असदको क्रूरता र ठूला देशको स्वार्थले सिरियामा नरसं‌हार

के हो त सिरियाको द्वन्द्व ?

 सिरियामा जारी द्वन्द्वले आउने मार्चमा ८ वर्ष पूरा गर्नेछ। बितेका ८ वर्षमा सिरियाको यो द्वन्द्वमा ४ लाख ६५ हजारभन्दा बढी सिरियाली मारिएका छन् भने १० लाखभन्दा बढि मानिस घाइते भएका छन्। द्वन्द्वको चपेटामा परेका १ करोड २० लाख मानिस विस्थापित भएका छन्, जुन सिरियाको आधा जनसंख्या हो।

के हो त सिरियाको द्वन्द्व ?

स्वतन्त्रताबाट वञ्चित सिरियाली जनता आर्थिक उन्नतिमा समेत पछाडि पर्दै गएपछि आन्दोलित भएका थिए। तर, सिरियाली सरकारको दमनले आन्दोलनकारीहरु थप आक्रोशित भए। सन् २०११ मा छिमेकी मुलुक ट्युनिसिया र इजिप्टका सरकार ढाल्ने गरी भएका आन्दोलनले सिरियाका प्रजातन्त्र पक्षधर आन्दोलनकारीलाई बल मिल्यो। अरबी मुलुकहरुमा भएका ती सफल आन्दोलनले अरब स्प्रिङका रुपमा विश्वभर चर्चा पाए।

त्यही वर्षको मार्च महिनामा सिरियामा शान्तिपूर्ण प्रदर्शनहरु सुरु भए। त्यसक्रममा अरब आन्दोलनको समर्थनमा भित्ते लेखन ग्राफिटी गर्ने १५ जना किशोरहरुलाई प्रशासनले नियन्त्रणमा लियो। तीमध्ये १३ वर्षका एक किशोरको कठोर यातनाका कारण मृत्यु भयो। त्यसपछि आन्दोलन चर्कियो। तर, राष्ट्रपति बसर अल असद नेतृत्वको सरकारले दमनको बाटो रोज्यो। सयौं आन्दोलनकारी मारिए, अरु थुप्रैलाई हिरासतमा लिइयो।

त्यसै वर्षको जुलाईमा गठन भयो फ्रि सिरियन आर्मी। यो सशस्त्र विद्रोही समूहले सरकारविरुद्ध युद्ध सुरु गर्योक। त्यसअघि कुनै धर्म वा वर्ग निरपेक्ष रहेको आन्दोलनले फ्रि सिरियन आर्मीको गठनपछि साम्प्रदायिक रुप लिन थाल्यो। सुन्नी मुसलमान बहुल सिरियाको सरकारी सेनामा भने शिया मुसलमान अन्तर्गतको अलावीहरुको प्रभुत्व रहँदै आएको थियो। राष्ट्रपति असद पनि अलावी समुदायका हुन्।

सन् १९८२ मा असदका पिताले मुस्लिम ब्रदरहुडमाथि सैन्य कारबाही गराएका थिए, जसमा दशौं हजार मानिसको मृत्यु भएको थियो भने हामा सहर ध्वस्त भएको थियो। कतिपयले के पनि भन्छन् भने, जलवायु परिवर्तनको असर पनि सन् २०११ मा सुरु भएको द्वन्द्वको एउटा कारण हो। २००७ देखि २०१० सम्म चलेको अनिकालले गर्दा करिब १५ लाख मानिस सहरतिर बसाईं सरेका थिए। जसले गरिबी मात्र होइन, अशान्ति पनि बढाइरहेको थियो।

