नेपाल–भारत प्रवुद्ध समूह (इपिजी) बैठक सम्पन्न ,समूहको प्रतिवेदन तयार

सबै सन्धी–सम्झौता पुनरावलोकन गर्न सुझाव

नेपाल–भारत प्रवुद्ध समूह (इपिजी) ले आफ्नो अन्तिम प्रतिवेदन तयार पारेको छ । सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि सहितका असमान सन्धिसम्झौता पुनरावलोकन तथा दुईपक्षीय विवादित विषयमा अध्ययन गरी सुझाव दिन गठन भएको प्रबुद्ध समूहको काठमाडौंमा सम्पन्न बैठकले अन्तिम प्रतिवेदन तयार पारेको हो ।

दुई दिनसम्म काठमाडौंमा बसेको बैठकले प्रतिवेदनलाई अन्तिम रूप दिएको सदस्य डा. राजन भट्टराईले जानकारी दिए । बैठकले एक महिनाभित्र नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रतिवेदन बुझाउने निर्णय गरेको छ । बैठकपछि जारी विज्ञप्तिमा प्रतिवेदन तयार भएको र सकेसम्म छिटो दुवै देशका प्रधानमन्त्रीलाई बुझाउने उल्लेख छ । प्रबुद्ध समूहमा भारतको तर्फबाट सदस्य रहेका महेन्द्र पी लामाले दुई देशबीचका असमान सन्धि सम्झौताको पुनरावलोकनको सुझावसहितको प्रतिवेदनलाई अन्तिम रूप दिने काम भएको जानकारी दिए । सन् १९५० को सन्धिलाई दुवै देशको तर्फबाट गम्भीर रूपमा अध्ययन र विश्लेषण गरी वास्तविकतामा आधारित भएर प्रतिवेदन तयार पारिएको उनको भनाइ छ ।

लामाले दुई वटा राष्ट्रका प्रधानमन्त्रीले दिएका कार्यविधिलाई आधार बनाउँदै सोही मान्यताअनुसार छलफल अघि बढाइएको र वास्तविकतामा आधारित भएर प्रतिवेदन तयार भएकाले यसका सुझाव दुवै सरकारलाई कार्यान्वयन गर्न सहज हुने विश्वाससमेत व्यक्त गरे । ‘प्रतिवेदन यथार्थ र वास्तविकतामा आधारित भएकाले दुवै मुलुकका प्रधानमन्त्रीले कार्यान्वयन गर्ने कुरामा हामी विश्वस्थ छौँ,’ लामाले भने । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको समयमा दुई वर्षअघि कार्यविधिसहित इपिजी गठन गरिएको थियो । इपिजीको समय यही २० असारमा सकिँदै छ । आफ्नो समय सकिनुभन्दा चार दिनअघि सम्पन्न बैठकले प्रतिवेदनलाई अन्तिम रूप दिएको हो ।

इपिजीमा नेपालतर्फका सदस्य निलाम्बर आचार्यले आफूहरूले सहमतिपूर्वक काम सम्पन्न गरेको बताए । ‘इजिपीको काम सफलतापूर्वक सम्पन्न भएको छ,’ आचार्यले भने । १९५० को सन्धी पुनरावलोकन गर्न भारत तयार भए पनि विषयवस्तुहरू भने बाहिर आएको छैन । समितिका सदस्यहरूले प्रतिवेदनलाई अन्तिम रूप दिए पनि विषयबस्तु सार्वजनिक गरेका छैनन् ।

दुबै देशका प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएपछि मात्र विषयवस्तुहरू बाहिर आउने उनीहरूको भनाइ छ । ‘नेपालले जति पनि प्रश्न उठाएको छ, त्यसमा छलफल भएको छ,’ समूहका सदस्य लामाले भने, ‘यत्रो समय पर्खिनुभयो । अब अरू विवरणका लागि केही दिन पर्खिनुस् ।’ उनले विगतमा के भयो भन्ने भन्दा पनि अहिले के प्रगति भएको छ भन्ने विषय महत्वपूर्ण रहेको बताए । ‘विगतमा के भयो, छाड्नुस् । अहिले भारत–नेपाल सम्बन्धमा निकै न्यानोपन आएको छ, अब धेरै कुरा अगाडि बढ्नेछ,’ उनले भने ।