सांसदमा ओलीको जवाफ – ‘प्रधानमन्त्रीले पनि दूध र चिनी नहालेको चिया खान्छ’

संविधान संशोधन दोहोरी गीतको भाका होइन

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मितव्ययिताको नीति लिएको बताएका छन  । भ्रष्टाचारविरुद्ध निर्मम र सम्झौताहीन रहेको तथा अनुहार हेरेर नभई कानून हेरेर कारवाही हुने गरेको उहाँको भनाइ छ । विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको सोमवार राष्ट्रियसभामा जवाफ दिने क्रममा प्रधामनन्त्री ओलीले सरकारले जनताको करबाट उठेको पैसा दुरूपयोग हुन नदिने बताए  ।

‘प्रधानमन्त्रीले पनि दूध र चिनीविनाको चिया खान्छ, तपाईंहरू प्रधानमन्त्री कार्यालयमा आउनुभयो भने पनि त्यसैले स्वागत हुन्छ । त्यहाँ भव्य खानेकुराले स्वागत हुँदैन,’ ओलीले भने । प्रधानमन्त्री ओलीले बजारको मूल्यवृद्धि, जनतालाई मर्कामा पार्ने काम र बेथितिविरुद्ध सरकारले छूट नदिने बताए । ‘सरकार मितव्ययी छ । सदाचारको पक्षमा छ । सदाचार नीति आउनुभन्दा पहिले भुइँचालो आएको छ । धेरै हल्लाखल्ला चलेको छ । सदाचार नै लगाउन खोजिएको हो,’  ।

ओलीले सरकार कुनै पनि अनुचित दबाब र जिद्धीसामु नझुक्ने जिकिर गरे । ‘कुनै जिद्धी, अहंकार, अनुचित दबाबलाई आफ्नो मार्गदर्शक या बाध्यता ठान्दैन । औचित्यपूर्ण कुरा, सही बाटो तथा देश र जनताको हित यसको उद्देश्य हो र त्यसमा दृढ छ । सत्यको मार्गमा हिँडन र त्यसलाई नछाड्न दृढ छ,’ ओलीले भने ।

संविधान संशोधन दोहोरी गीतको भाका होइन

प्रधानमन्त्रीले संविधान संशोधनलाई दोहोरी गाउने भाका जस्तो नबनाउन पनि आग्रह गरेका छन् । ‘संविधान संशोधन दोहोरी गाउने भाका होइन, आवश्यकता अनुसार संशोधन गर्न पछि हट्ने कुरै आउँदैन’, उनले भने, ‘नेपाली जनतालाई संविधानले असुविधा भएको छ भने किन संशोधन नगर्नु ?’

प्रधामन्त्री ओलीले जातीय कुरा उठाउनेहरुमाथि पनि प्रहार गर्न भ्याए । ‘सधैँ जातका कुरा गर्ने नश्लबादी नहुने तर नेपाली भन्दा नश्लवादी हुने ?’, ओलीले प्रश्न गरे, ‘हिजोसम्म बर्णाश्रम व्यवस्था थियो, अब त्यो व्यवस्था छैन, हामी नयाँ बाटोमा अघि बढिसकेका छौँ, अब जातीय कुराले भेदभाव गरेर बस्ने कुरालाई संविधानले नै निषेध गरिसकेको छ ।’

तराई–मधेसको समस्या संविधानको विभेद नभई त्यहाँको अशिक्षा र पछौटेपन रहेको प्रधानमन्त्रीको भनाइ थियो । ‘तराईमा एउटा जाति २० प्रशिशत पनि शिक्षित छैन, पछौटेपन उस्तै छ, सुगम भएर पनि त्यहाँको समस्या अशिक्षा र पछौटेपन हो संविधानको विभेद होइन’, ओलीले थपे, ‘आफैँले बिहे गरेर ल्याएको दुलहीलाई दाइजो पुगेन भनेर आगो लगाउने पनि अझै छन् । यस्ता बेथितिलाई हामीले चिर्न सक्नुपर्छ ।’