प्रहरी नै चढ्छन् चोरीका गाडी

चोरीका सवारीसाधन (कार र मोटरसाइकल) पक्राउ गर्ने दायित्व प्रहरीको हो तर प्रहरी नै त्यस्ता सवारीसाधनको प्रयोगकर्ता बन्ने गरेको तथ्य प्रकाशमा आएको छ । केहीअघि सुदूरपश्चिमबाट बरामद गरिएका चोरीका ३४ सवारीसाधनमाथि केन्द्रित रहेर थालिएको अनुसन्धानमा १३ सुरक्षाकर्मीले त्यस्ता सवारीसाधन प्रयोग गर्दै आएको पाइएको स्रोतको भनाइ छ । उनीहरूलाई उन्मुक्ति दिने प्रयासअनुरूप मुद्दा फितलो पार्ने र अनुसन्धान प्रक्रिया गोप्य राख्ने प्रयास भइरहेको छ । सोही घटनामा अञ्चल यातायात कार्यालय, महाकालीका ७ कर्मचारी भने निलम्बनमा परिसकेका छन् ।

चोरीका सवारीसाधन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बरामद गरे पनि प्रहरीको चासो र सक्रियतामा ती सवारीसाधन बरामद भएका भने होइनन् । यातायात व्यवस्था विभागले किर्ते कागजातका आधारमा सवारीसाधन दर्ता गरिएको तथ्य फेला पारेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यसबारे जाहेरी गरेको थियो । मन्त्रालयबाटै जारी निर्देशानुसार प्रहरीले ती सवारीसाधन बरामद गरेको हो । गृह मन्त्रालयबाट समेत अनुसन्धान र कारबाहीका लागि निर्देशन भइसकेको छ ।

प्रहरीले चोरीका सवारीसाधन बेचबिखन गरेको आरोपमा दुई जनालाई पक्राउ गरे पनि ती सवारीसाधन प्रयोग गर्दै आएका सुरक्षाकर्मीलाई उन्मुक्ति दिँदै आएको छ । यहाँसम्म कि, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सुरक्षाकर्मीका साथबाट चोरीका सवारीसाधन बरामद भएको तथ्यसमेत लुकाएको छ ।

कञ्चनपुरका जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक प्रकाशबहादुर चन्दले बरामद चोरीका सवारीसाधन सुरक्षाकर्मीले प्रयोग गरेका थिए वा थिएनन् भन्ने प्रष्ट बताएनन् । हिमालय टाइम्ससँग उनले भने, ‘जो कोही पनि संलग्न भए हामी कारबाही गर्छौं ।’ उनले सुरक्षाकर्मीको संलग्नता नरहेको दाबी भने गर्न सकेनन् ।

स्रोतका अनुसार केही दिनअघि उपरीक्षक चन्दले नै उक्त घटनाका बारेमा महेन्द्रनगरस्थित गंगोत्री होटलमा राति करिब १० बजे सन्देहास्पद व्यक्तिसँग भेटघाट गरेका छन् । चोरीका सवारीसाधन कारोबार गर्ने गिरोहमाथिको कारबाहीमा यातायात मन्त्रालयकै विशेष चासो रहेपछि प्रहरीले बाध्यात्मक अवस्थामा कारबाही अघि बढाइरहेको स्रोतको दाबी छ । हाल सरकारी वकिलको कार्यालयमा बयान लिने र मिसिल तयार पार्ने काम भइरहेको छ । चोरीका सवारीसाधन प्रयोग गर्दै आएका सुरक्षाकर्मीलाई अझै किन विभागीय जिम्मेवारीमा राखिएको छ भन्ने तथ्य भने रहस्यमै छ ।

चोरीका सवारीसाधन प्रयोग गर्दै आएको भनिएका सुरक्षाकर्मीमा सशस्त्र प्रहरीका एक नायव उपरीक्षक र नेपाल प्रहरीका एक नायब उपरीक्षक पनि छन् । सशस्त्र प्रहरी नायव उपरीक्षक हर्कराज पन्त र इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक सुदीपराज पाठकका साथबाट चोरीका कार बरामद भएको स्रोतको भनाइ छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भने यसको पुष्टि गरेको छैन । जबकि, बरामद ९ वटा कार र २५ वटा मोटरसाइकल जिल्ला प्रहरी कार्यालय कञ्चनपुरकै हातामा छन् ।

केहीअघि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पत्रकार सम्मेलन गरी चोरीका ती सवारीसाधन बरामद भएको र दुईजनालाई पक्राउ गरिएको जानकारी दियो । कुन अवस्थामा कसका साथबाट ती सवारीसाधन बरामद भयो भन्ने विवरण भने अझै गोप्य राखिएको छ ।

प्राप्त जानकारीअनुसार सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) का असई केशवराज जोशी हवल्दारहरू धर्मसिंह भाट, पुस्कर भट्ट, पदम धामी, हरक कुँवर, सिपाहीहरू सुरज तिरुवा र मनोरथ भट्टका साथबाट पनि चोरीका मोटरसाइकल बरामद भएका छन् । त्यस्तै, कैलालीका ट्राफिक प्रहरी निरीक्षक दीपक पातलीसहित जनकराज ढुंगाना, कमलप्रसाद जोशी र केशवसिंह ऐरीका साथबाट पनि मोटरसाइकल बरामद भएको स्रोतको भनाइ छ ।

सुरक्षाकर्मीले व्यक्तिगत प्रयोग गर्दै आएका सवारीसाधनमध्ये केही अन्य व्यक्तिको नाममा दर्ता भएको पाइएको छ । सशस्त्र प्रहरी नायब उपरीक्षक पन्त र प्रहरी नायव उपरीक्षक पाठकका साथबाट बरामद भएका कार अरूकै नाममा दर्ता भएको पाइएको स्रोतले दाबी गरेको छ । बाँकी सुरक्षाकर्मीका साथबाट बरामद भएका सवारी साधन भने उनीहरुकै नाममा दर्ता गरिएको पाइएको छ । चोरीका सवारीसाधनको कारोबार गर्दै आएको भनिएका गोकुलप्रसाद श्रेष्ठको नाममा केही सवारीसाधन दर्ता भएको पाइएको छ भने केही उनकी पत्नीको नाममा समेत दर्ता भएको छ ।

महाकाली अञ्चल यातायात व्यवस्था कार्यालयका निमित्त प्रमुख हेमन्तबहादुर सिंहसहित मेनानिकल इञ्जिनियर दीपक थापा, नासु नरेन्द्रराज जोशी, तारादत्त भट्ट, र महादेव भट्ट तथा खरिदार केशवदत्त बडु र श्यामराज ओझालाई यसअघि नै निलम्बन गरिएको छ । किर्ते कागजात बनाई चोरीका सवारीसाधनलाई वैधता दिने भूमिका निर्वाह गरेको आरोपसहित उनीहरूलाई छानविनका लागि निलम्बन गरिएको हो । हिमालयटाइम्सबाट