जुनी कम्युनको ब्यबस्था राज्यले गर्नु पर्ने माग

जाजरकोटको पश्चिम जुनी चाँदे गाउँपालीकामा रहेको जुनी कम्युनको व्यवस्थापन राज्यले गर्नु पर्ने कम्युनका सदस्यहरुले माग राख्दै आएका छन् । ३ पटक सरकारको नेतृत्व माओवादी पार्टीले गरिसक्दा पनि जुनी कम्युन प्रति राज्य बेखबर भएको भन्दै प्रचण्ड सरकारको वेला कम्युन सदस्यहरुले यस्तो माग राखेका थिए ।

आगामी दिनमा हुने आन्दोलनहरुमा फेरी पनि बलीदान गर्न सक्ने भाव पैदा हुने गरि जुनी कम्युनको ब्यबस्था राज्यलेनै गर्नु पर्ने तत्कालिन कम्युन सेक्रेटरी जयबहादुर घर्ती (हिमाल) ले वताए । शान्ति प्रक्रियामा आई सकेपछि युद्धको वेलामा जुनी कम्युनको अवधारणा ल्याउने माओवादी पार्टीले कम्युन प्रति ब्यवास्ता गरेको भन्दै कम्युन सदस्यहरु यतिवेला आक्रोशित हुन थालेका छन् ।

माओवादी ब्यवास्ताका कारण जुनी कम्युन सहकारी डिभिजन कार्यालय सुर्खेतमा जुनी बहुँउदेश्य सहकारी संस्था लिमिटेडका रुपमा दर्ता गरिएको छ तर, बहुँउदेश्य सहकारी संस्थाले पाउनु पर्ने सरकारी सेवा हालसम्म सो संस्थाले नपाएको संचालकको दुखेसो छ ।

जब माओवादी आरोपमा २०५५ साल असार ३ गते दहं–२ जुर्कका खेतमा धान रोपीरहेका ८ जना हलि, बाउसे र एक जना गर्खाकोट छिर्कका निर्दोष नागरिकलाई गर्खाकोटवाट आएको दंगा प्रहरीको टोलीले गिरिफ्तार गरेर साँदलाग्ने लेकमा लिएर गोली हानी सामुहिक हत्या गर्यो । उक्त सामुहिक हत्यामा जुर्कका रामबहादुर बुढा, खड्कबहादुर बुढा, लालबहादुर बुढा, हर्कबहादुर बुढा, हस्तबहादुर बुढा, भावल बुढा, लालु बुढा, पुर्णबहादुर घर्ती र गर्खाकोट छिर्कका हर्क दमाई मारिए । ९ जनाको ज्यान जानेगरी गरिएको सामुहिक हत्याकाण्डको आलो घाउँ पुरिन नपाउदै २०५५ साल मंसिर १० गते दह–१ निपानेवाट दैलेख कालिकां–९ स्यालामा जन्ती जान लागेका बेहुला सहित १५ जनालाई तत्कालिन दंगा प्रहरीले लाईन लगाएर गोलीको सिकार बनायो । बेहुला कमानसिंह घर्ती, बुद्धिराज घर्ती, लालबहादुर घर्ती, गोरखबहादुर घर्ती, केशबहादुर घर्ती, खडकबहादुर घर्ती, सुरसिंह घर्ती, सेतुसिंह घर्ती, पृर्थीबहादुर घर्ती, गंगबहादुर रोका, जयबहादुर घर्ती, जमाने रोका, प्रशाद रोका, रणबहादुर घर्ती र कोर्ताङका कृष्णबहादुर शाहीलाई भालुकुईयाँलेकमा लिएर गोली हानी हत्या गरियो ।

तब “बलीदान क्रान्तिको उर्जा हो ।” भन्ने माओत्सेतुङ्गको भनाईलाई माओवादी पार्टीले ब्यबहारिक रुपमा प्रयोग गर्ने अबसर पायो । प्रहरीद्धारा जुर्क र निपानेका २२ जनाको हत्या गरेपछि पिडित परिवारका पीडालाई कम तथा सामुहिकीकरण गर्न माओवादी पार्टीले कम्युनको अबधारणा अघि सारेको तत्कालिन त्यस एरिया सेक्रेटरी समेत रहेका अमरसिंह राठोर (आभाष) ले जानकारी दिए । सामुहिक हत्याकाण्डवाट बलीदान गर्ने जुर्क निपानेबासीका घरपरिवार तथा बालबच्चाहरुको शिक्षा, स्वास्थ्य, लत्ताकपडा र दैनिक उपभोग्य खाद्यबस्तुको आपुर्तीलाई सहज तथा साझा बनाउन माओवादी पार्टीले २०५६ सालको चैत्र १२ गते जुनी कम्युनको बिधिबद रुपमा गठन गरिएको तत्कालिन कम्युन ईन्चार्ज आईलसिंह घर्ती (निर्माण) ले जानकारी दिए । दह गाविस वडानं–१ को जुर्क र वडा नम्वर–२ को निपानेलाई जोडेर माओवादीले नामाकरण गरेको जुनी कम्युनको प्रचार–प्रसार हुन भने बाँकी नै थियो ।

