यसरी सेटिङ मिलाएर भित्रिन्छन् नेपालगन्ज भन्सारमा करोडौँको मेसिन

कर्मचारी नै मिलाउछन सुटुक्क सेटिङ

नेपालगन्ज भन्सार कार्यालयमा कर्मचारीहरूकाे मिलाेमताेमा कराेडाैँका सामान भन्सार छलि गरेर भित्रिने गरेकाे तथ्य फेला परेकाे छ । कर्मचारीकाे आपसी मिलोमतोमा झण्डै कराेड रुपैया मुल्य पर्ने मेसिनहरू र त्यसका पार्टसहरू भित्रिंने गरेकाे तथ्य फेला परेका हाे । गत शनिवार मात्रै राति करिब ११ः३० बजेको समयमा संघीय प्रहरी ईकाइ कार्यालय नेपालगन्जले भन्सार छली गरि मिलोमतोमा भित्रिँदै गरेको करिब ७० लाखकाे मेसिन कब्जा गर्याे ।  सामाग्री बारे गोप्य सूचनाको आधारमा कारवाही गरी मेसिन बरामद गरेको हो । तर यस्ता सामान दिनानुदिन भन्सार कर्मचारीकै मिलाेकताेमा भित्रिने गरेकाे तथ्य फेला परेकाे छ ।

यसरी भित्रिन्छन सामानहरू

कर्मचारीहरू पहिला नै सुपारी बुझ्छन । अाउदै गरेकाे सामानकाे बारेमा जानकारी मात्रै हैन भारतबाट खरिद समेत अाफनाे अनुकुलमा मिलाउछन । आउने र जाने सामान्य सामान र सर्वसाधारणलार्इ  कर्मचारीले चेकजाँच कडा ढंगले गर्छन तर ठुला ब्यपारी र तस्करका सामाग्रिहरूमा भने अाैपचारीकता पुरा गर्छन र सुटुक्क भन्सार कर नतिरेरै भित्रिन्छन । 

गत शनिबार मात्रै ‘युपी ३६ टी ७३०७ नं.को भारतीय ट्रकमा भित्रिँदै गरेको सामाग्री बारे भन्सारी छली गरि पैठारी गरिरहेको सूचनाको आधारमा कारवाही गर्दा विना भन्सार करिब ७० लाख रुपैया पर्ने मेसिन र त्यसमा प्रयोग हुने सामाग्री बरामद भएको हो’, प्रहरी श्रोतले भन्यो, ‘भन्सार नगरेको र रातिको समयमा मेसिन निकासी गर्ने सूचना प्राप्त भएको थियो । मेसिन कसको र कति रकम बराबरको भन्ने विषयमा अझै अनुसन्धान भइरहेको संघीय प्रहरी ईकाइ कार्यालय नेपालगन्जका प्रहरी प्रमुख एसएसपी महेशविक्रम शाहले जानकारी दिए । उनले भने, भन्सार नगरेको पाइएकोले नियन्त्रणमा लिइएको हो ।’

ट्रक चलाउँदै आएका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान कार्य अघि बढाएको छ । यसबारे प्रतिक्रियाका लागि भन्सार प्रमुखलाई गरिएको सम्पर्क प्रयास सफल हुन सकेन । तस्करी कार्यमा संलग्न व्यवसायी र भन्सार कर्मचारीबारे  थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

झण्डै दुई करोडको खुद्रा तस्करी

नेपालगन्ज भन्सार भएर भित्रिएको र कर नतिरेका कारण प्रहरीले बरामद गरेको खुद्रा तस्करीकै अनुपात झण्डै दुई करोड रहेको पाइएको छ । भारतीय क्षेत्रबाट उपभोग्य, कपडाजन्य वा सामान्य कास्मेटिक सामाग्रीहरु बरामद गरेर प्रहरीले राजश्व कार्यालयमा बुझाउँदै आएको विवरण दुई वर्षमा एक करोड ९५ लाख २८ हजार ४३ रुपैया पुगेको छ ।

भन्सारमा भइरहेको आर्थिक चलखेल बारे विभिन्न तथ्यहरु बाहिर आइरहँदा प्रहरीले उपलब्ध गराएको तथ्याँकले अझ सेटिंगको प्रक्रियालाई प्रष्ट पारेको छ । ‘साइकल रिक्सा, टांगा, ईरिक्सा मोटरसाइकल लगायतबाट बरामद भएको सामाग्रीको मुल्य हो’, जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार  सवारी साधन चेकजाँचका क्रममा कर नतिरेको पाइएपछि कारवाहीका लागि बरामद गरिएको हो ।

