प्रचण्डले माओवाद छोडेपछि एमालेसंग एकताको कुरा टुङ्गियो

एकीकृत पार्टीको केन्द्रीय समितिमा ९९ जना राख्ने  सहमति

नेकपा एमाले र माओवादी केन्द्रबीच एकताको अन्तिम खाका तयार भएको छ । दुर्इ पार्टीको उच्च तहमा भएको छलफलपछि नयाँ पार्टीमा दुर्इ अध्यक्ष राख्ने सहमतिसहित एकताको खाका भएको छ । बुधवार दिनभर केपी ओली र प्रचण्डबीच दुर्इ तीन चरणमा एक्ला एक्लै र आआफ्ना पार्टीमा अलग अलग छलफल गरी यो खाका टुङ्गो लागेको हो । दुबै पार्टीको बैठक आज दिनभर ललितपुरको कुमारीपाटीमा रहेको एक ठेकेदारको घरमा भएको थियो ।

 

के मा मिल्यो दुर्इ पार्टीको कुरा 

धेरै पटक नजिक आउँदै भत्किदै गरेको पार्टी एकताको प्रयास अन्तिममा प्रचण्ड र केपी ओलीको हैसियत समान हुने भनेपछि कुरा मिलेको हो । अन्तिममा मिलेको सहमति अनुसार अब केपी ओली र प्रचण्ड दुबै जना पार्टीको अध्यक्ष हुनेछन । दुर्इ अध्यक्ष मध्ये ओली सेरेमोनियल अध्यक्ष हुनेछन भने प्रचण्ड कार्यकारी अध्यक्ष हुनेछन् । ओली प्रधानमन्त्री हुने भएको हुनाले उनी सेरेमोनियल अध्यक्ष हुन सहमत भएका हुन् । नयाँ पार्टीमा दुर्इ अध्यक्ष बाहेक अरु कुनै पदाधिकारी पद नबनाउने कुरामा सहमति भएको छ ।

त्यसैगरी प्रधानमन्त्री र राष्ट्रपति दुबै पद एमालेले लगेको छ । एमालेबाट केपी ओली प्रधानमन्त्री हुनेछन भने राष्ट्रपति पनि एमालेबाटै बामदेव गौतम, झलनाथ खनाल, विद्यादेवी भण्डारी हुनसक्ने बताइएको छ । माओवादी केन्द्रले उपराष्ट्रपति र सभामुख बनाउनेछ भने उपसभामुख एमालेले नै लगेको छ । ओली प्रधानमन्त्री भए पनि उनी साढे दुर्इ वर्षमात्र प्रधानमन्त्री हुनेछन । दुर्इ पार्टीले प्रधानमन्त्री आलोपालो चलाउने सहमति गरेका छन् । साढे दुर्इवर्षपछि ओलीले सरकार छोडेर प्रचण्डलार्इ सुम्पनेछन् र उनी पार्टीको कार्यकारी अध्यक्षमा फर्कनेछन् ।

प्रचण्डले माओवादी पनि छोडे

जनयुद्ध छाडेर संसदीय व्यवस्थाको भासमा डुबेको भन्दै निकै आलोचना खेपेका प्रचण्डले अन्ततस् माओवाद पनि त्यागेका छन् । एकताका क्रममा प्रचण्डले माओवाद पनि छोडेपछि उनी निकटका नेताहरू नै असन्तुष्ट भएका छन् । नयाँ सहमति अनुसार अब पार्टीको राजनीतिक दर्शन मार्क्सवाद र लेनिनवाद मात्र रहनेछ ।

सहमतिको खाकामा पार्टीको कार्यदिशा समाजवाद उन्मुख हुने भनिएको छ । त्यसकै आधारमा कार्यदिशा निर्माण गरिने सहमतिमा उल्लेख गरिएको एक नेताले बताए । उनले दुर्इवटा कार्यदल बनाउने सहमति भएको पनि जानकारी दिए । एउटा कार्यदलले कार्यदिशा निर्माण गर्नेछ भने एउटा कार्यदलले संगठनात्मक संरचनाको खाका तयार गर्ने बताइएको छ । एकतापछि पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ राख्ने सहमति भएको छ । तर, यही नामको नेत्रविक्रम चन्द विप्लव नेतृत्वमा पार्टी छ । सो पार्टीले प्रचण्डले जनयुद्धमा धोका दिएको भन्दै नयाँ क्रान्तिको थालनीको घोषणा गर्दै विभिन्न कार्यक्रम गरिरहेको छ ।

यो सहमतिबाट उनीहरुले त्यो नाम जवरजस्त खोस्न खोजेको हो कि भन्ने देखाएको छ । त्यसैगरी नयाँ पार्टीको केन्द्रीय समिति ९९ जनाभन्दा बढी नबनाउने सहमति भएको छ । त्यस्तै नयाँ पार्टीको पोलिटब्यूरो ३३ र स्थायी कमिटी ११ सदस्यीय हुने सहमति भएको स्रोतले जनाएको छ ।

सहमति जुटाउन यस्तो गरियो

एमाले र माओवादीबीच हुने भनिएको पार्टी एकताको चरण(चरणमा आज वार्ता, सम्वाद र छलफल भयो । सुरुमा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच विहान करिब ११ बजे ‘वान टु वान’ वार्ता भएको थियो । आज दिनभरको वार्ता ललितपुरस्थित एक उद्योगी शारदाप्रसाद अधिकारीको घरमा बैठक बस्यो ।

दुवै नेताले पार्टी एकताका आधारभूत मोडल र सरकार गठनबारे खाका तयार पारे । सो खाका बोकेर दुई नेता पार्टीको आन्तरिक छलफलमा व्यस्त रहे । ओलीले आकस्मिकरुपमा सोही निवासमा पार्टी स्थायी समितिको बैठक बोलाएर व्रिफिङ गरे भने प्रचण्डले आफ्नो निवास खुमलटारमा पार्टीका नेताहरुलाई थाहा दिए । दुवै नेता पुनः ३ बजेतिर वान टु वान वार्तामा रहे र सो खाकामा सहमति कायम गरी पार्टी एकता संयोजन समितिको बैठक डाके । अहिले सोही खाकाबारे बेठकमा छलफल चलिरहेको छ । बैठकले एकताको अन्तिम खाका तयार पार्दैछ ।

एकीकृत पार्टीको केन्द्रीय समितिमा ९९ जना राख्ने  सहमति

एमाले र माओवादीका शीर्ष नेता एकीकृत पार्टीको केन्द्रीय समिति ९९ सदस्यीय बनाउन सहमत भएका छन् । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्ड २ अंकको केन्द्रीय समिति बनाउन सहमत भएका हुन् ।

हाल एमालेमा दुई सय र माओवादीमा करिव चार हजार केन्द्रीय सदस्य छन् । हिजो ललितपुरमा भएको ‘वान टू वान’ संवादमा ओली र प्रचण्ड पार्टी अन्तरिम विधान, राजनीतिक दस्तावेज र अन्तरिम संगठनात्मक ढाँचा बनाउन कार्यदल बनाउन पनि सहमत भएका छन् ।

सामान्य त कम्युनिष्ट पार्टीको पोलिटव्यूरो केन्द्रीय समितिको एक तिहाई हुन्छ । यदि ९९ सदस्य केन्द्रीय समिति बन्यो भने ३३ जनाको पोलिटव्यूरो हुनेछ र ११ जनाको स्थायी समिति बन्ने छ ।