अन्तर्राष्ट्रिय सहभागिता

शक्ति राष्ट्रहरुको सहयोग र ती देशको खुला हस्तक्षेपले सिरियाको गृहयुद्धमा ठूलो भूमिका खेलेको छ। सन् २०१५ मा रुसले सिरियाली सरकारको समर्थनमा सहयोग गर्न थालेपछि द्वन्द्वले नयाँ रुप लियो। शिया मुसलमान बहुल सरकारहरु इरान र इराक तथा लेबनानको हेजबुल्लाहले असदलाई सहयोग गर्दै आएका छन्। जबकि शुन्नीहरुको प्रभुत्व रहेको टर्की, कतार र साउदी अरबले विद्रोहीलाई सघाइरहेका छन्। सन् २०१६ यता टर्कीको सेनाले आतंकवादी समूह इस्लामिक स्टेट र कुर्दिशहरुविरुध्द सीमाक्षेत्रमा थुप्रै कारबाही चलायो। यी कारबाहीमा अमेरिकाले सैन्य सहायता गर्दै आएको छ।

अमेरिकाले असद विरोधी विद्रोही समूहहरुलाई पनि हतियार सहयोग गर्दै आएको छ। साथै इस्लामिक स्टेटविरुद्ध अन्तर्राष्ट्रिय गठबन्धनको पनि नेतृत्व गर्दै आएको छ। उता इजरायलले चाहिँ सिरियामा हेजबुल्लाह लक्षित भन्दै हवाई कारबाही चलायो। उसले सिरियाली सरकार  मर्थकहरुविरुद्ध कारबाही चलाउँदै आएको हो। गत फ्रेब्रुअरीमा मात्रै सिरियाली हवाई सेनाले इजरायलको युद्धक विमान खसालेको थियो।

अमेरिका र रुस

अमेरिकाले बारम्बार रुसले सिरियाली सरकारलाई सघाइरहेको भन्दै विरोध जनाउँदै आएको छ। अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले सिरियामा रसायनिक हतियार प्रयोग हुनसक्ने खतरालाई इंगित गर्दै त्यसो भएमा सैन्य हस्तक्षेप गर्ने चेतावनी दिएका थिए। सन् २०१७ को अप्रिलमा सिरियाली सेनाविरुद्ध अमेरिकाले पहिलोपटक सैन्य कारबाही गरेको थियो। रसायनिक हतियारको प्रयोग गरेको दाबी गर्दै उसले सिरियाली हवाई सेनाको आधार शिविरमा मिसाइल हानेको थियो।

सन् २०१३ मा सिआइएले सिरियाली विद्रोही सेनालाई हतियार सहयोग, तालिम र आर्थिक सहायताको कार्यक्रम चलायो। तर ५ सय मिलियन खर्च गरेर जम्मा ६० जना विद्रोहीलाई मात्र तालिम दिइएको खुलासापछि यो कार्यक्रम बन्द भयो। सन् २०१५ को सेप्टेम्बरमा रुसले सिरियामा ुआतंकवादी लक्षितु भन्दै इस्लामिक स्टेट र अमेरिकी सहयोग पाएका असदविरोधी समूहहरुमाथि बमबारी सुरु गर्योत। रुसले असदको सुरक्षा संयन्त्रलाई सघाउन सैन्य सल्लाहकारहरु समेत खटाएको छ। संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा रुस र चिनले पटकपटक सिरिया सम्बन्धी पश्चिमा समर्थित प्रस्तावहरुलाई भिटो प्रयोग गरी अस्वीकार गरेका छन्।

शान्ति वार्ता

सिरिया सरकार र विद्रोहीबीच युद्धविराम र राजनीतिक सहमतिका लागि शान्ति वार्ता नभएको होइन। तर, यी वार्ता अन्त्यमा राष्ट्रपति बसर अल असदमा आएर ठोक्किने गरेका छन्। संयुक्त राष्ट्रसंघको मध्यस्थतामा पहिलोपटक २०१२ मा जेनेभामा वार्ता भयो।

