चोरीका सवारी साधन किन्ने प्रहरी कसरी ‘निर्दोष’ !

काठमाडौं । चोरीका सवारी साधन (कार र मोटरसाइकल) खरिद गरी प्रयोग गर्दै आएका प्रहरी कर्मचारीबारे प्रहरीले आन्तरिक छानबिन थालेको छ । सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयले प्रहरी उपरीक्षकको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । भारतबाट चोरी गरेर ल्याइएका सवारी साधन किर्ते कागजात बनाएर यातायात कार्यालयमा दर्ता गराई बेचबिखन गर्दै आएको गिरोहका प्रमुख गोकुल श्रेष्ठलाई केही साताअघि प्रहरीले पक्राउ गरेपछि त्यस्ता सवारी साधन खरिद गर्नेमा प्रहरीहरू नै रहेको रहस्य खुलेको थियो । श्रेष्ठमार्फत सुदूरपश्चिममा चोरीका दर्जनौं सवारी साधन किनबेच भएको प्रहरीले जनाइसकेको छ ।

किर्ते कागजातका आधारमा दर्ता गरी चोरीका सवारी साधनलाई वैधता दिने कार्यमा संलग्न रहेको आशंकामा महाकाली यातायात व्यवस्था कार्यालयका सात कर्मचारी निलम्बनमा परिसकेका छन् । अन्य केही कर्मचारीसँग स्पष्टीकरण सोधिएको छ । त्यस्ता सवारी साधन सस्तो मूल्यमा खरिद गरी प्रयोग गर्दै आएका प्रहरीहरूलाई भने आफ्नो जिम्मेवारी कायम राख्दै अनुसन्धान अघि बढाइएको हो । चोरीका सवारी साधन खरिद गर्ने प्रहरीहरू ‘निर्दोष’ रहेको प्रहरीको प्रारम्भिक प्रतिक्रिया छ ।

सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय प्रमुख तथा प्रहरी नायब उपरीक्षक रोमेन्द्रसिंह देउजाले चोरीका गाडी प्रयोग गर्ने प्रहरीमाथि छानविन थालिएको बताए । ‘आन्तरिकरूपमा छानबिन भइरहेको छ’, उनले हिमालय टाइम्ससँग भने, ‘यसबारे अहिले थप केही भन्न सक्ने अवस्था छैन ।’ यद्यपि उनले चोरीका सवारी साधन प्रयोग गर्ने प्रहरीहरूलाई तत्काल ‘दोषी’ भनिहाल्न नमिल्ने बताए । ‘उनीहरू त पीडित हुन्, उनीहरूको पैसा फसेको छ, पैसा तिरेरै किनेका हुन्,’ उनले भने, ‘यातायात कार्यालयबाट पास भएका सवारी साधन चोरीका हुन् भन्ने कसरी थाहा हुन्छ र ? थाहा पाएको भए कसले किन्छ ?’

प्रहरीले नै चोरीका सवारी साधन बरामद गरेको र कारोबारीलाई गिरफ्तार गरेको तर्क गर्दै उनले प्रहरीको मिलेमतो रहेको आशंका गर्ने आधार नरहेको बताए । यातायात व्यवस्था विभागले भने यसअघि नै चोरीका सवारी साधन किनबेच भएको आशंका गरेको थियो । सवारी साधन दर्तामा कैफियत पाइएपछि विभागले नै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा जाहेरी गरेपछि मन्त्रालयले आन्तरिक छानबिन गरेको हो । छानबिनमा चोरीका सवारी साधन दर्ता गर्दै किनबेच भइरहेको तथ्य प्रकाशमा आएपछि मन्त्रालयले नै प्रहरीलाई ती सवारी साधनको विवरण उपलब्ध गराएको मन्त्रालय स्रोत बताउँछ ।

सोही विवरणका आधारमा प्रहरीले कैलाली, कञ्चनपुरलगायतका जिल्लाबाट ९ वटा कार र २५ वटा मोटरसाइकल नियन्त्रणमा लिएको थियो । ती सबै सवारी साधन किर्ते कागजात तयार पारी यातायात कार्यालयबाट दर्ता गरेको पाइएको छ । तीमध्ये १३ वटा सवारीसाधन सुरक्षाकर्मीले खरिद गरी निजी प्रयोजनमा प्रयोग गर्दै आएको समाचार हिमालय टाइम्स दैनिकले साउन १० गते प्रकाशित गरेको थियो ।

स्रोतका अनुसार चोरीका सवारी साधन (कार) प्रयोग गर्नेमा औद्योगिक सुरक्षा बल अत्तरियाका सशस्त्र प्रहरी नायब उपरीक्षक हर्कराज पन्त र इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक सुदीपराज पाठक रहेका छन् ।

यस्तै, चोरीका मोटरसाइकल प्रयोग गर्नेमा सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) का असई केशवराज जोशी हवल्दारहरू धर्मसिंह भाट, पुस्कर भट्ट, पदम धामी, हर्क कुँवर, सिपाही सुरज तिरुवा र मनोरथ भट्ट छन् । ट्राफिक प्रहरीका प्रहरी निरीक्षक दीपक पातलीसहित जनकराज ढुंगाना, कमलप्रसाद जोशी र केशवसिंह ऐरीले पनि चोरीका सवारी साधन खरिद गरेको स्रोत बताउँछ ।हिमालयटाइम्सबाट