नेपालमा भारतले चलाएको तीन पत्ता ‘रअ’को चलखेल बढ्यो

जनीतिक स्थायीत्वतिर लम्किएको नेपालको आन्तरिक राजनीतिमा भारतले ‘ट्रिपलसाइड कन्फ्लिक्ट’ रणनीति अगाडि सारेको छ । उसले राजनीतिक, गुप्तचर र अनुसन्धानका तीन शक्तिको प्रयोग गरेको छ । त्यसका लागि उसले नेपालका तीन पत्ता ‘च्वाइस’मा राखेको छ ।

  भारतीय प्रशासनले नेपाल कुटनीतिमा आफ्नो प्रभावकारीता देखाउनका लागि सरकार, प्रमुख प्रतिपक्ष र दरबारलाई चलाउन थालेको छ । सरकारसँग राजनीतिक तहको सम्बन्ध राखेको भारतले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँगै मधेसीलाई गुप्तचर संस्था ‘रअ’ र दरबारलाई धार्मिक संघसंस्था तथा इन्टेलिजेन्स व्युरो (आइबी)मार्फत खेलाउन थालेको हो ।

नेपालले चीनसँग बढाएको सम्बन्धलाई मध्यनजर गर्दै भारतीय संस्थापनले चुनावबाट बहुमतमा आएको कम्युनिस्ट एकाधिकारवादलाई रणनीतिक हिसाबमा अन्त्य गराउने तयारी गरेको छ । भारतमा प्रभावशुन्य हुँदै गरेको कम्युनिस्टको नेपालमा अभूतपूर्व उदय भएपछि नेपालमा चीनको प्रभाव बढेको उसको ठहर छ । लोकतान्त्रिक शक्ति सत्ताबाट नराम्रोसँग उत्रिएपछि भारतले नेपालको राजनीतिमा कम्युनिस्ट खुसी बनाउने र सत्ताच्युतको कारण खोजीरहेको छ ।

त्यसका लागि नेपालमा धार्मिक, पृथकतावादी शक्ति र पुरातन शक्तिको पुनस्र्थापनाको ललीपपमात्र होइन, परम्परागत शक्तिको बहुमत आउनसक्ने आगो समेत सल्काइसकेको छ । पूर्वराजा ज्ञानेन्द्रलाई राजतन्त्र फर्कनसक्ने सन्देश पठाउँदै अभियानलाई सक्रिय बनाउन भनेको भारतले शेरबहादुरलाई लोकतान्त्रिक शक्तिमा सत्ता स्थानान्तरणको लोभ देखाएको छ । उता १९५० देखिका सन्धिमा समझादारी गर्ने भन्दै भारतीय जनता पार्टीको राजनीतिक सम्बन्ध सरकारसँग गाँस्नका लागि केपी ओलीलाई प्रभावमा राखेको छ ।

‘दक्षिण एसीयामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सबैभन्दा कमजोर कुटनीति नेपालमा रहेको आलोचना बढिरहेका बेला तीनवटा फरक शक्ति चलाएर राजनीतिलाई अस्थिर बनाउने रणनीतिमा भारत उत्रिएको छ’, उच्च स्रोतले भन्यो,‘ताकत र शक्तिका लागि नेपालका राजनीतिक र दरबारीयाहरू त्यहि रणनीतिको शिकार बनिसकेका छन् ।’ भाजपाका धार्मिक शक्ति, विश्व हिन्दु महासंघलगायतका शक्तिले पूर्वराजा ज्ञानेन्द्रलाई सहयोग गरिरहेका छन् ।

भारतको यो विखण्डनकारी नीतिका लागि उसले मधेसका शक्तिलाई प्रत्यक्ष हातमा लिएको छैन । उसले मधेस रणनीति असफल भएको भन्दै राजपा र फोरमका नेताहरूप्रति विश्वास नै गरेको छैन । ‘मधेसलाई चलाउँदा प्रत्यक्ष भारतको संलग्नता भएको देखिन्छ तर शक्ति केन्द्र नै चलाएपछि भारतको भुमिकाको चर्चा हुँदैन’, उच्च स्रोतले भन्यो,‘यसलाई उनीहरूले दक्षिण एसीयामा चीनको सहज प्रवेशमा बार लगाउने कसी पनि मानेका छन् ।’

प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा रेल सेवा विस्तारका विषयमा भएको सम्झौता र नेपालमा चीनको लगानी भारतको तुलनामा बढ्नुप्रति भारतीय शासक र थिंक ट्यांक पनि चिन्तित थिए । नेपालसँग बहुआयामिक सम्बन्ध भारतले कायम राख्दाराख्दै उसको विकासको रणनीतिमा चीनको आक्रामक लगानीको कारण उनीहरूले खोजेका छन् । नेपालमा चीनको प्रभावलाई नरोके पाकिस्तानको पनि प्रभाव बढ्नसक्ने विश्लेषण नेपाल मामिला जानकार एसडी मुनीले बताइसकेका थिए ।

पछिल्लो पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भारतसँग रहेका असमझदारी हटेको बताइएको थियो । त्यहि हिसावले मोदीले पनि नेपाली जनतालाई सम्बोधन गरेका थिए । तर उनले सम्बोधनका क्रममा महत्वपूर्ण विषयको संकेत गरेका थिए ‘म प्रधान तिर्थयात्री’ भनेर । मोदी मुस्ताङसम्म पुग्नुको कारण उत्तरी छिमेकको प्रभावको संकेत हेर्नु पनि थियो ।

देश दौडाहा बेला जनतालाई फुर्काएर राजनीतिक अभिष्ट पुरा गर्नका लागि मोदी चलाख भएका कारणले नै उनले नेपालसँग भत्किएको सम्बन्ध सुधार्दै २०१९ को चुनावबाट पनि अर्को ५ बर्षको सत्ता स्थापित गराउने रणनीतिलाई सफल बनाउन खोजेको प्रस्ट हुन्छ । उनले नेपाल र भारको सम्बन्ध त्रेता युगभन्दा पुरानोमात्र भनेका थिएनन्, नेपालीको स्वाभिमान सागरभन्दा गहिरो र सगरमाथा भन्दा उँचो रहेको भनेर फुर्काएका पनि थिए ।

उनले यसरी फुकाएपनि नेपालमा बढेको भारतविरोधी भावनाको अन्त्य गर्नका लागि राजनीतिक समिकरणमा नै खेल्नुपर्ने भारतीय संस्थापनको ठहरअनुसार तीन शक्तिलाई परिचालन गरिएको हो । नेपाल सरकारसँग राजनीतिक सम्बन्ध राखेको आधारमा उसले केही निर्णयमा ब्याक हुँदै कुटनीतिक रूपमा नेपाल प्रशासनलाई दबाबमा राख्न तीन कार्डको प्रयोग गरिएको हो । जनप्रहार साप्ताहिकमा समाचार छ ।