भरतपुर मुसा त लागेनन् मतपत्रमा!

मध्यरातमा मतपत्र च्यातिएसँगै भरतपुर महानगरपालिकाका गणना सकिएका र गन्न बाँकी मतपत्र ४४ दिनदेखि प्रहरी घेरामा छन् । यस प्रकरणमाथिको मुद्दामा सर्वोच्चको सुनुवाइ सर्दै गएकाले अब के गरिने हो भन्ने अन्योल झन्झन् बढदै गएको छ । गणना हुने हो वा पुन: मतदान भन्नेबारे कुनै टुंगो लाग्न सकेको छैन । सोमबार हुने भनिएको सुनुवाइलाई सर्वोच्चले फेरि साउन २ का लागि सारेको छ । यो खबर आजको कान्तिपुरमा  छ।

जेठ १४ गते राति गणनाकै क्रममा माओवादी केन्द्रका प्रतिनिधिद्वारा मतपत्र च्यातिँदा वडा नम्बर १९ र २० को मत गन्न बाँकी थियो । १९ मा २ हजार ८ सय ९७ मत खसेकोमा १ हजार ८ सय मत मात्र गणना भएको थियो । गणना जारी रहेकै बेला मतपत्र च्यात्ने माओवादी केन्द्रका दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गर्‍यो । गणना रोकियो । २० नम्बर वडामा ३ हजार ३ सय २ मत खसेको थियो ।

भरतपुरको कभर्ड हलमा गणना गरिएको हो । पहिले हलको आसपास क्षेत्रलाई निषेधित घोषणा गर्दै प्रहरीले घेरा हालेको थियो । अहिले कभर्ड हलसँग जोडिएको ठाउँमा मात्र प्रहरीले सुरक्षा दिएर बसेको छ । ४४ दिनदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी मतपत्रको सुरक्षा गरिरहेका छन् । हलमा मुसा लाग्छ । तर मतपत्र के भएको छ भनेर बाहिरबाट मात्र प्रहरीले हेर्छन् । गेटमा ताला लगाइएको छ । प्रहरी निरीक्षकको कमान्डमा सुरक्षाकर्मी परिचालित छन् । जनपदका ५० र सशस्त्रका २५ प्रहरी चौबीसै घण्टा खटिने गरेका छन् । उक्त क्षेत्र नजिक सवारी साधन रोक्न पाइँदैन । बाटो हिँड्ने बटुवा कभर्ड हलतिर एक नजर नलगाई गन्तव्यतिर जाँदैनन् । कभर्ड हलमा कर्मचारी, व्यापारी, चिकित्सक बिहान ब्याडमिन्टन खेल्न जम्मा हुन्थे । अहिले खेल गतिविधि रोकिएको छ । ‘मतपत्र च्यातिएयता मतपेटिका र गणनास्थलको सुरक्षा गरिरहेका छौं,’ जिल्ला प्रहरीका प्रमुख एसपी दीपक थापाले भने, ‘दिउँसो आउजाउमा केही खुकुलो गरे पनि राति सुरक्षा सतर्कता बढाउने गरेका छौं ।’ अन्तिम मत परिणाम नआउँदासम्म मतगणनास्थलको सुरक्षा प्रहरीले गर्ने उनले बताए ।

गणनाका क्रममा ९० वटा मतपत्र च्यातिएको थियो । निर्वाचन आयोगले पुन: मतदान गर्नुपर्ने निर्णय गरे पनि १९ नम्बर वडामा एमालेका वडा सदस्यका उम्मेदवार गुञ्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले च्यातिएका मतपत्र बदर गरी बाँकी मतगणना माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । सोमबारका लागि रिटको सुनुवाइ राखिए पनि फेरि सरेको छ । न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासले समय अभावको कारण देखाउँदै साउन २ गतेका लागि सुनुवाइ सारेको हो ।

मेयर पदमा एमालेका देवी ज्ञवाली र माओवादी केन्द्रकी रेणु दाहाल प्रतिस्पर्धामा थिए । गणनाको अन्तिम नतिजा आउँदासम्म एमालेका ज्ञवाली माओवादीकी दाहालभन्दा ७ सय ३३ मतले अघि थिए । २९ वडामध्ये २७ वटा वडाको गणना भइसकेको छ । एमालेले गणना माग गर्दै आएको छ भने कांग्रेस र माओवादीले नियमअनुसार पुन: मतदान हुनुपर्ने अडान लिएका छन्।

समयमै मत परिणाम नआउँदा मतदाता मात्र होइन, विभिन्न वडामा निर्वाचित जनप्रतिनिधिसमेत निराश छन् । उनीहरूका लागि कार्यालय तयार छ । तर न काम गर्न पाएका छन् न त शपथ नै लिन । सबैजना सर्वोच्चको फैसला कुरेर बसेका छन् ।

करिब डेढ महिनापछि भएको दोस्रो चरणको निर्वाचनबाट प्रदेश १, ३ र ५ को अन्तिम नतिजा आइसक्दासमेत भरतपुरको अन्योल कायमै रहेकोमा सबैमा निराशा छाएको छ । सबैको अत्यधिक चासो चिन्तामा रहेको भरतपुरमा अन्तिम नतिजा आउने समयमा मतपत्र च्यातिएसँगै मतदाता दु:खी छन् । सँगै निर्वाचन भएका जिल्लाका ५ नगरपालिका र १ गाउँपालिकाका प्रतिनिधिले काम सुरु गरिसके ।

‘दोस्रो चरणको निर्वाचनको परिणाम आइसक्यो,’ कांग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठले भने, ‘भरतपुर महानगरपालिकाको सम्बन्धमा सर्वोच्चले पटक–पटक सुनुवाइ स्थगित गर्नु ठीक होइन ।’ उनले निर्वाचित जनप्रतिनिधिले शपथसमेत लिन नपाएको गुनासो गरे । ‘निर्वाचित जनप्रतिनिधिले काम गर्न पाएका छैनन्, यसले राम्रो सन्देश दिएको छैन,’ उनले भने, ‘अदालतको शैलीमाथि पनि प्रश्नचिह्न खडा हुन्छ, लम्ब्याउने काम ठीक होइन ।’