‘राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक’ मा को–को छन् सांसदहरू ?

राष्ट्रवादी शक्ति निर्माण गर्ने उद्घोषका साथ एकीकरण भएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल नौ महिना नपुग्दै विभाजित भएको छ । एकीकृत पार्टीका अध्यक्ष कमल थापाप्रति असन्तुष्ट रहँदै आउनुभएका वरिष्ठ नेता पशुपति शमशेर राणाको अध्यक्षतामा नयाँ दल ‘राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको छ । गोरखापत्र दैनिकले समाचार छापेको छ ।

आयोगमा नयाँ दल दर्ताका लागि वरिष्ठ नेता राणासहितका अन्य नेताहरू आइतबार निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथ पुग्नुभएको थियो । आयोगका कर्मचारीहरूले साढे आठ बजेसम्म बसेर दल दर्ताका लागि निवेदनमा हस्ताक्षर गर्नुभएका केन्द्रीय सदस्य तथा व्यवस्थापिका–संसद्का सदस्यहरूको हस्ताक्षर सनाखत गराउनुभएको थियो ।

आयोगका उपन्यायाधिवक्ता घनश्याम ओझाले गोरखापत्रसँग कुरा गर्दै भन्नुभयो, ‘‘राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३२ को उपदफा २ बमोजिम राप्रपा नेपालबाट विभाजित भई नयाँ दल दर्ताका लागि निवेदन दर्ता गरिएको छ, केन्द्रीय समिति र संसदीय दलको ४० प्रतिशत सदस्यको हस्ताक्षर रहेको छ, हस्ताक्षर सनाखत गर्ने क्रम जारी छ । ’’

२०७३ साल मङ्सिर ६ गते एकीकरणको घोषणा भएको र फागुन ६ गते एकता महाधिवेशनबाट निर्वाचित हुनुभएका अध्यक्ष कमल थापाले केही दिनअघि ४२ जना केन्द्रीय सदस्यलाई मनोनीत गरेपछि वरिष्ठ नेता पशुपति शमशेर राणा केही दिनअघि बसेको पार्टीको बैठकमा समेत अनुपस्थित हुनुभएको थियो । अध्यक्ष थापाको कार्यशैली र वर्तमान सरकारमा सहभागी हुने वा नहुने विषयमा विवाद चुलिँदै गएपछि राप्रपा नेपाल विभाजित भएको हो ।

पशुपति शमशेर राणाको नेतृत्वमा व्यवस्थापिका–संसद्का २२ जना सांसद र ७५ जना केन्द्रीय सदस्यले नयाँ दल दर्ताका लागि निवेदन दिनुभएको जानकारी राणाको नेतृत्वमा गठित नयाँ दल ‘राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक’ नेताहरूले दिनुभएको छ ।

आयोगका शाखा अधिकृत घमचन्द्र तिम्सिनाले २२ जना सांसदसहित ७२ जना केन्द्रीय सदस्यको हस्ताक्षर रहेकोमा १९ जना सांसदसहित ६४ जनाको हस्ताक्षर खनाखत आइतबार भएको र बाँकी अन्य सदस्यहरू सोमबार आउने जानकारी नेताहरूले दिएको बताउनुभयो ।

पार्टीको विभाजनप्रति टिप्पणी गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाको ट्वीट्मा ‘‘एकता महाधिवेशन सम्पन्न भएको छ महिना नपुग्दै पार्टी फुटाउने काम दुर्भाग्यपूर्ण, अधिकांश हस्ताक्षर नक्कली, विचलित नहुन कार्यकर्तालाई आह्वान’’ भनी उल्लेख छ । यसैगरी, अर्का वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दका छोरासमेत रहनुभएका नेता जयन्त चन्दले पनि विभाजनप्रति केही भन्न चाहन्नँ, अचानक नयाँ दल दर्ता गरिएको प्रतिक्रिया दिनुभएको छ ।

नयाँ दलका नेता राजाराम श्रेष्ठका अनुसार, नयाँ दलका हस्ताक्षर गर्ने सांसदहरूमा दलमा तीन निर्वाचित सांसद सुनिल थापा, दीपक बोहोरा र विक्रम पाण्डे पनि हुनुछन् । थापा राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक अध्यक्ष सूर्यबहादुर थापाका छोरा हुनुहुन्छ ।

नयाँ दलका नेता राजाराम श्रेष्ठका अनुसार, अन्य सांसदहरूमा आनन्दी पन्त, विराज विष्ट, सीता लुइँटेल, कमलादेवी शर्मा, धानो महरा, राजेश्वरी देवी सिंह, रेशमबहादुर लामा, शयन्द्र वान्तवा मोरङ, रमेशकुमार लामा, सरोजा शर्मा, गीता सिंह, रामकुमार सुब्बा, लीलादेवी श्रेष्ठ, बबिना मोक्तान, इस्तियाक अहमद खान, राज्यलक्ष्मी श्रेष्ठ, लक्ष्मी थापा पासवान, कमलादेवी शर्मालगायत हुनुहुन्छ ।

अधिकांश सांसदले आइतबार साँझबाटै आफ्नो मोबाइल स्वीच अफ गर्नुभएको थियो । यता जगत गौचनका अनुसार हस्ताक्षर गर्ने सांसदमा परशुराम तामाङसमेत हुनुहुन्छ ।

संसद्मा २४ सांसद रहेको राप्रपा नेपाल र १३ सांसद रहेको राप्रपाबीच गत मङ्सिर ६ गते पार्टी एकता घोषणा भएको थियो । पार्टी एकता भएको लगत्तै डा. प्रकाशचन्द्र लोहनीले एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी निर्वाचन आयोगमा दर्ता गर्नुभएको छ ।