उकुसमुकुस अबस्थामा नेकपाका नेता कार्यकर्ता

कहाँ पुग्यो एकता प्रकरण

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको एकतामा भइरहेको ढिलाइले नेता तथा कार्यकर्ता नै उकुसमुकुस छन् । तल्लो तहसम्ममा पूर्णरूपमा एकता हुन नसक्दा र नेताहरूले उपयुक्त जिम्मेवारी पाउन नसक्दा दुई तिहाइ बहुमतको सरकारले गरेका राम्रा कार्यसमेत आमनागरिकसमक्ष प्रवाह हुन सकेका छैनन् ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको १० महिना बित्दासमेत तल्लो तहसम्म एकता टुंगो लाग्न सकेको छैन । एकता टुंगो लाग्न नसक्दा नेताहरूले जिम्मेवारी पाउन सकेका छैनन् भने कार्यकर्तामा उत्साह थपिन नसकेको राजधानी दैनिकमा खबर छ ।

तत्कालीन नेकपा र माओवादीले एकता अघिसम्म नियमित रूपमा नै जनस्तरमा विभिन्न कार्यक्रम सञ्चालन गरी आआफ्ना कार्यकर्तालाई गोलबन्द पार्थे तर दुई दलको एकतापछि जिम्मेवारी टुंगो लाग्न नसक्दा गाउँ, जिल्ला र केन्द्रीयस्तरमा हुने महत्त्वपूर्ण कार्यक्रम नै अवरुद्धजस्तै भएका छन् । पार्टीको भेला, प्रचारप्रसार, प्रशिक्षण तथा महटत्त्वपूर्ण कार्यक्रम शून्य अवस्थामा पुगेका छन् । यसले कार्यकर्तामा चरम निराशा छाउन पुगेको नेताहरूकै स्वीकारोक्ति छ ।

तत्कालीन एमाले र माओवादीबीच ३ जेठमा पार्टी एकीकरण भएको थियो । एकीकरण सभामा शीर्ष नेताले तीन महिनाभित्रमा पार्टी एकता टुंगो लगाउने उद्घोष गरेका थिए । तर, नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले एकीकरणका समयमा घोषणा गरेअनुसार पहल थाल्न नसक्दा एकता प्रक्रियाले अन्तिम रूप लिन नसकेको आमकार्यकर्ताको गुनासो छ ।अध्यक्षद्वय ओली, दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच पदीय भागबन्डामा सहमति हुन नसक्दा एकताको टुंगो लाग्नमा ढिलाइ भएको नेकपा स्रोतले जनाएको छ ।

अहिलेसम्ममा सचिवालय, केन्द्रीय कमिटी, प्रदेश कमिटी मात्रै गठन भएको छ । घोषणा भइसकेको प्रदेश कमिटीको विषयमा ओली, दाहाल र नेपालबीचमा विवाद छ । केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँट, पोलिटब्युरो कमिटी गठन, विभाग, जनवर्गीय संगठनको एकता, जिल्लादेखि स्थानीय तहसम्मका कमिटी अझै गठन हुन सकेका छैनन् ।

नेकपाका केन्द्रीय सदस्य तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाले भने केही समय धैर्य गर्न आग्रह गरेका छन् । पार्टी एकताले अन्तिम रूप नपाउँदा केही न केही प्रभाव पारेको सत्य हो भन्दै बास्कोटाले २१औ शताब्दीको कुनै कमिटी प्रणालीमा आधारित छैन । किनकि, सशक्त मिडिया, विभिन्न प्रकारका सूचना प्रविधिका माध्यम र बढ्दो चेतनास्तरका कारण सत्यतथ्य बाहिर आउन समय नलाग्‍ने बताए ।

पार्टी एकता प्रक्रियामा केही ढिलाइ भए पनि पार्टीमा सिद्धान्तको अवसान भएको छैन, नेतृत्वमा निष्ठाको खडेरी भएको छैन, त्यसैले निराशा र उकुसमुकुस मान्नुपर्ने अवस्था छैन । सरकारका काम आग्रहमा होइन तथ्यांकमा विश्लेषण गर्न जरुरी छ । कमिटी एउटा निश्चित प्रक्रियामा टुंगिने भएकाले धैर्यता गर्दै सरकारका राम्रा कार्य जनस्तरमा प्रवाह गर्दा सम्पूर्ण नेता, कार्यकर्ता र पार्टीको हित हुन्छ ।

सचेत रहन मौसमविद्को आग्रह शीर्षकको समाचारमा नेपाली आकाशमा मल्टिपल अर्थात् संयुक्त प्रणालीको प्रभाव देखिएपछि मौसममा खराबी आएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विभूति पोखरेलका अनुसार अहिले पश्चिमी वायु, न्यून चापीय प्रणाली, स्थानीय वायु र बंगालको खाडीमा विकसित प्रणालीको एकसाथ प्रभाव देखिएको छ । जसका कारण शनिबार मुलुकका विभिन्न स्थानमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको छ ।

पोखरा आसपास विकसित भएको प्रणाली काठमाडौं हुँदै पूर्वतिर सरिसकेको छ । पोखरादेखि पूर्वतिरको मौसममा खराबी देखिए पनि पश्चिमी क्षेत्रको मौसममा खासै प्रभाव नपरेको मौसमविद् पोखरेलले जानकारी दिइन् ।

प्रधानमन्त्री कार्यालयमा दुईसहित चार सचिव पद रिक्त शीर्षकको अर्को समाचारमा सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दुईसहित चार सचिव पद रिक्त रहँदासमेत पदपूर्ति प्रक्रिया सम्पन्न गर्न सकेको छैन । हाल प्रधानमन्त्री कार्यालयमा दुई, महिला बालबालिका र ज्येष्ठ नागरिक मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा एकएक गरी चार सचिव पद रिक्त छन् ।

विभिन्न निकायमा सचिव पद रिक्त रहेको हप्तौं बितिसक्दा समेत सरकारले पदपूर्ति गर्न नसक्दा ती निकायका कार्य प्रभावित भएका छन् । महिला मन्त्रालयमा सचिव पद रिक्त रहेको एक महिना बितिसक्दा समेत सरकारले त्यहाँ कसैलाई पनि सचिवका रूपमा पठाउन सकेको छैन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तत्कालीन सचिव दिनेशकुमार थपलिया निर्वाचन आयोगको प्रमुख आयुक्तमा सिफारिस भएलगत्तै उनले राजीनामा दिएपछि सचिव पद रिक्त रहँदै आएको छ ।

महिला आयोगमा सचिव दरबन्दी कटौती गरिएपछि त्यहाँ कार्यरत सचिव अनिल ठाकुरलाई अन्यत्र जिम्मेवारी दिइएको छैन । यसैगरी केही समयअघि मात्रै सचिवमा बढुवा भएका केवल भण्डारीलाई पनि जिम्मेवारी दिइएको छैन । राजधानीमा खबर छ ।