यी हुन् चन्द्रमाको जग्गा दलालका नाइके ! यस्तो छ नालीबेली

भू-माफिया र दलालहरुले राम्रो जमिनलाई प्लटिङ गरेर किनबेच गर्ने कुरा त नयाँ भएन नै । आफ्नो फाइदाको लागि अनुत्पादनशील ठाउँमा लगानी गर्न लगाएर रातारात मालामाल भएका छन् । धेरै खोला, भीरपाखा र अरुको जग्गाको नक्कली लालपुर्जा बनाएर ठग्दै आएको कुरा पनि नयाँ होइन । तर, चन्द्रमाको जग्गा दलाली गर्ने गरेको कुरा नेपालीको लागि नयाँ हुन सक्छ । त्यो पनि पृथ्वीबाटै । अमेरिकाका एक दलालले पृथ्वीबाटै चन्द्रमाको जग्गा दलाली सुरु गरेका थिए । अहिले त्यस्ता दर्जनौं दलालहरु छन् । यो पनि अमेरिकासहित अन्य देशको लागि नयाँ होइन । तर, यही कुरा नेपालीको लागि भने नयाँ हो ।

अमेरिकाका एक नागरिकले सुरु गरेको चन्द्रमाको जग्गा दलाली एउटा कम्पनी खोलेर चन्द्रमाको जग्गा दलाली गर्दै आएका छन् । उनको नाम डेनिस होप हो । डनिसले लुनार एम्बेसी नामका कम्पनी खोलेका छन् । उनले सन् १९८० देखि चन्द्रमाको जग्गा बेच्न थालेको अमेरिकाको एबिसी टेन टिभीले बताएको छ । डेनिस चन्द्रमा जग्‍गा दलालका नाइके हुन् । उनले नै यो पेशको सुरुवात गरेका थिए । अरु धेरै दलाल भएपनि उनी धेरै कमाएका दलाल हुन् । उनले ७० लाख मानिसहरुलाई चन्द्रमाको जग्गा बेचिसकेका छन् । उक्त टेलिभिजनसँग कुरा गर्दै डेनिसले विगत २३ वर्षदेखि आफ्नो कमाईको स्रोत नै चन्द्रमाको जग्गा भएको बताएका छन् । साथै, राम्रो कमाई भइरहेको समेत बताए ।

डेनिसले आफ्नो कार्यालयमा चन्द्रमाको फोटो राखेका छन् । फोटोमा चन्द्रमा देखाउँदै जग्गा बेचिरहेका छन् । यति मात्रै होइन उनले प्लुटो ग्रहसहित अन्य आठ ग्रहलाई बेच्ने तयारी पनि गरिरहेका छन् । “म तपाईँलाई साढे दुई लाख डलरमा प्लुटो ग्रह बेच्छु र त्यसका लागि ३० वर्षसम्म फाइनान्स गर्छु” टेलिभिजन अन्तरवार्ताको क्रममा डेनिसले भनेका छन् ।

आफूसँग कुनै अधिकार नभएको चन्द्रमाको जग्गा बेच्ने आइडिया कसरी लगाए होलान् ? भन्ने प्रश्न पनि उठ्छ । उनको उक्त उपाय अभाव र संकटबाटको गर्भबाट जन्मेको हो । सन् १९८० सम्म यी दलाल हलिउडका एक कलाकार थिए । उनले सोँचेजस्तो काम पाइरहेका थिएनन्, निकै संघर्ष गर्नु परेको थियो । त्यही अभावकै बीच उनको श्रीमतिसँग डिभोर्स भयो । त्यसपछि डेनिस झन् संकटमा परे । उनको अगाडि कुनै उपाय थिएन र कोही सहयोग गर्ने पनि थिएनन् । के गर्ने र कसो गर्ने भन्दै उनको धेरै रात बिते । त्यतिकैमा एक रात उपायबारे सोँच्दै गर्दा उनले आकाशमा चन्द्रमा देखे । उनको खुराफाती दिमागले चन्द्रमाको जग्गा बेच्ने उपाय निकाल्यो ।