साझा विचार सहितको सामुहिक जीवन शैलीमा बाधिएको जुनी कम्युन पत्रकारले लेख्नु पर्ने थुप्रै समाचार श्रोतहरुको खानी बनि सकेको थियो । त्यहि मौका छोपि भिषण युद्ध जटिलतालाई तोड्दै तत्कालिन जनादेश साप्ताहिकमा कार्यरत पत्रकार खिलराज भण्डारी २०५६ साल चैत महिनाको सुरुमै जाजरकोटको जुनी कम्युनमा पुग्ने पहिलो पत्रकार हुन् । जुनी पुगेर बिभत्स सामुहिक हत्याकाण्डका भयानक दृष्यहरु पत्रकार भण्डारी आफैले देखे, कम्युनका माध्यामवाट जुनीवासीले साम्यवादको पुर्व अभ्यास गरिरहेका महिला तथा बालबालिकाहरुको कुरा सुने र लेखे पत्रकार भण्डारीले जनादेश साप्ताहिकमा “जाजरकोटमा जुनी कम्युन स्थापना, २२ घर परिवार एउटै भान्सामा ।” जस्ता शिर्षकमा समाचारहरु । जुनी पुगेर फर्केका पत्रकार भण्डारीले माओवादी आधार ईलाका, जनसत्ता, कम्युनवारेमा निकै लामो समयसम्म कलम चलाए । त्यतिवेला जुनी कम्युनलाई राष्ट्रिय स्तरमै चर्चाको बिषय बनाउने पत्रकार भण्डारीलाई आफुहरुले कहिले पनि नविर्सिने कम्युन सदस्य नैनसिंह घर्तीको भनाई रहेको छ ।

माओवादी आन्दोलनकै आस्थाको पुन्जका रुपमा जुनी कम्युनलाई लिने गरिएको बताउदै माओवादी नेता मायाप्रशाद शर्मा भने–“प्रत्येक पटक आयोजना गरिने जिल्ला पार्टीको बैठकमा छुट्टै एजेण्डा बनाएर जुनी कम्युनको सुदृढ, ब्यबस्थापनकावारेमा गम्भिर छलफल बहस चलाइन्थ्यो र उचित निस्कर्षमा पुगेर बस्तुवादी निर्णय गरिन्थ्यो ।”

युद्धको समयमा माओवादी पार्टीका केन्द्रिय, क्षेत्रिय र जिल्ला स्तरका बैठक, प्रशिक्षण, भेला तथा सम्मेलनहरु जुनी कम्युनमै आयोजना गरिन्थ्यो । सामाजिक सँस्कारका रुपमा माओवादी पार्टीले कलिलै उमेरमा विधुवा भएका एकल महिलालाई दोस्रो विवाह गर्न प्रोत्सान दिने कुराको सुरुवात जुनी कम्युनवाटै गरेको नेता गगनबहादुर खड्का (जीवन) ले वताए । जुनी कम्युनमा बहुविवाह, बालबिवाह, अनमेल बिवाहको अन्त्य गरिएको थियो । सामाजिक कुप्रथाका रुपमा रहेको जातिय विभेदको रुपमा रहेका छुवाछुत प्रथा, दाईजो प्रथा रुढीवादी अन्धबिस्वासमा रहेको छाउपडी प्रथा, बोक्सी प्रथालाई अन्त्य गर्न माओवादीले नै सिकाएका हुन् ।

जुनी कम्युनलाई जनयुद्धकै प्रतिकका रुपमा लिएको माओवादी पार्टीले जिल्लामा जुनी जनसास्कृतिक पविार गठन गरेको थियो । त्यसैगरि जुनी सन्देश साप्ताहीक पत्रिका, जुनी नमुना बिद्यालय, जुनी कागज उद्योग, जुनी सहकारी पसल, जुनी बित्तिय कोष, जुनी गुन्द्री उद्योग, जुनी खुर्मा उद्योग, जुनी मेडिकल सञ्चालन गरेको थियो ।

