सी आउनुअगावै ‘सी विचारधारा’

काठमाडौँ — चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउनुअगावै ‘सी विचारधारा’ भने आइसकेको छ । खासगरी नेपाल र चीनका सत्तारूढ कम्युनिस्ट दलहरूबीच सी विचारधारालाई आधार बनाएर बढेको वैचारिक अन्तरक्रियाले यही देखाउँछ ।

नेकपा स्कुल विभागको आयोजनामा सोमबारबाट राजधानीमा दुईदिने छलफल कार्यक्रम हुँदै छ, जसमा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभाग प्रमुखको नेतृत्वमा बेइजिङबाट आएका करिब २० जना नेताहरूले भाग लिँदै छन् । नेकपाले यो कार्यक्रमलाई ‘दुई पार्टीबीचको विचारधारात्मक छलफल’ भनेको छ ।

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रममा अर्का अध्यक्ष पुष्पकमल दाहाल र सीपीसी अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ ताओले प्रमुख मन्तव्य दिनेछन् । आइतबारसम्मको कार्यसूचीअनुसार त्यहाँ चिनियाँ पक्षबाट मात्र चारवटा कार्यपत्र पेस हुँदै छन् ।

नेकपाका तर्फबाट कार्यपत्र पेस गर्नेबारे जानकारी दिइएको छैन । चिनियाँ नेताका कार्यपत्र सीपीसीको पछिल्लो महाधिवेशनले लिएका लक्ष्य र त्यसका आधारमा राष्ट्रपति सीले अघि सारेका विचार र योजनाहरूमा केन्द्रित हुनेछन् । दुई वर्षअघि सीपीसीको १९ औं महाधिवेशनले पारित गरेको एउटा विषय थियो– ‘विचारधाराको निर्यात’ । राष्ट्रपति सी चिनफिङलाई माओ, देङ सियायो पिङपछिका शक्तिशाली नेताका रूपमा चित्रित गर्दै महाधिवेशनले उनले अघि सारेका विचार र योजनाहरूको अन्तर्राष्ट्रियकरण गर्ने लक्ष्य राखेको थियो । ‘विचारधारा निर्यात’ को त्यही योजनाको एउटा संस्करणका रूपमा नेपालको सत्तारूढ कम्युनिस्ट पार्टीसँग वैचारिक अन्तरक्रिया बढाउन खोजेजस्तो देखिन्छ ।

छलफल कार्यक्रमको उद्घाटन सत्रपछि सोमबार चिनियाँ कम्युनिस्ट पार्टीको स्कुल विभागका काओ लीले ‘मध्यम आय भएको आरामदायी समाज निर्माण’ शीर्षकमा प्रस्तुति दिनेछन् । राष्ट्रपति सीको राजनीतिक विचारधारामार्फत चीनले सन् २०३५ सम्ममा आफ्नो मुलुकलाई ‘मध्यम आय भएको सुसंस्कृत देश’ बनाउने परिकल्पना गरेको छ । काओको प्रस्तुति यही विषयमा केन्द्रित रहने स्रोतहरूको भनाइ छ ।

मंगलबार सीपीसी संगठन विभागका सु नान पेङले ‘पार्टी अनुशासनको बृहत्तर नीति’ विषयमा, स्कुल विभागका छिन ग्याङले ‘पार्टी पुनःसंरचना तथा सीपीसीको राष्ट्रिय विकास’ र पुनःसंरचना आयोगका सी यू योङले ‘बीआरआई’ बारे प्रस्तुति दिने कार्यसूचीमा उल्लेख छ । छलफल कार्यक्रममा नेकपा सचिवालय र स्थायी समितिका सबै, केन्द्रीय कमिटीका केही सदस्य, बुद्धिजीवी आदि गरी करिब अढाई सयजना सहभागी हुने आयोजक स्रोतले जनाएको छ ।

चिनियाँ पक्षबाट झन्डै २० जना प्रतिनिधि सहभागी हुनेछन् । असोज अन्तिम साता राष्ट्रपति सी नेपाल भ्रमणमा आउने तयारी भइरहेका बेला काठमाडौंमा उनको विचारधाराकेन्द्रित बहस हुन लागेको हो । यसलाई भ्रमण तयारीको एउटा अंशका रूपमा हेरिएको छ । सन् २०१२ मा चिनियाँ प्रधानमन्त्री वेन जियाबाओ केही घण्टाका लागि नेपाल भ्रमणमा आएयता पहिलोपटक त्यसभन्दा उच्चस्तरको राष्ट्रपतीय भ्रमण सीबाट हुन लागेको हो । यसअघि सन् १९९६ मा चीनका तत्कालीन राष्ट्रपति जियाङ जेमिनको नेपाल भ्रमण भएपश्चात् अन्य चिनियाँ राष्ट्रप्रमुख यता आएका छैनन् ।

‘सी’ प्रति बढेको आकर्षण

चिनियाँ राष्ट्रपति सीको आसन्न नेपाल भ्रमणको पूर्वतयारीझैं लाग्ने गरी अहिले काठमाडौंमा नेपाल–चीन सम्बन्धमा केन्द्रित थुप्रै कार्यक्रम भइरहेका छन् । त्यसमा एउटा प्रमुख विषय सीले अगाडि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) हो भने छलफलको अर्को नयाँ विषयचाहिँ ‘सी विचारधारा’ बनेको छ ।