त्यतिकैमा अर्को कुरा उनको दिमागमा खेल्यो । सन् १९६७ डेनिसले लिनफिल्ड कलेजमा पढ्ने बेलामा अन्तरिक्ष सन्धि (स्पेस ट्रिटी) को कक्षा लिएका थिए । उक्त सन्धीमा चन्द्रमा वा अन्य अन्तरिक्षका ग्रहको स्वामित्व कुनैपनि देश वा सरकारले दाबी गर्न नसक्ने उल्लेख थियो । सुरुमा यो सन्धीले चन्द्रमाको जग्गा बेच्न अवरोध हुने भयो भनेर केही निरास भएका डेनिसको खुराफाती दिमागले फेरि अर्को उपाय लगाईहाल्यो । उक्त सन्धीमा देश वा सरकारको स्वमित्व नहुने भनिएको छ, तर व्यक्तिको कुरा उल्लेख नभएकोले आफ्नो योजना अगाडि बढाउने अर्को निर्णय गरे । उनले एउटा कम्पनी दर्ताको प्रक्रिया अगाडि बढाईहाले ।

स्पेस ट्रिटीमा व्यक्तिको स्वमित्व नहुने नभएको उल्लेख गर्दै चन्द्रमाको दाबी गरेर संयुक्त राष्ट्र संघलाई पत्र लेखे । उनको पत्रलाई राष्ट्र संघले कुनै महत्व दिएन । कुनै जवाफ नआएको भन्दै उनी अगाडि बढे । यही विषयमा डेनिसले एबिसी टेनसँगको अन्तरवार्ताको क्रममा भनेका छन्, “मैले युएनलाई जानकारी मात्र गराइरहेको थिएँ म के गर्दैछु भनेर, अनुमति मागेको हैन । त्यसैले मैले युएनलाई पत्र लेखेर मैले स्वामित्व लिन लागेको बताएँ । तर उनीहरुले जवाफ दिएनन् ।” उनको यो भनाईबाट पनि थाहा हुन्छ कि उनको पत्रलाई राष्ट्र संघले महत्व नै दिएन । कुनै देशले स्वमित्व दाबी गरेको भए राष्ट्र संघ अवश्यै बोल्थ्यो होला नै ।

यूएनको कुनै जवाफ नआएपछि भिकारी अवस्थामा पुगेका डेनिसले साथीभाईहरुसँग सापट गरेर को सहयोगमा कम्पनी दर्ता गराएर चन्द्रमाको जग्गा बेच्न सुरु गरिहाले । जुन अहिले पनि जारी छ । उनले हावामा पैसा कमाईरहेका छन् ।

एबिसी टेन टिभीसँगको अन्तरवार्ताको क्रममा युसी डेभिसका कानुन सम्बन्धी प्रोफेसर अनुपम चान्दलरले डेनिसका काम गैरकानुनी नभएपनि चन्द्रमाको जग्गाको स्वमित्व नभएको बताए । उनी भन्छन्, “उनको काम गैरकानुनी हैन तर चन्द्रमालाई बेच्ने स्वामित्व छैन । युएन वा कुनै पनि देशको सरकारको सेलेस्टियल बडीमा अधिकार हुने वा अधिकार दिने कुरा नभएकोले अदालतमा गए डिनेसका अधिकार खारेज हुन्छ ।”

डेनिस यति चलाख छन्, कुनै पनि समय आफ्नो स्वमित्व खारेज हुन सक्ने भएकोले आफूसँग जग्गा खरिद गरेकाहरुको अधिकारको रक्षाको लागि भन्दै ग्यालेटिक गभरमेन्ट समेत बनाएका छन् ।

