बालविबाहका कारण आङ खस्ने समस्या विकराल बन्दै

जाजरकोट,  जिल्लाको भेरीमालिका नगरपालिका ९ की ३८ बर्षिया विर्मि पुन विगत १३ वर्ष देखि पाठेघर खस्ने समस्याका कारण धेरै दुख पाइन् । १६ वर्षकै उमेरमा विवाह गरेर वर्षेनी सन्तान जन्माएर पाठेघर खस्ने समस्यावाट पिडित वनेकी उनले समयमै गतिलो उपचार नपाउदा १३ वर्ष कष्टपुर्ण जीवन विताउनु परयो । ६ सन्तानकी आमा बिर्मीको केही समय अघि रुकुमको चौरजहारी स्थित मिसन अस्पतालमा पाठेघरको सफल शल्यक्रिया पछि उनले पुर्नजीवन पाएको महसुस गरेकी छन् । गाउँमा आङ्खस्ने समस्याको रुपमा परिचित पाठेघर खस्ने समस्याबाट आफु जस्तै अन्य महिलाले प्रताडित हुन नपरोस बिर्मीले भनिन् ।

विर्मी जस्तै पाठेघर खसेको १२ बर्ष सम्म पनि रोग लुकाएर बसेकी लहँ ३ मानचौरकी ३३ बर्षिय सीता वलीले लाजले गर्दा उपचारको लागी स्वास्थ्य संस्था नगएको बताईन तर गाँउ नजिकै केही समय अघि स्वास्थ्य शिविर बसेको र शिवीरमा महिला डाक्टर आएका छन् भन्ने थाह पाएपछि उनले उपचार गराईन । १४ बर्षकै उमेरमा विवाह गरेर १५ बर्षको उमेरमा बच्चा जन्माएकी सीता ५ सन्तानकी आमा हुन् । तेस्रो सन्तान जन्मेको थियो म त्यतिबेला २१ बर्षकी थिए । घरमा काम गरिदिने कोही थिएनन् । सुत्केरी भएको एक महिना नपुग्दै घाँस काटेर ल्याउनु पथ्र्यो त्यसैवेला देखी आँङ खस्न शुरु भएको सीताले बताईन । उनले लाजले गर्दा लामो समय सम्म कसैसँग आफ्नो समस्या नसुनाएको बताईन । पिडा सहेरै बसेकी थिए केही समय अघि छिमेकी दल्ली गाँउमा शिविर आएको थाह पाएपछि उपचारको लागी त्यहाँ गए उनले भनिन । ‘डाक्टर सावले रिङ प्रेसरी राखी दिनु भएको छ त्यसले पनि ठीक नभए अप्रेशन नै गरेर फाल्नु पर्छ भन्नुभयो ।’ अहिले केही विशेष भएको छ, आफ्नो गाँउका धेरैजसो महिलालाई आँङ खस्ने समस्या रहेको उनले बताईन ।

गाँउकै विद्यालयमा आठ कक्षामा पढ्दा पढ्दै १४ बर्षकै उमेरमा विवाह गरेकी लहँ–२ भारगाँउकी २२ बर्षिय सरीता विकको १५ बर्षमै पहिलो बच्चा जन्मियो । १८ बर्षको उमेरमा अर्का बच्चा जन्मियो । श्रीमान विदेश जानु भएको थियो बच्चा जन्मिएको बेला घरको सवै कामकाज आफैले गर्नु पर्यो त्यतिबेलै कतिखेर पाठेघर खसेछ पत्तै भएन उनले भनिन–“अहिले उपचार गराईरहेकी छु ।” सानै उमेरमा विवाह गर्दा र सुत्केरी भएको बेला गह्रौ भारी बोक्नु पर्दा पाठेघर खसेको उनको अनुमान छ । पाठेघर खसेको केही समय कसैलाई नभनेको तर, निकै पिडा भएपछि मात्र श्रीमानलाई भनेको र त्यसपछि उपचारको लागी स्वास्थ्य संस्था गएको उनले बताईन । उनको गाँउका अधिकांश महिला पाठेघर खस्ने समस्याबाट पिडित छन् ।