“जुनी बस्ती कुदु फाँट रमकाको फेदीवाट तिम्लाई सलाम छ,
जहाँ रगतले बस्ती मुछेको छ, ईन्द्र विनोदको बस्तीलाई सलाम छ ।”

हा ककक छातीमा संगिन रोपिदा
मुटुका टुक्रा चुडिदा पनि दृढनै भई दियौं,
त्यो कालो रातमा प्रज्वलित तारा चम्कियौं ।
जुनी बस्ती………………..।

हा ककक अन्यायको विरोध गर्दा गोली नै चलायो,
भीरपाखा खोला जङगल रगतले रङगियो ।
जुनी बस्ती………………..।

हा ककक घटमा आगो लगाए पनि रगतको भेल बगाए पनि,
बिचलित भएनौं क्रान्तिको बाटोमा अडिग रहिदियौं ।
जुनी बस्ती………………..।

यो गीत २०५७ साल चैत १४ गते जुनी बस्तीलाई बीम्व दिएर जयन्ता घर्ती (रमा) ले रचना गरेको गीत हो । जयन्ता घर्ती जुनी जनसाँस्कृतिक परिवारको तत्कालिन कमाण्डर हुन् । घर्तीको रचनामा रहेको यो गीतलाई जनयुद्ध प्रति जागरण पैदा गर्न जुनी जनसाँस्कृतिक परिवारले जिल्लाका विभिन्न गाउँमा प्रस्तुत गर्ने गरेको थियो । सम्वेदनात्मक मानविय भावनासंग जोडिएको गीतका प्रस्तुतीहरुले जुनी कम्युन सशस्त्र जनयुद्धको क्रममा बलीदान गर्ने उर्जाशिल नमुना बन्न पुग्यो । गीत, संगित र नृत्यद्धारा कलाकारहरुले जुनी कम्युनलाई जिल्लामा साढी चार सय मान्छेले बलीदान गर्न सक्ने प्रेरणाको श्रोत बनाए ।

दर्जनौं लडाईका गीतहरुको रचना गरि सकेकि जयन्ता घर्ती (रमा) ले २०५९ सालको सुरुमै “जुनी कम्युन तिमीलाई” भन्ने शिर्षकमा एउटा कविता पनि लेखिकि थिईन । आफ्नै शव्द संकलमा रहेका दर्जनौं गीत र “जुनी कम्युन तिमीलाई” भन्ने शिर्षकको कविता गुनगुनाउदै डोल्पा जिल्लाको माझपाल पुगेकि जयन्ता घर्तीले तत्कालिन शाहीसेनासंगको मुडभेटमा २०५९ सालको भदौ ६ गते डोल्पाको माझपालमै ज्यान गुमाइन् ।

ज्यान गुमाई सकेकि जयन्ता घर्तीले लेखेको “जुनी कम्युन तिमीलाई” भन्ने शिर्षकको कविता यस प्रकार रहेको छः–

रमका हिमालको न्यानो काखमा
भेरी नदीको किनारवाट
बर्गसंघर्षको तुफानी केन्द्रवाट
रातो अभिवादन जुनी कम्युन तिमीलाई ।

रगतद्धारा भिजेको आक्रोश जुर्मुराएको
तिम्रो वर्गसङगी गाउँवाट
मुठी कसेर इतिहासका पानामा चम्किएका
अमर शहिदहरुको जन्मभुमीवाट
युद्धभुमिमा राईफलका साथ
डटिरहेका लालयोद्धाहरुको बस्तिवाट
रातो अभिवादन जुनी कम्युन तिमीलाई ।

रगतले भिजेको जुनी
पृथक भाषा, संस्कृति बोकेको प्यारो जुनी
खुनी राक्षसहरुका बिषालु नङग्राद्धारा घायल बन्न पुग्यौं
नेपालका बस्ती–बस्तीवाट दन्केको
वर्गसंघर्षको राँको अर्थात मुक्तिको दियो
जसको सुन्दर प्रकाश छेक्न शासकहरुले कुचेष्टा गरे
देशभक्त न्यायप्रेमीमाथि आक्रमण सुरु गरे
निर्दोषको छातीमा गोली बर्साए ।

