चिनियाँ र नेपाली सेनाको रणनीतिक साझेदारिता सुरू

नयाँदिल्लीकाे हाेस हराम

काठमाडौं, नेपाली सेना र चीनियाँ सेनाबीचको बहुप्रतिक्षित संयुक्त सैन्य अभ्यास अाजबाट  सुरु हुने  भएकाे छ ।  सेनाकाे रणनितिक साझेदारीबाट नयाँ दिल्लीकाे हाेस हराम भएकाे छ । सैन्य अभ्यासले द्धिपक्षीय सुरक्षा सम्बन्धलाई रणनीतिक रुपमा अघि बढाउने बाटो खोल्नेछ । काठमाडौं र बेईजिङबीचको यो सैन्य सहकार्यबाट नयाँदिल्ली भने अत्तालिएको छ ।

 नयाँ बर्ष २०७४ मा प्रबेशसँगै शुरु हुने नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको यो पहिलो संयुक्त  संयुक्त सैन्य अभ्यासको पहिलो घोषणा चिनियाँ जनमुक्ति सेना प्रबक्ता याङ युजुनलले बेईजिङबाट दुई महिनाअघि गरेका थिए । घोषणा अनुरुप फेब्रुअरीको दोश्रो साता यस्तो अभ्यास गर्ने सार्बजनिक भएको थियो । त्यसबेला नेपाली सेनाका तर्फबाट संयुक्त अभ्यास गर्ने सहमति भएपनि कहिले गर्ने, कुन मोडालिटीमा गर्ने भन्ने टुँगो नलागेको बताइएको थियो । तर दुई महिनापछि आएर बिहिबारमात्र नेपाली सेनाले चीनियाँ सैनिकबिचको यो सहकार्य सार्बजनिक गरेको हो ।

‘छिमेकी तथा अन्य मित्रराष्ट्रका सेनासँग सञ्चालन हुँदै आएका संयुक्त तालिम तथा अभ्यासलाई निरन्तरता दिने क्रममा यो अभ्यास हुन लागेको हो,’ नेपाली सेनाले जारी गरेको वक्तव्यमा उल्लेख छ, ‘विश्वमा नै सुरक्षा चुनौतीका रूपमा देखापर्दै गइरहेको आतंकवादबाट भविष्यमा आउन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर राखी पहिलोपटक मित्रराष्ट्र चीनको जनमुक्ति सेनासँग संयुक्त तालिम बैशाख ३ देखि गर्न लागिएको हो ।’ वैशाख ३ देखि १० दिन चल्ने यो तालिमलाई ‘सगरमाथा मैत्री–२०१७’ नाम दिइएको छ ।

चीनियाँ सेनासँगको नेपालको संयुक्त अभ्यासको समाचार सार्बजनिक हुनेबित्तिकै भारतले यसप्रति असन्तुष्टी राख्दै नेपालमा चीनको प्रभाब बढेको बताएको थियो । भारतीय मिडियाले भारतको सहयोगमा प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले नयाँदिल्लीको चाहना बिपरित चीनसँग सैनिक सहकार्य गर्न लागेको बताएका थिए । नेपाली सेनाले अहिले चैत ३१ मा संयुक्त अभ्यासको दिन र मोडालिटी तोकेपछि फेरी नयाँदिल्लीमा चिन्ता छाएको छ ।

आतंककारीबाट बन्धकलाई कसरी छुटाउने भन्नेमा केन्द्रित रहेर यो सैन्य अभ्यास हुने बताइएको छ । त्यस्तै यो अभ्यास उच्च हिमाली क्षेत्रमा हुने युद्धकौशल र मानबीय उद्धार अभ्यासमा समेत केन्द्रित हुने बताईएको छ । त्यसैले यसप्रतिको भारतीय चिन्ता तार्किक छैन् । तर नेपाली सेनाका लागि भने यो ऐतिहासिक कदम हो किनभने यसले चिनियाँ कौशल सिक्ने ऐतिहासिक अवसर प्रदान गर्नेछ । त्यतिमात्र होइन, नेपाली सेनाको महत्वलाई यस अभ्यासले अन्तराष्ट्रियकरण गर्न सहयोग गर्नेछ । नेपाली सेनाले भनेजस्तै ‘यस प्रकारको दुईपक्षीय तथा बहुराष्ट्रिय सैनिक तालिम तथा अभ्यासबाट सैनिक ज्ञान तथा पेसागत क्षमता अभिवृद्धि गर्नुका साथै सैनिक तथा कूटनीतिक सम्बन्ध थप मजबुतका लागि सहयोग पुग्ने विश्वास गरिएको छ,’ ।

नेपालले यस्ता संयुक्त सैन्य अभ्यास भारत, अमेरिका लगायतका देशहरुसंग गर्दैआएको छ भने आवश्यकता आधारमा बहुराष्ट्रिय सैन्य अभ्यास पनि गरेको छ । भारतीय सेनाले समेत अमेरिका, अस्ट्रेलिया, जापान लगायतका देशसँग संयुक्त सैन्य अभ्यास गरिरहेको छ । पछिल्लो समय चीन नेपालको प्रत्यक्ष बैदेशिक लगानीमा भारतलाई उछिनेर पहिलो राष्ट्र भएको छ भने नेपाली सेनालाई दिने सहयोग पनि चीनले उल्लेख्य बढाएको छ ।