एथलेटिक्स संघको अध्यक्षमा पूर्वसांसद शाह

जाजरकोट जिल्ला क्षेत्र नं २ का पूर्व सांसद राजिव विक्रम शाह एथलेटिक्स संघको अध्यक्ष चयन भएका छन् । पूर्व सांसद शाह आइतबार चितवनमा सम्पन्न अधिवेशनबाट नेपाल एथलेटिक्स संघको केन्द्रिय अध्यक्ष पदमा सर्वसम्मत चयन भएका हुन् ।

वि.सं. २००४ सालमा स्थापना भएको यस संस्थाको प्रत्येक चार–चार वर्षमा अधिवेशन सम्पन्न हुने गरेको शाहकाे निजि स्राेतले बताएकाे छ । उनले पछिल्लो समय राजनीतिसँगै समाजसेवामा पनि आफ्नो बलियो परिचय बनाएका छन् ।

२०७० सालको निर्वाचनमा नेपाली कांग्रेस जाजरकोट क्षेत्र नम्बर २ बाट सांसद बनेका शाहको जाजरकोटको विकासमा महत्वपुर्ण भुमिका रहेको छ । उनले गत निर्वाचनमा अहिलेका वनमन्त्री शक्ति बहादुर वस्नेतसँग केही मतान्तरले हार व्यहाेरेका थिए  । निर्वाचनमा नेकपा एमाले र माओवादीका बीचमा गठबन्धन भएपछि शाहको जीत कठिन भएको थियो ।

एथ्लेटिक्समा उनी सहित १० जनाको कार्यसमिति तयार भएको छ । सदस्यहरुमा क्रमश कुमार श्रेष्ठ, जितेन्द्र चौधरी, शैलेन्द्र पाण्डे, धनविर चौधरी, दिपक रानाभाट, गज बहादुर गुरुङ, मोहन सिंह घले, जनक रावल, तेजेन्द्र थापा र दिल बहादुर बम चयन भएका छन् ।