विराट कोहलीले तोडे सचिन तेन्दुल्करको कीर्तिमान

काठमाडौँ । भारतीय क्रिकेट टोलीका ब्याट्सम्यान विराट कोहलीले आफ्नै राष्ट्रका महान् खेलाडी सचिन तेन्दुल्करको कीर्तिमान तोडेका छन् । कोहलीले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५० शतकको कीर्तिमान बनाएका हुन् ।

कोहलीले आईसीसी एक दिवसीय विश्वकपअन्तर्गत बुधबार खेलिएको न्युजिल्यान्डविरुद्धको सेमिफाइनल खेलका क्रममा सचिनको कीर्तिमान तोडेका हुन् ।

विश्वकप क्रिकेटको सेमिफाइनलमा उनले बुधबार शतक पूरा गर्दै यसअघि सचिन तेन्दुलकरले बनाएको ४९ शतकको कीर्तिमान भंग गरेका हुन् ।

बुधबार न्युजिल्यान्डविरुद्धको खेलमा शतक बनाएसँगै एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कोहलीको शतक सँख्या ५० पुगेको छ । विराटले दुई सय ९१ एक दिवसीय खेलको दुई सय ७९ पालीमा ५० शतकका अतिरिक्त ७१ वटा अर्धसतक पनि बनाएका छन् ।

सचिनले भने सक्रिय खेलजीवनबाट सन्न्यास लिनुअघि एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ४९ वटा शतक बनाएका थिए । विराटले न्युजिल्यान्डविरुद्धको खेलमा एक सय ६ बलको सामना गरी एक छक्का र आठ चौकाको मद्दतले शतक बनाएका हुन् । उनले खेलको ४१.४ ओभरमा न्युजिल्यान्डका बलर लोकी फर्गुसनको बलमा दुई रन लिँदै शतक पुरा गरेका हुन् ।  

कोहलीले बुधबारको शतकसँगै विश्वकप क्रिकेटमा ७०० रन पूरा गर्ने कीर्तिमान पनि बनाएका छन् ।

आइसिसी एकदिवसीय क्रिकेट विश्वकपको सेमिफाइनलमा घरेलु टिम भारतले न्युजिल्यान्डलाई ३९८ रनको विशाल लक्ष्य दिएको छ। बुधबार मुम्बईमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४ विकेटको क्षतिमा ३९७ रन जोड्यो।