भोटेकोशी बाढीमा हराए ३६ देशका ६०६ विदेशी पर्यटक

काठमाडौं । गत भदौ १० गते आएको भोटेकोशी बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता रहेका छन्।

पर्यटन विभागका अनुसार कैलाश मानसरोवर र जनैपूर्णिमा मेलाका लागि गोसाइँकुण्ड गएका विदेशी पर्यटकमध्ये ६०६ जना सम्पर्कविहीन भएका हुन्। बेपत्ता हुनेमा सबैभन्दा बढी भारतीय पर्यटक रहेका छन्।

विभागका अनुसार भारतका १८९, अमेरिकाका ६५, मलेसियाका ५५, युक्रेनका ५४, चीनका ३७, अष्ट्रेलियाका ३३, लाटभियाका ३३, बेलायतका ३२ र क्यानडाका ३० जना छन्।

बाढीमा परेर १८८ नेपाली पर्यटकसमेत बेपत्ता भएका छन्। हालसम्म ३१० विदेशी पर्यटकको उद्धार गरिएको विभागले जनाएको छ।

बाढीपछि सम्पर्कविहीन भएकामध्ये १३ जना सम्पर्कमा आएका छन्। स्थानीय प्रशासन र सुरक्षा निकायले बेपत्ताको खोजी तथा राहत कार्य जारी राखेका छन्।