डेनिसको आम्दानी देखेर अन्य खुराफातीहरु पनि चन्द्रमाको जग्गा किनबेच गर्न अग्रसर भए । अहिले उनीजस्तै अन्य कम्पनीले पनि चन्द्रमाको जग्गा बेचिरहेका छन् । पछिल्लो पटक खोलिएका कम्पनीले सजिलै कमाइरहेपनि सुरुमा भने सजिलै नभएको बताइएको छ । सुरुका १५ वर्ष खासै कमाइ नभएको डेनिसले अन्तरवार्ताको क्रममा बताएका छन् । उनले आफूलाई नै माजक लागेको तर राम्रो कमाई हुन थालेपछि खुशी भएको बताए ।

डेनिसले एउटा प्‍लटको मूल्य २२.४९ डलर राखेका छन् । जुन उनको लुनार एम्बेसीमा देख्न सकिन्छ । सन् १९७९ को अलग्गै मून एग्रिमेन्टले चन्द्रमाको प्राकृतिक स्रोतहरुको व्यवस्थापन सम्बन्धी नियम बनाएको छ । तर त्यो सन्धि १३ देशले मात्रै अनुमोदन गरेको छ । नेपालले समेत त्यसलाई अनुमोदन गरेको छैन । यसको लागि यो लिंकमा मा गएर हेर्न सकिने छ ।

डेनिसले बेलायतका फ्रेन्सिस वइलिएमलाई चन्द्रमाको जग्गा बेच्ने अधिकार दिएका छन्। उनले https://www.moonestates.com/ नामको छुट्टै वेबसाइट बनाएर चन्द्रमाको जग्गा बेचिरहेका छन् जसबारे सिएनएनले सन् २००८ मा समाचार बनाएको थियो । यसबाट एक एकड किन्न ४०.९५ पाउन्ड पर्छ ।

डेनिसको लुनार ल्यान्ड नामको अर्को वेबसाइट छ जसमा एक एकड २९.९५ डलरमा बिक्रीमा राखिएको छ । पपुलर साइन्समा नासाका डेपुटी डाइरेक्टर अफ इन्टरनल अफेयर्सका रुपमा काम गरिसकेका अवकाश प्राप्त वकील स्टेफन इ. डोयलले भनेका छन्, “अहिलेका लागि चन्द्रमा समुद्र जस्तो हो । सबैले प्रयोग गर्न पाउँछन् तर कसैले स्वामित्व लिन पाउँदैनन् । तपाईँ चन्द्रमामा जान सक्नुहुन्छ, चन्द्रमाको माटो लिन सक्नुहुन्छ तर त्यहाँको जमिनमा वृत्ताकार चिह्न लगाएर त्यति जग्गा मेरो हो भन्न पाउनुहुन्न ।” चन्द्रमा जग्गा किनेको प्रमाण कुनै पनि देशले दिनेछैन ।

नेपाली रमेशप्रसाद जोशीले एक दलाल कम्पनीसँग जग्‍गा खरिद गरेको समाचारसँगै विभिन्‍न प्रकिया प्रतिक्रिया अाइरहेका छन् । काठमाडौंबासी जोशीले कसैको स्वमित्व नभएको चन्द्रमामा जग्‍गा खरिदको नाममा ठगिएको कतिपयले बताएका छन् भने केहीले उनी चन्द्रमामा जग्‍गा खरिद गर्ने पहिलो नेपाली भएको बताएका छन् । केहीले कसैसँग स्वमित्तव नभएको चन्द्रमाको जग्‍गा खरिद गरे भन्‍नु मूर्खता भएको बताएका छन् ।

चन्द्रमामा गर्मी ठाउँमा १०० डिग्री सेल्सियसदेखि एकदमै जाडो माइनस १७३ डिग्री सेल्सियससम्म तापक्रम पुग्छ । यो पृथ्वीको भन्दा १६.५ डिग्री कम गुरुत्वाकर्षण हुने ठाउँ त्यसमाथि चन्द्रमाको त्यो धुलो, प्रशिक्षण प्राप्त अन्तरिक्ष यात्री भन्दा अरु कोही पनि त्यहाँ धेरै समय बस्न चाहँदैनन् ।