घुसखोरीको आरोपमा चर्च प्रमुखलाई दुई वर्ष जेल

सोल । दक्षिण कोरियाको अदालतले युनिफिकेशन चर्चकी प्रमुख हान हाक–जालाई राजनीतिक चन्दा र घुसखोरीसम्बन्धी कसुरमा दुई वर्षको जेल सजाय सुनाएको छ ।

सोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टले पूर्वराष्ट्रपति युन सुक येओलको प्रशासनसँग प्रभाव विस्तार गर्ने प्रयाससँग जोडिएको राजनीतिक चन्दा तथा घुसखोरीमा संलग्न रहेको ठहर गर्दै ८३ वर्षीया हानलाई सजाय सुनाएको हो ।

अदालतका अनुसार हानले एक बिचौलियामार्फत राजनीतिज्ञहरूलाई रकम उपलब्ध गराउनुका साथै पूर्वप्रथम महिला किम कियोन हिलाई महँगा विलासी सामान उपलब्ध गराउने कार्यमा संलग्नता जनाएकी थिइन् ।

तर हानले भने आफूले कुनै गलत काम नगरेको दाबी गर्दै आएकी छन् । आफूलाई राजनीतिमा कुनै चासो नरहेको र आफ्ना मातहतका व्यक्तिहरूले आफ्नो जानकारीबिनै ती गतिविधि गरेको उनको दाबी छ ।

धार्मिक नेता सन म्योङ मुनले सन् १९५४ मा स्थापना गरेको युनिफिकेशन चर्चको औपचारिक नाम अहिले ‘फ्यामिली फेडेरेसन फर वर्ल्ड पिस एन्ड युनिफिकेशन’ रहेको छ । मुनको निधनपछि उनकी पत्नी हान हाक–जाले संस्थाको नेतृत्व गर्दै आएकी छन् ।