बिहारका बालगृहमै ३४ बालिका बलात्कृत

भारतमा बलात्कारको अवस्था विकराल बन्दै

एजेन्सी,बिहारको एक बालगृहमा ७ वर्षीया एक बच्चीसहित ३४ बालिका बलात्कृत भएका छन् । यस घटनाले समाजको सबैभन्दा कमजोर सदस्यहरूको हेरचाहका लागि खोलिने स्याहार गृहको व्यवस्थापनबारे देशव्यापी विरोध सुरु भएको छ । सेवा सङ्कल्प समिति नामक उक्त संस्थामा कुल ४४ बालिकाहरू बस्दथे । उक्त स्याहार केन्द्र घर परिवारबाट भागेर सडक र रेल स्टेसनमा अलपत्र परेका बालिकाहरूलाई छोटो समयका लागि राख्ने उद्देश्यका लागि खोलिएको बताइएको थियो ।

पीडितहरूमध्ये सबैभन्दा जेठी युवती १८ वर्षकी मात्र छिन् । यो घटनाको अनुसन्धान गरिरहेका प्रहरीहरूले हालसम्म घटनासँग सम्बद्ध १० जनालाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा आश्रयस्थलका प्रमुख ब्रजेश ठाकुर पनि छन् । ठाकुरले आफू घटनामा निर्दोष रहेको बताएका छन् । घटनासँग जोडिएका एक जना दोषी भने उम्कन सफल भएका छन् ।

यो घटना सम्बन्धमा जुलाई २७ मा विशेष अदालतमा युवतीहरूको बयान लिइएको थियो । यस घटनालाई ‘प्रोटेक्सन अफ चिल्ड्रेन फ्रम सेक्सुअल ओफेन्स (पोस्को)’ ऐनअन्तर्गत कारबाही अघि बढाइएको छ । पोस्को ऐन यही अप्रिलमा संशोधन भएर १२ वर्षमुनिका बालबालिकाहरूको बलात्कार भएको प्रमाणित हुनेहरूलाई मृत्युदण्डको व्यवस्था गरिएको छ ।

यो हिंसाको घटनामा सरकारी प्रायोजनमा बिहारका ११० एनजीओबारे आएको रिपोर्टले प्रकाश पारेको हो । रिपोर्ट टाटा इन्स्टिच्युट अफ सोसल साइन्सले तयार पारेको थियो । रिपोर्टले आश्रममा ‘हिंसाको गम्भीर प्रमाण’ भेटिएको भन्दै तत्काल थप अनुसन्धान गर्न सिफारिस गरेको थियो ।

अधिकांश आरोप आश्रमका प्रमुख ठाकुरमाथि रहेको छ । उनीमाथि बालिकाहरूलाई शोषण गरेको, बालिकाहरूलाई नाङ्गै बनाएको, लठ्ठी र बेल्टले पिटेको र सुईमार्फत लठ्याउने औषधी दिएर यौन शोषण गरेको आरोप लागेको छ ।

आश्रमको भयावह चित्रण

युवतीहरूले प्रहरीलाई दिएको बयानमा आश्रय गृहको अत्यन्त दर्दनाक चित्रण आउँछ । प्रहरीसँगको बयानमा ७ वर्षीया बच्चीले ब्रजेशले आफूलाई नियमित पिट्ने गरेको बताइन् । बयानमा बालिकाहरूले ब्रजेशलाई ‘शिकारी अङ्कल’ भनी सम्बोधन गरेका थिए । दश वर्षीया एक बालिकाले रातमा औषधी खाएर सुतेको र बिहान उठ्दा कपडा च्यातिएको र जाँघ सुन्निएको पाएको बताएकी छिन् ।

एक युवतीले आफूलाई नियमित नङ्ग्याइने गरेको, टेरेस लगेर लठ्ठीले पिट्ने गरेको बताइन् । अर्की बालिकाले आफूमाथि शोषणकर्ताले तातो पानी फ्याक्ने गरेको र अरू युवतीहरूले निन्द्रा लगाउने भन्ने गरेको औषधी खुवाइएको बताएकी छिन् । शोषणको क्रममा प्रतिरोध गर्ने एक युवतीलाई कैयौँ दिन भोकै पारेर पछि प्रतिरोध गरेकोमा माफी माग्न लगाइएको थियो ।