 सुरक्षा निकायकाे काम सिटि फुक्ने र अाैपचारीकता पुरा गर्ने मात्रै

नेपालगन्ज भन्सारमा  नेपाल प्रहरी, सशस्त्र प्रहरी,लगायतका बिभिन्न सुरक्षा निकायहरू छन ।  राजश्व गस्ती, भन्सार कर्मचारी, राष्ट्रिय अनुसन्धान लगायतकाे बिभिन्न बहानामा सुरक्षा नामकाे गस्ती दिइरहेकाे हुन्छ । तर सामान दिनदाहाडै भित्रिन्छ । उनिहरूकाे काम सिटि फुक्ने र अाैपचारीकता पुरा गर्ने मात्रै भएकाे छ । साइकल रिक्समा अाएकाे सर्वसाधारणकाे राेजीराेटीमा बाहेक ठुला तस्करहरूलार्इ समात्ने नगरेकेा पाइएकाे छ । 

सामान तस्करी आशंकाकाे घेरामा कर्मचारी 

नेपालगन्ज भन्सार नाका भएर भित्रिएको ट्रकमा लोड रहेको मिशिनरीलाई कर्मचारीले चेकजाँच र जाँच पास विनानै नेपालगन्ज भित्र्याएपछि संघीय प्रहरी इकाई कार्यालय नेपालगन्जले बरामद गरी कारवाही अघि बढाएको छ । तर तस्करी सामानमा कर्मचारीकै संलग्नता रहेकाे अाशंककामा कर्मचारीहरूलार्इ नै अनुसन्धानकाे घेरामा राखिएकाे बताइएकाे छ । 

भन्सारमा रहेका कर्मचारीले चेकजाँचपछि ट्रक जान दिनुस् भनेपछि छाडिएको थियाे । ट्रक सहजै छाेडनुस भन्नुमा कर्मचारीकाे हात रहेकाे प्रहरीकाे दावी छ । कर्मचारीसंग पूर्व मिलोमतो र योजना रहेको प्रारम्भिक अनुसन्धानबाट तथ्य बाहिर आएको प्रहरीकाे । भन्सार कर्मचारीबाट चुक भएपनि मिलोमतो नभएको दावी गर्दै नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन आचार्यले घटना बारे जाँच गर्न तीन सदस्यीय समिति गठन गरिएको बताएका छन  । पश्चिम नेपालको मुख्य नाकाको रुपमा रहेको नेपालगन्ज भन्सारबाट पछिल्लो समयमा ठूलो परिमाणको राजश्व छलीका घटना बाहिर आउन थालेका छन् ।नेपालगन्जमा कुनै सामाग्री वैधानिक ढंगबाट ल्याउनका लागि ७ किसिमको चेकजाँचबाट निस्कन पर्छ । भन्सार कार्यालयका अनुसार, ट्रकमा आएको सामाग्री बाहेक सबै सामाग्री जमुनाहा, पुरानो भन्सार, चौलिक्का चोक, जयसपुरमा ७ किसिमका फरक फरक अधिकारीहरु चेकजाँच गर्छन् । 

तस्करीका लागि कर्मचारीहरू सिसिक्यामरा नै बिगारी दिन्छन

भन्सार कार्यालय बाट चुस्त सेवा प्रवाह र पारदर्शिता हुने उद्देश्यले दुई वर्ष अघि जडान गरिएकाे सिसि क्यमरा कर्मचारीहरूले बिगारेकाे पाइएकाे छ । अहिले सिसि क्यामरा देखावटी मात्रै भएकाे छ ।  सिसिटिभी क्यामरा पछिल्लो तीन महिना देखि बिग्रिएको  छ ।

दुई वर्ष अघि भन्सार विभागले जडानका लागि ब्यवस्था गरेको क्यामरा चेकजाँच हुनु पर्ने स्थानमा बिग्रिएको पाइएको हो । भन्सार अघि खासगरि कर्मचारीले चेकजाँच गर्ने स्थानमा क्यामरा यसरी बिग्रनुमा कर्मचारीकाे हात रहेकाे हुनसक्ने बताइएकाे छ । भन्सार क्यामरा आफै बिग्रियो र त्यसलार्इ बिगारिएको हो भन्ने विषयमा अझै प्रष्ट नरहेको श्रोतको दावी छ । सिमा प्रवेश पछि पुरानो भन्सार सम्मको काम निगरानी गर्न वा जाँच गर्न आवश्यक परेको महत्वपूर्ण मानिएको सिसिटिभी क्यामरा बिग्रएको फेला परेपछि जाँच समितिले के गर्ने भन्ने अन्योलता बढेको बताइएको छ । मुख्य स्थानको फुटेज क्यामरामा नरहनुकाे कारण क्यामरा बिगारेकाे  हुनसक्ने पाइएकाे छ  । क्यामरा बिभिन्न ६ स्थान जडित छन ।