार ६९४ र आर्थिक वर्ष २०७५÷०७६ मा रु पाँच लाख ८९ हजार ८३३ बराबर प्लास्टिकका कृत्रिम माला नेपाल भित्रिएका थिए ।