जुनी तिमी पनि एउटा स्वाभिमानी बस्ती थियौं
त्यसैले तिम्रो मुटु चुडाल्नै चाहे सत्ताका हिमायतीहरुले
रोपाईको बेला खेतमा किसानहरुको चिहान बनाईयो
चुलो चौकोका आमा दिदी बहिनीहरु बाँकी रहेनन्
जन्तीहरुको रगतले सुवागाड छेडागाड रक्ताम्य भए
तर पनि अन्यायको सामु घुँडा टेक्न जानेनौं
बरु शहिदको रगतको रक्तबीज बन्यौं
दुश्मनप्रति घृणा गर्दै
संघर्षमै डटेर बदला लिने कसम खायौं
बस्ती नै हत्या आतङकले डढाउँदा पनि रतिभर शिर झुकाएनौं
दृढताको मुठी कसिरह्यौं ।

पीडितहरुको मोर्चा कसेर
एउटै विचारमा बाँधिएर
तेरो मेरोको रेखा मेटाईदियौं
नेपाली समाजलाई कम्युनको शिक्षा दियौं
दुश्मनले तिमीलाई गिद्दे नजर लगाई रहेका छन् ।

रक्ताम्य जुनी
रमकाको काख र भेरी नदीको किनारवाट तिमीलाई रातो सलाम
हामी सबैको आशाको दियो
जुनी कम्युन तिमीलाई न्यानो अभिवादन
दरिलो मुठी कसेर अभिवादन
कम्युन तिमीलाई रातो अभिवादन ।।।

जुनी कम्युनकाबारेमा जनयुद्धकालमा कलाकारहरुले गीत, कविता लेखेता पनि लेखक साहित्यकारहरुले थुप्रै कुरा लेख्न बाँकी रहेको बताउदै जयबहादुर घर्तीले जुनी कम्युनकावारेमा बिभिन्न बिदामा रहेर कलम चलाएर लेखि दिन पनि लेखकहरुलाई आग्रह गरेका छन् । जुनीका लागि खाद्य डिपो, गाँउ जोड्ने मोटरबाटो, टेलिफोन टावर र सामुदायिक स्वास्थ्य चौकीको माग गरेको भएता पनि आफुहरुका मागलाई कसैले नसुनेको भन्दै घर्तीले दुखेसो पोखे ।

दुई गाउँका २२ घरपरिवारवाट स्थापना भएको जुनी कम्युनमा २०६७ साल सम्म १ सय २५ घरधुरी सदस्य भएका थिए । त्यहि संख्या नै हाल जुनी बहुँउदेश्य सहकारीमा समावेश भएको छ । जिल्ला सदरमुकाम खलंगा देखि जुनी कम्युनमा पुग्नलाई तीन दिनको पैदल यात्रा गर्नु पर्दछ । दैलेख, कालिकोट र जुम्लाको सिमानासंग जोडिएको जुनीको हाट्बजार दैलेखको नौमुलेबजार हो । नौमुलेवाट घोडा, खच्चर्डमा सामान ढुवानी गर्न दिन भरिको यात्रा गर्नु पर्दछ ।

जुनी कम्युनले नेतृत्व विकास गर्न नसक्नुनै कम्युनको लागि ठुलो दुर्भाग्य भएको जयबहादुर घर्ती बताउछन् । कम्युनकै कुनै पनि सदस्य निर्णय गर्ने तहमा पुग्न सकेको भए आज जुनी कम्युनको हालत यस्तो अवस्थामा देख्नु नपर्ने उनको भनाई छ । शान्ति प्रक्रियामा स्थापना गरिको लहँ–८ सिर्केको जुनी विद्यालय मावि बनि सकेको छ । भेरीमालिका नगरपालीका १ रिम्ना, पिपे र मैदेमा द्धन्दउत्तर शान्ति नमुना बस्ती बिस्तार कार्यक्राद्धारा १०–१२ करोड बजेट राज्यले खर्च गरिसकेको छ । तर, जुनीको अवस्था पहिलेको भन्दा कम्जोर बन्दै गएको छ घर्तीले भने । जुनी कम्युनको समग्र विकासमा सरकार र माओवादी पार्टी नै बढी जिम्मेवार हुनु पर्ने उनले ठोकुवा गरे । जुनीको समग्र बिकासमा माओवादी पार्टीले जोड नदिए गलत पार्टी सावित हुने उनको ठहर छ । युद्ध अनुकुल भुगोल जुनीका इमान्दार सिधा मगर समुदायलाई प्रयोग गरेर उचाई हासिल गरेका माओवादी नेताहरुले जुनी कम्युनकोबारेमा जवाफ दिनु पर्ने घर्तीले वताउदै आएका छन् ।