हार स्वीकार गर्दै यसरी राहुलले दिए मोदीलाई बधाई

भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन्। मोदीको दल भारतीय जनता पार्टी (भाजपा)ले लोकसभा चुनावमा स्पष्ट बहुमत ल्याउने देखेपछि कांग्रेस अध्यक्ष राहुलले बधाई दिएका हुन्।

बिहीबार नतिजा मोदीको पक्षमा देखिएपछि पत्रकार सम्मेलन गर्दै हार स्वीकार गरेका राहुलले सुरुमै मोदीलाई बधाई दिएका हुन्। राहुलले हारको सम्पूर्ण जिम्मेवारी आफूले लिनेसमेत बताए।

हार स्वीकार गर्दै उनले विचारधाराको लडाईं भने जारी रहने बताए। ‘नरेन्द्र मोदीलाई बधाई छ’, पत्रकार सम्मेलनमा राहुलले भने, ‘विचारधाराको लडाईं जारी छ। कांग्रेसका कार्यकर्ता जोजो हुनुहुन्छ विचलित नहुनुहोस्।’

दुई ठाउँमा उम्मेदवारी दिएका राहुलले एक ठाउँमा पराजित हुनुपरेको छ। उनले जनताको फैसलालाई सम्मान गर्ने बताए। राहुलले उत्तर प्रदेशको अमेठीमा भाजपाकी स्मृति इरानीसँग पराजित भएका छन्। राहुल केरलको वायनाडोमा भने उनी अगाडि छन्।