पछिल्लो पटक २०१७ को डिसेम्बरमा भएको वार्तापछि अर्को वार्ता भएको छैन। सो वार्तामा संक्रमणकालीन सरकारमा असदको भूमिकालाई लिएर कुरा नमिलेपछि वार्ता असफल भयो। सन् २०१७ मा रुस, इरान र टर्कीले सिरियाका ४ वटा क्षेत्र सिरियाली र रुसी युद्धक विमानहरु उड्न नपाउने गरी तय गरे। २०१८ को जनवरीमा सोच्चीको ब्ल्याक सी सहरमा रुसको सहयोगमा सिरियाको भविष्य सम्बन्धमा सम्मेलन आयोजना भयो। तर विद्रोहीहरुले राष्ट्रसंघको भूमिका कटौति गर्ने प्रयत्न भन्दै सम्मेलन बहिस्कार गरे।

विद्रोही समूहहरु

द्वन्द्व सुरु भएयता सरकारविरोधी थुप्रै समूहहरु युद्धरत छन्। फ्रि सिरियन आर्मी सन् २०११ मा सिरियाली सेनाबाट विद्रोह गरी निस्किएका सेनाहरु र अमेरिका, टर्की र अरु अरब राष्ट्रहरु समर्थित नागरिकहरुको असंगठित सञ्जाल हो। सन् २०१६ डिसेम्बरमा सिरियाली सेनाले रणनीतिक रुपमा महत्वपूर्ण सहर एलेप्पोमाथि पुनः कब्जा जमायो। यसलाई सिरियाली सरकारी सेनाको सबैभन्दा ठूलो जित मानिएको थियो। त्यसयता फ्रि सिरियन आर्मीले सिरियाको दक्षिणपश्चिमस्थित सीमित स्थानलाई नियन्त्रणमा राखेको छ।

सिरियाको दक्षिण र पूर्वी क्षेत्रमा सन् २०१३ मा इस्लामिक स्टेट अफ लेभान्टे ९आइसिल – आइसिसका रुपमा पनि परिचित० को उदय भयो। इराकमा यसको विशेष प्रभाव छ। यसका क्रूरतम क्रियाकलाप र कार्यकर्ता भर्तीका लागि सामाजिक सञ्जालको आक्रामक प्रयोगका कारण यसले छिट्टै अन्तर्राष्ट्रिय चर्चा पायो। सिरियामा युद्धरत अन्य समूहहरुमा जबह फतेह अल शाम, इरान समर्थित हेजबुल्लाह र कुर्दिश पिपल्स प्रोटेक्सन युनिट्सको प्रभाव रहेको सिरियन डेमोक्रेटिक फोर्सेज लगायत छन्।

सिरियाको हालको अवस्था

सिरियाका दुईवटा मोर्चामा हाल युद्ध केन्द्रित देखिन्छ । रुसी सेनाको युद्धक विमान सहयोग पाएको सिरियाली सेनाले विद्रोहीको पकड रहेको मानिएको पूर्वी गुटा क्षेत्रमा सयौं सर्वसाधारणको ज्यान जानेगरी आक्रमण जारी राखेको छ। पूर्वी गुटामा यही साता भएका आक्रमणमा सयौं बालबालिकाको मृत्यु भएपछि सिरिया युद्धले फेरि विश्व तताएको छ।

राजधानी दमास्कसनजिकै रहेको यो क्षेत्र २०१३ देखि विद्रोहीको पकडमा रहेको अन्तिम क्षेत्र हो। अमेरिकाले सिरियाली फौजले रसायनिक हतियार प्रयोग गरेको आरोप लगाइरहेको छ। टर्की र फ्रि सिरियन आर्मीले मिलेर गत जनवरीदेखि कुर्दिशहरुविरुद्ध दक्षिण पश्चिमी सिरियाको आफ्रिन शहरजनिकै सैन्य कारबाही चलाइरहेका छन्। हयात ताहरिर अल शाम विद्रोहीले पनि इद्लिबनजिकै फेब्रुअरी ३ मा रुसी सेनाको युद्धक विमान खसालेको दाबी गरेको छ।

अनुवाद तथा तस्बिरः एजेन्सीहरुबाट