युवतीहरूको बयानअनुसार बलात्कार अस्वीकार गर्दा केहीलाई पिटिएको थियो । त्यहाँ शोषण कहिले भएको, कति लामो समयसम्म भएको भन्ने स्पष्ट भइसकेको छैन तर युवतीहरूले आफूहरूमाथि त्यहाँ बसुन्जेल शोषण भएको बताएका छन् । केही युवतीहरू तीन वर्षदेखि उक्त आश्रयस्थलमा बसिरहेका छन् ।

शोषण सहन नसकेर कैयौँले आफूलाई चोट पु¥याएको देखिन्छ । “निशासा र दुःखमाझ केही युवतीहरूले नारी सिसाले काटेका छन्,” बिहार महिला आयोगकी प्रवक्ताले भनिन् । आयोगको सदस्यहरूले शनिबार उक्त गृहको अवलोकन गरेका थिए । यस सम्बन्धमा आयोगले सरकारलाई रिपोर्ट गर्ने तयारीमा छ ।

पक्राउपछि अघिल्लो महिना आश्रयस्थल बन्द गरियो । “आश्रय स्थलको बनावटले नै त्यहाँ केही गम्भीर गडबडी भइरहेको छ भन्ने भान पथ्र्यो । त्यहाँ ग्यारेजबाट छोरीहरू राखिएको दोस्रो तलामा भरेङ्ग जोडिएको छ । त्यो त्यहाँ भइरहेको यौन हिंसालाई लुकाउने प्रयास हो ।” मुज्जफरपुर प्रहरीकी एसएसपी हरप्रित कौरले भनिन् ।

बिहारको राजधानीमा रहेको पटना मेडिकल कलेज एन्ड हस्पिटलका डक्टरहरूको बोर्डले बालिकाहरूमाथि यौन हिंसा भएको पुष्टि गरेका छन् । यस घटनासँग जोडेर बिहार भने राजनीतिक आरोप प्रत्यारोप सुरु भएको छ । बिहारको सामाजिक कल्याण मन्त्री मञ्जु बर्माका श्रीमान पनि उक्त आश्रयस्थलमा नियमित जाने गरेको आरोप लागेको छ । केहीले उनी पनि यो शोषणमा भाग लिएको बताइएको छ ।

तर मन्त्री बर्माले भने यो आरोप राजनीतिक रूपमा प्रेरित भएको बताइन् । हाल भारतको शीर्ष अनुसन्धान एजेन्सी सीबीआईले अनुसन्धानका लागि यो मुद्दा आफ्नो हातमा लिएको छ ।

आश्रयस्थलका सम्पूर्ण बालिकाहरू राज्यका विभिन्न आवास स्थलमा स्थान्तरण गरिएको एसएसपी कौरले बताइन् । प्रहरीले उनीहरूको परिवारलाई भने भेट्न सकेको छैन । आश्रयस्थलमा रहेको केही विहारका छन् भने बाँकी छिमेकी राज्य पश्चिम बङ्गालका छन्, जुन ५०० कि.मि. टाढासम्म रहेको छ ।

भारतमा बलात्कारको विकराल अवस्था

‘बाल अधिकार र तपाईं’ नामक एनजीओका अनुसार भारतमा प्रत्येक १५ मिनेटमा एक बालबालिका यौन शोषणमा पर्छिन् । उक्त एनजीओका अनुसार पछिल्लो दशकमा भारतमा बालबालिकामाथिको यौन हिंसा ५०० प्रतिशतभन्दा बढी बढेको छ ।

भारतको राष्ट्रिय अपराध रेकर्ड ब्युरोले दिएको तथ्याङ्क अनुसार सन् २०१६ मा भारतमा ३८,९४७ वटा बलात्कारको उजुरी दर्ता भएका थिए । सन् २०१५ मा ३५,००० वटा बलात्कारका उजुरी दर्ता भएका थिए ।

“शोषणमा परेका बालिकाहरूको अवस्थामा सुधार आइरहेको छ । उनीहरूले हामीसँगको कुराकानीमा धेरै पढ्ने, प्रहरी अधिकारी बन्ने, उच्च पदमा पुग्ने र आफूहरूलाई पीडा दिनेहरू जस्तालाई सजाय दिने बताए ।” बिहार महिला आयोगकी दिलमनी मिश्रले भनिन् ।