पाँच दशक उमेर पार गरिसेकी लहँ–६ कि हिरा बुढाको १५ बर्षको उमेरमै विवाह भयो । उनी पाठेघर खस्ने समस्याबाट लामो समय देखी पिडित छन् । कान्छो छोरा जन्मिएको थियो म ३० बर्षकी थिएँ त्यतिवेलै आङ खसेको हो । घरको काम सवै आफैले गर्नु पथ्र्यो श्रीमान कमाई गर्न भारत गएका थिए उनले भनिन–“शुरु शुरुमा खासै समस्या नभएपनि अहिले निकै पिडा हुने गरेको छ ।” उनलाई योनीबाट सेतो पानी बग्ने, हिड्न गाह्रो हुने, ढाड दुख्ने समस्याले सताईरहेको छ । लामो समय पिडा सहेरै विताएकी उनले केही समय अघि रिङ प्रेसरी राखेकी थिईन तर, रिङले पनि काम नगर्ने भएकोले उनलाई अप्रेशनका लागी सुर्खेत जानु पर्ने भएपनि आर्थिक अभावले समस्यामा परेकी छन् ।
उनीहरु जस्तै जिल्लाका १० हजार वढी महिलाहरु पाठेघर खस्ने समस्याबाट पिडित भएको अनौपचारिक तथ्यांक छ । पाठेघर सम्बन्धी काम गर्दै आएको वातावरणीय कृषि विकास केन्द्र केडको सहयोगमा बहुआयामिक अध्ययन मञ्चले केही समय अघि जिल्लाका आठ ओटा गाँउ विकास समितिमा गरेको घरधुरी सर्बेक्षणबाट ४७ प्रतिशत महिलाहरु पाठेघर खस्ने समस्याबाट पिडित भएको तथ्य फेला पारेको छ । जिल्लाका १५ वर्ष देखि ७० वर्ष सम्मका महिलाहरु पाठेघर खस्ने समस्यावाट पिडित भएको केडका जिल्ला कार्यक्रम अधिकृत रामविक्रम शाहले वताए । उनले कम उमेरमा गरिने विवाह, गर्भवती र सुत्केरी अवस्थामा पोषणयुक्त खानाको अभाव, सुत्केरी भएको बेला गह्रौं भारी वोक्न बाध्य पारिनु, वर्षेनी धेरै वच्चाहरु जन्माउने र जनचेतना अभाव जस्ता कारण जिल्लामा पाठेघर खस्ने समस्या भयावह वन्दै गएको वताए ।

महिलाहरुलाई पाठेघर खस्ने समस्याको मुख्य कारण भनेको वालविवाह भएको र त्यस संगसंगै गर्भवती अवस्थामा पोसिलो खानपानको कमी, सरसफाइको कमी, गर्भवती अवस्थामा आरामको कमीले गर्दा यो समस्या भए पछि संक्रमण देखिने गरेको उनको भनाइ छ । समाजमा जति वकालत गर्दै गए पनि बालबिवाह अन्त्य नभए सम्म महिलाहरुको पाठेघर खस्ने समस्याको अन्त्य नहुने महिला अधिकार मञ्चकी अध्यक्ष शोभा सिंहले बताईन । बालबिवाहले गर्दा दिन प्रतिदिन विभिन्न प्रजनन सम्वन्धि समस्या आउने गरेकोले यससंग सम्वन्धित सरोकारवाला निकायहरुले आ–आफनो ठाउँबाट पैरवी गर्न आवस्यक भएको उनको भनाई छ ।

अधिकांश महिलाहरु बालविवाहले गर्दा पाठेघर खस्ने समस्यावाट पिडित भएकोले आगामी पुस्ताहरुले बालबिवाह नगर्न सवैमा अनुरोध गरिएको अध्यक्ष सिहले बताईन । उनले समाजमा हुने वालविवाह खानपान सरसफाई गर्भावस्थामा गर्भवती आमाहरुलाई आराम, पोषिलो खानेकुरा लगाएतका कुराहरुमा ध्यान नपुरयाए महिलाहरु पाठेघर खस्ने समस्यावाट पिडित भैरहने बताइन ।
जाजरकोटमा ७४ प्रतिशतले उमेर नपुग्दै विवाह गर्ने गरेको महिला तथा बालबालिका कार्यालय जाजरकोटले जनाएको छ । कम उमेरमै विवाह गर्ने, धेरै सन्तान जन्माउने, सुत्केरी अवस्थामा कामको बोझ, पोषणयुक्त खानाको अभाव, जनचेनाको अभाव, स्वास्थ्य संस्थाको पहुँच नहुनु आदि कारणले पाठेघर खस्ने समस्या विकराल भएको जिल्ला अस्पताल जाजरकोटका डा. भुपेन्द्र प्रकाश मल्लको भनाई छ । कतिपय महिलाहरु समाजमा अपहेलित हुने डरले रोग लुकाएर बस्न बाध्य छन् जसका कारण कारण पिडित महिलाहरुलाई कम उमेरमै बुढ्यौलीले छोप्ने गरेको छ । श्रीमतिको पाठेघर खसेपछि उपचारको साटो कतिपय पुरुषले दोस्रो विवाह गरेर सौता हाल्ने समेत गरेका छन् ।