बै‌ंकहरूमा किन बढ्दैछ जोखिम ?

आधुनिक बैंकिङको प्रयोग बढेसँगै वित्तीय क्षेत्रमा सञ्चालन जोखिम पनि तीव्र रूपमा बढेको छ। विगतका वर्षहमा ऋणको जोखिम (क्रेडिट रिस्क) उच्च रहँदै आएकामा पछिल्लो समय सञ्चालन जोखिमले उछिनेको छ। कमजोर सुशासन, सूचना प्रविधिमा पर्यापत ध्यान नदिनु, सुरक्षा संयन्त्रहरूमा न्युन प्राथमिकतालगायत कारण सञ्चालन जोखिम बढ्दै गएको बैंकरहरू बताउँछन्।

उनीहरूका अनुसार आत्रामक रूपमा कार्यसञ्चालन विस्तार र बढ्दो इन्टरनेट बैंकिङको प्रयोगले सञ्चालन जोखिम बढ्दै गएको हो। यद्यपि यस्तो जोखिम नेपालमा मात्र नभएर विश्वव्यापी रूपमा बढ्दै यएको उनीहरूको भनाइ छ। बैंकको कारोबार प्रणाली (सफ्टवेयर) ह्याक गरी पैसा निकाल्नु, एटीएमको पासवर्ड चोरी गरी पैसा हिनामिना हुनु, कर्मचारीको मिलेमतोमा रकम चोरी हुनुलगायत घटना नेपाली बैंकिङ क्षेका लागि नौलो होइन। पछिल्ला वर्ष त्यस्ता घटना झन बढ्दै गएका छन्। पछिल्लो उदाहरणको रूपमा एनआईसी एसिया बैंकको ‘स्विफ्ट ह्याक’ गरी रकम चोरी भएको घटनालाई लिन सकिन्छ।

त्यस्ता जोखिम न्युनीकरणकालागि स्वयं बैंकहरू सचेत हुनुपर्ने बैंक अफ काठमाण्डुका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तले बताए। ‘बैंकिङ क्षेत्र प्रविधिसँग सम्बन्धित भएकाले प्रविधि सुरक्षामा बढी जोड दिनुपर्ने देखिन्छ’, पन्तले भने, ‘यसका लागि स्विफ्टबाट सिफारिस भएका मादण्डहरू निरन्तर रूपमा अद्यावधि क गर्नुपर्छ।’ यस्ता घटना जुनसुकै बेला आउनसक्ने भएकाले आफ्नो सुरक्षाका लागि सचेत हुनुपर्ने उनको भनाइ छ। बैंक तथा वित्तीय संस्थाले मानव संशाधनको विकास र प्रविधिमा लगानी गर्न कञ्जुस्याइँ गरेकै कारण सञ्चालन जोखिम बढ्दै गएको नेशनल बैंकिङ इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बाको ठम्याइ छ।