नेपाली गैंडाको सुरक्षामा भारतका कर्मचारी परिचालन

पालबाट बाढीले बगाएर लगेका एकसिंगे गैँडा भारतको वाल्मीकि टाइगर रिजर्भमा अझै कम्तीमा पाँचवटा रहेको त्यहाँका अधिकारीहरुले बताएका छन्। रिजर्भका डिपुटी डाइरेक्टर अमितकुमारका अनुसार रिजर्भका विभिन्न ठाउँमा ती गैँडा पुगेका छन्। रिजर्भबाट बिहीबार सातौँ गैँडा उद्धार गरी चितवन राष्ट्रिय निकुञ्ज ल्याउने क्रममा सँगै आएका अमितकुमारले कम्तीमा पाँचवटा गैँडा विभिन्न क्षेत्रमा देखिएको जानकारी दिए।

उनका अनुसार सीमा क्षेत्रबाट करिब ७० किलोमिटर पर उत्तर प्रदेशको पिप्रासीमा एउटा, वाल्मीकि नगर क्षेत्रमा दुईवटा, सीमाबाट ४० किलोमिटर पर मदनपुरमा अर्को एउटा गैँडा भेटिएको छ। यसबाहेक नेपालको नर्सहीबाट गण्डक नहर पार गरेर दुईवटा गैँडा भारततर्फ पुगेका छन् भने अन्य स्थानमा पनि गैँडा भएको हुनसक्ने उनले बताए।

ती दुई गैँडा भने सीमा वारपार गरिरहेका छन्। तीबाहेक नै कम्तीमा पाँच गैँडा भारतमा रहेको अनुमान गरिएको छ। ती गैँडालाई २०० सुरक्षाकर्मी र कर्मचारीले सुरक्षा दिइरहेका छन्। उनका अनुसार २० वटा गाडी, दुईजना डिपुटी डाइरेक्टर र पाँचजना रेञ्जर गैँडाको सुरक्षामा खटिएका छन्। उनले भने,‘संरक्षणको क्षेत्रमा इतिहासमा पहिलोपटक नेपाल र भारतको संयुक्त प्रयासमा यो काम भइरहेको छ ।’

गैँडा नियन्त्रणमा लिन अरु १५० जना भारतीय कर्मचारी र सुरक्षाकर्मी दिनहुँ खट्ने गरेको पनि उनले बताए। रिजर्भका अन्य क्षेत्रमा पनि गैँडा रहेको आशंकामा खोजी कार्यलाई तीव्रता दिइएको छ। एक दिन भारततर्फ देखिने र अर्को दिन नेपालतर्फ आइपुग्ने हुँदा यकिन कति गैँडा भारतमा छन् भन्न नसकिएको पनि अमित कुमारले बताए।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार बिहीबार एउटा पूर्ण वयस्क पोथी गैँडा निकुञ्जमा ल्याइएको छ। वाल्मीकि टाइगर रिजर्भमा डार्ट गरेर उक्त गैँडा ल्याइएको हो। यो गैँडासहित भारतबाट उद्धार गरी ल्याइएका गैँडाको संख्या सात पुगेको छ। नेपाल–भारतको सिमानाभन्दा १५ किलोमिटर टाढा भारतको भेडीपारिमा पुगेको गैँडाको उद्धार गरी चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको हो।

गैँडाको उद्धारका लागि तीनवटा हात्तीसहित ३० जना नेपाली प्राविधिक टोली परिचालन गरिएको छ। वाल्मीकि टाइगर रिजर्भ नेपाली सीमा क्षेत्रको भारतको आरक्ष हो जहाँ दुर्लभ वन्यजन्तु गैँडा भने पाइँदैनन्।

वनको संरचनाको हिसाबले त्यो ठाउँ गैँडाका लागि उपयुक्त मानिँदैन। बाढीपछिको १५ दिनमा चितवन राष्ट्रिय निकुञ्जबाट बगाएका १० वटा गैँडाको उद्धार गरिएको छ। जसमध्ये सात भारतबाट र तीन नेपालका त्रिवेणी क्षेत्रबाट उद्धार गरिएको हो। बाढीकै कारण दुईवटा गैँडा मृत भेटिएका थिए। चितवन निकुञ्जको आसपास हुँदै बग्ने राप्ती, रियु र नारायणी नदीले गैँडा बगाएको थियो। उद्धार गरिएका गैँडालाई चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरबाट छाडिएको छ।