१५ वर्षपछि सौराहा डुब्यो, हात्ती र सेनाले यसरी गरे पर्यटकको उद्धार

राप्ती र बुढी राप्ती खोला उर्लंदा पर्यटकीय नगरी सौराहा डुबानमा परेको छ। आइतबार बिहानदेखि डुबानमा परेको यस क्षेत्र दिउँसो ४ बजेबाट पानीको सतह कम हुँदै गएको छ। डुबानबाट सौराहाका अधिकांश होटलमा पानी पसेको व्यवसायीहरु बताउँछन्। क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार, सयभन्दा बढी होटल डुबानमा परेका छन्।

२०५९ पछिको ठूलो बाढी सौराहामा पसेको व्यवसायीहरु बताउँछन्। बाढीको कारण करोडौंको क्षति भएको छ। अध्यक्ष घिमिरे भन्छन्, ‘निरन्तरको बाढीका कारणले हामीले क्षतिको अवस्था बुझ्न सकेका छैनौं, तर, करोडौंको क्षति भएको छ।’ सौराहा र आसपासमा रहेका रिर्सोट र होटलहरु पनि डुवानमा परेका छन्। रातको समयमा पानीको सतह अकस्मात बढेपछि कतिपय स्थानीय र पर्यटक भाग्न सकेका थिएनन्। होटलका छतमा पुगेर पर्यटकले ज्यान जोगाएका छन्।

हात्ती र सेनाले गरे पर्यटकको उद्धार

सौराहाका पर्यटकको हात्तीद्धारा उद्धार गरिएको छ। त्यस्तै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टिमले पनि पर्यटक र स्थानीयबासीको उद्दार गरेका थिए। बिचल्लीमा परेका पर्यटकलाई हात्तीको माध्यमबाट उद्दार गरिएको अध्यक्ष घिमिरेले जानकारी दिए।

तीन जनाको मृत्यु

अविरल वर्षापछि खोलामा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ। इच्छाकामना गाउँपालिका– ३ स्थित बारबाङ खोलाले बगाएर स्थानीयवासी २२ वर्षीय कमल भनिने समनबहादुर प्रजाको मृत्यु भएको हो। शनिबार साँझ खोलाले बगाएर बेपत्ता भएका उनको आइतबार बिहान शव फेला परेको चितवन प्रहरीले जनाएको छ। राप्ती नगरपालिका-८ स्थित पम्फाखोलाले बगाउँदा ३५ वर्षीया गुमाकुमारी रानामगरको मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै राप्ती ६ प्यारी ढापमा गए राती घर भत्कदाँ ७४ वर्षीय फुलमती प्रजाको च्यापिएर मृत्यु भएको छ।

सांसद पाण्डे तथा मेयर फिल्डमा

चितवन-१ का सांसद तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे बाढी पिडितको उद्धारमा खटिएका छन्। पाण्डेले सौराहामा रहेका पर्यटकको उद्दारका लागि नेपाली सेना, शसस्त्र प्रहरी र व्यवसायीहरुसँग आग्रह गरेका थिए। पर्यटकलाई सुरक्षित ठाउँमा लैजानु आफूहरुको पहिलो कर्तव्य हुने भन्दै सांसद पाण्डेले सुरक्षा निकायलाई पर्यटकको उद्दारमा विशेष ध्यान दिन आग्रह गरेका थिए। यस्तै मेयर रेणु दाहालले पनि बाढी प्रभावित क्षेत्रमा गएर उद्दारमा खटिएकी थिइन्। साथै मेयर रेणु दाहालको पहलमा चितवनको जगतपुरमा रहेको बाल गृहबाट दुई सय ५० बालबालिकासहित चार सय स्थानीयबासी हरुलाई हेलीकोप्टरबाट उद्धार गरी भरतपुरको मुनलाइट स्कुलमा राखिएको छ।

जोखिमक्षेत्रको अनुगमन

चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, प्रहरी प्रमुख एसपी दिपक थापा, भरतपुर महानगरकी मेयर रेणु दाहाल, स्थानीय विकास अधिकारीलगायतले आइतबार चितवनमा बाढीबाट प्रभावित स्थानहरुको अनुमगन गरेका छन्।

जिल्लाका राप्ती, बूढीराप्ती, रिउ, लोथर, कयरलगायत खोला बढेर बस्तीमा पसेसँगै जनजीवन प्रभावित भएको छ। अनुगमनका क्रममा उनीहरुले सुरक्षित स्थानमा वस्न प्रभावितहरुलाई आग्रह गरेका थिए।

निरन्तरको वर्षाका कारण विद्यालय बन्द

अविरल बर्षाका कारण चितवनका विद्यालयहरु आज आइतबार बन्द भएका छन्। जिल्ला शिक्षा अधिकारी गोविन्द अर्यालका अनुसार निरन्तरको वर्षाले कतिपय विद्यालयमा पानी जमेको, बाटो अवरुद्ध भएको कारणले सट्टे विदा मिलाउने गरी विदा गर्न भनिएको थियो।

सामान्य नारायणी

चितवनका अन्य खोलाहरु राप्ती, बुढी राप्ती, रिउ आदि उर्लदा यहाँको जनजीवन नै प्रभावित बनेकोमा सबै भन्दा ठूलो नदी नारायणी भने उग्र देखिएन। अघिल्लो वर्षहरुमा अन्य नदी तथा खोलाको तुलनामा नारायणीमा उच्च बहाव रहने गरेकोमा यस पटक अर्लट लेभलबाट तल नै रहेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।