ट्रम्पविरुद्ध महाअभियोगको प्रक्रिया सुरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने प्रक्रिया सुरु भएको छ । अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसीले राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग लगाउने औपचारिक प्रक्रिया सुरु गरिएको घोषणा गरेकी हुन् ।

डेमोक्रेटिक पार्टीकी नेतृ समेत रहेकी सभामुख पेलोसीले राष्ट्रपति ट्रम्पमाथि विदेशी शक्तिलाई अमेरिकी चुनावमा हस्तक्षेप गर्न निम्ता दिएर संविधान उल्लंघन गरेको आरोप लगाएकी छन् ।

ट्रम्पमाथि आफ्ना डेमोक्रेट प्रतिस्पर्धी जो बिडेन र उनका छोराविरूद्ध भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्न युक्रेनी समकक्षीलाई दबाव दिने प्रयास गरेको आरोप छ।

महाअभियोगको प्रक्रिया सुरु गरिएको घोषणा गरेलगत्तै ट्रम्पले त्यसको प्रतिवाद गरेका छन् । उनले ट्वीटमा पेलोसीको घोषणालाई दुराशय राखेर आफूलाई हतोत्साहित गर्ने तुच्छ कदम भएको टिप्पणी गरेका छन् । पेलोसीले राष्ट्रपति उत्तरदायी हुनुपर्ने बताइन्।

राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग गरेको फोन वार्ताबारे एक गुप्त सुराकीले औपचारिक रूपमा उजुरी हालेको समाचार आएपछि विवाद चर्किएको हो।

फोनमा भनिएको विषय अझै अस्पष्ट रहेको छ । तर ट्रम्पले युक्रेनी राष्ट्रपतिलाई डेमोक्रेट उम्मेदवार जो बिडेन र उनका छोराविरुद्ध अनुसन्धान नगरे सैन्य सहायता रोक्ने चेतावनी दिएको डेमोक्रेटहरुको आरोप छ।

सभामुख पेलोसीले ट्रम्पले कानुनको उल्लंघन गरेको र उनका कदमले उनको संवैधानिक जिम्मेवारी अवज्ञा गरेको बताएकी छन् ।

पेलोसीको घोषणाले संसदीय समितिलाई राष्ट्रपतिको फोन संवादबारे अनुसन्धानको निम्ति अनुमति दिएको छ। जसले राष्ट्रपतिद्वारा महाभियोग भोग्नुपर्ने गलत काम गरे वा नगरेको निश्चित गर्नेछ।

घोषणामा उनले ६ वटा अन्य समितिले ट्रम्पविरुद्ध विषयमा अनुसन्धान गरिरहेको र ती महाभियोगको औपचारिक अनुसन्धान अन्तर्गत जारी रहने उल्लेख गरेकी छन्। महाभियोगको पक्षमा विपक्षी डेमोक्रेटको बलियो समर्थन छ।

अनुसन्धानको प्रक्रिया संसद्‌मार्फत अघि बढेर मतदान भएमा सहज रुपमा पारित हुनेछ । तल्लो सदनबाट पारित भएपछि प्रस्ताव सिनेटमा पुग्नेछ । दुई तिहाई बहुमतको खाँचो पर्ने सो सदनमा रिपब्लिकनहरूको बहुमत रहेकाले प्रस्ताव पारित हुन कठिन छ ।