नेकपाका नेता र विभिन्न बुद्धिजीवी फोरमहरूमा पनि यो विषयकेन्द्रित चर्चा बाक्लिएको छ । शनिबारमात्र नेकपाका स्थायी समिति सदस्य घनश्याम भुसालले ‘सी चिनफिङ विचार र बीआरआई ः के नयाँ विश्व व्यवस्था बन्दै छ ?’ शीर्षकमा बहस चलाए । चीन अध्ययन केन्द्रलगायतका संस्थाहरूले पनि यस्तै विषयमा छलफल चलाउँदै छन् ।

सत्तारूढ नेकपाका नेताहरू चीनको आर्थिक दूरदर्शिता र परिपक्व विदेश नीतिका कारण त्यतातिर आकर्षण बढेको दाबी गर्छन् । भारतीय पक्षबाट हेपिएको महसुस गरिरहेका नेपालीका लागि अरू देशको सार्वभौमिकतालाई सम्मान गर्ने वचनसहित आएको चिनियाँ प्रस्ताव मैत्रीपूर्ण बनेको उनीहरूको भनाइ छ ।

‘नेपाल स्वभावैले भारत र चीनमा हुने परिवर्तनबाट प्रभावित हुन्छ । चीनमा सीको नयाँ विचारधारा आएपछि नेपालमा त्यसबारेमा अलि धेरै छलफल हुनु स्वाभाविक हो,’ नेकपा स्थायी समिति सदस्य भुसालले कान्तिपुरसँग भने, ‘दक्षिणतिरको अव्यक्त मौन दबाब नेपालीलाई कहिल्यै पनि राम्रो लागेन, त्यसैले उनीहरूको आकर्षण उत्तरी छिमेकीतर्फ बढेको हुन सक्छ ।’

सी विचारधारा आएपछि चीनको ध्यान आर्थिक उत्पादन र व्यापारमा मात्रै केन्द्रित छ भन्ने धारणा चिरिएपछि अहिले उनको विचारधाराप्रति आकर्षण बढिरहेको नेताहरूको विश्लेषण छ । ‘चिनियाँहरू अहिले विश्वव्यापी रूपमा विचार निर्यात गर्न खोजिरहेका छन्, त्यसैले नेपालीहरूलाई पनि यो विषयमा बुझाउने उनीहरूको उद्देश्य देखिन्छ,’ चीनका लागि पूर्वराजदूतसमेत रहेका नेकपा केन्द्रीय सदस्य टंक कार्कीले भने, ‘छरछिमेक कसरी अघि बढ्न खोजेका छन् भन्नेबारे हामीले पनि जानकारी लिँदा राम्रो हुन्छ ।’

चीन मामिलाका जानकार नेकपा विदेश विभागका पूर्वसदस्य मिलन तुलाधरले विश्व आर्थिक र सैनिक शक्तिका रूपमा चीन अघि बढेकाले उसलाई नजिकबाट बुझ्ने प्रयास भएको बताए । ‘विश्वभरि चीनले ठूलो लगानी गरेको छ । त्यसरी लगानी बढाइरहेका बेला हामीले पनि लगानी पायौं भने राम्रो हुन्छ,’ उनले भने, ‘हामीलाई ठूलो देशको लगानी र भरोसा चाहिन्छ, त्यसका लागि पनि यस्ता छलफलहरू महत्त्वपूर्ण हुन्छन् ।’

चीन मामिलामा अध्ययन गरिरहेका राजनीतिक अर्थशास्त्री कल्याण रोका चीनको आर्थिक विकासबाट प्रभावित भएर योजना तथा परियोजना माग्नेभन्दा पनि त्यहाँको विकासको मोडल हेरेर सिक्नका लागि मात्रै नेपालीलाई सीको विकास मोडेल काम लाग्ने बताउँछन् । ‘सन् १९७८ मा चीनका तत्कालीन उपप्रधानमन्त्री देङ सियाओ पिङ नेपालको राजकीय भ्रमणमा आउँदा तपाईंहरू हामीभन्दा निकै धनी हुनुहुन्छ भनेका थिए । अहिले चीन कहाँ पुगिसक्यो, हामी उस्तै नै छौं, अब चीनबाट हामीले धेरै कुरा सिक्नुपर्छ,’ रोकाले भने ।

चीनको वैचारिक धार र त्यसले लिएका नीतिहरूमा नेपालमा निकै आकर्षण बढे पनि त्यसबाट धेरै हौसिन जरुरी नरहेको धारणा राख्ने नेताहरू पनि छन् । यस्तो धारणा राख्नेमा नेकपा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे पनि हुन् । सी विचारधारा र यसको विश्वव्यापी प्रभावबारे शनिबार राजधानीमा भएको एक कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्रीसमेत रहेका पाण्डेले भनेका छन्, ‘बीआरआई भनेपछि चीनले दनादन पैसा दिन्छ भन्ने बुझिएको छ, त्यस्तो होइन, चीनले हामीलाई सित्तैमा एक पैसा पनि दिँदैन ।’

उनले विकासलाई कसरी प्राथमिकतामा राख्ने भन्ने कुरा चीनबाटै सिक्नुपर्ने बताए । ‘म अर्थमन्त्री हुँदाको एउटा अनुभव राख्न चाहन्छु, हामीलाई यो–यो चाहियो भनेर झोलै बोकेर गइयो, चीनले हामी पैसा दिन बसेको हैन, विकासका लागि तिमीहरूको कुनै प्राथमिकता छैन भनेर पो सोध्यो,’ पाण्डेले थपे । (बिनु सुवेदी/कान्तिपुर दैनिकबाट साभार)