ओलीलाई पुनः भारत भ्रमणको निम्तो दिएर फर्किए मोदी

भ्रमण साेचे जस्तै भएकाे दावी

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पुनः भारत भ्रमणको निम्तो दिएका छन्। माेदीले अाफ्नाे नेपाल भ्रमण साेचेजस्तै एेतिहासिक भएकाे समेत दावी गरेका छन ।  नेपालको दुई दिने भ्रमणका क्रममा रहेका उनले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिएका हुन्। मोदी नेपाल भ्रमण सकेर फर्किसकेका छन्। मोदीको भ्रमणका क्रममा जारी भएको १६ बुँदे संयुक्त वक्तव्यको अन्तिम बुँदामा भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिएको उल्लेख छ।  भ्रमणको मिति दुई देशबीचको कुटनीतिक छलफल पछि तय हुने वक्तव्यमा उल्लेख छ। यसअघि गत चैत २३ मा तीन दिने भारत भ्रमणमा गइसकेका छन्।

यसैबीच मोदीको दुई दिने नेपाल भ्रमणका क्रममा यसअघि प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा भएका सम्झौता कार्यान्वयनका लागि आवश्यक काम अगाडि बढाउन दुई देशबीच सहमति भएको छ। संयुक्त वक्तव्यको ३ नं. बुँदा यसअघि भएका सबै सम्झौता तथा समझदारीलाई कार्यान्वयन गर्न तत्काल आवश्यक पहलकदमी लिने सहमति भएको उल्लेख छ।

त्यस्तै कृषि क्षेत्र, रेलवे र इनल्याण्ड वाटरवेको क्षेत्रमा भएको द्वीपक्षीय समझदारीलाई कार्यान्वयनमा लैजान दुबै प्रधानमन्त्रीबीच सहमति भएको छ। शुक्रबार भएको द्वीपक्षीय छलफलमा मन्त्रिस्तरीय तथा दुई प्रधानमन्त्रीबीच द्वीपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउनका लागि वहुआयामीक क्षेत्रमा साझेदारी, सामाजिक आर्थिक विषयका समानता, आपसी विश्वास, सम्मान र साझा फाइदाको सिद्धान्तका आधारमा अगाडि साझेदारी बढाउन सहमति भएको वक्तव्यमा उल्लेख छ।

यसैबीच दुई देशबीच परराष्ट्र÷विदेश मन्त्रालय स्तरीय नेपाल–भारत ज्वाइन्ट कमिसनको नियमित वैठक बस्ने सहमति समेत भएको छ। भारतसँगको व्यापार घाटा कम गर्नका लागि आवश्यक उपायहरु अपनाउन दुबै देशका प्रधानमन्त्रीहरु सहमत भएका छन्।

दुबै प्रधानमन्त्रीहरु यसअगाडि भएको वाणिज्यमन्त्रीस्तिरी बैठकका निर्णयहरुलाई सहमति दिएका छन्। त्यस्तै पारवाहन सन्धीको पुनरावलोकनका लागि समेत दुबै प्रधानमन्त्रीहरुबीच सहमति जुटेको छ। त्यस्तै दुबै देशहरुबीच कनेक्टिभिटिका बहुआयामिक क्षेत्रमा साझेदारी गर्ने विषयमा छलफल भएको छ। दुबै प्रधानमन्त्रीहरु आर्थिक विकास र कनेक्टिभिटिका बहुआयामिक क्षेत्रहरु जल, जमिन र आकासमा थप सुधार गर्नका लागि समेत सहमत भएका छन्।

दुई देशबीच उड्ड्यन क्षेत्रमा साझेदारीका लागि सरोकारवाला अधिकारीहरुलाई दुबै प्रधानमन्त्रीहरुले समेत निर्देशन दिएका छन्। त्यस्तै नेपालले मागेको एयर इन्ट्री रुटमा देखिएको समस्या समाधानका लागि समेत थप छलफललाई निरन्तरता दिन समेत उनीहरुले निर्देशन दिएका हुन्।  प्रधानमन्त्री ओली र भारतीय समकक्षीबीच जलस्रोतको क्षेत्रमा सामुहिक फाइदाका लागि साझेदारीलाई बढाउनुपर्ने आवश्यकतालाई महशुस गर्दै रिभर ट्रेनिङ, सिंचाई, बाढी नियन्त्रणका क्षेत्रमा भएका साझेदारीलाई कार्यान्वयन गर्न सहमत भएका छन्।