डोटीमा भालुको आक्रमणबाट दुई जना घाइते

डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका–२ मा भालुको आक्रमणबाट दुई जना घाइते भएका छन्।

बिहीबार बिहान छुट्टाछुट्टै स्थानमा भालुको आक्रमणबाट कालिका आधारभूत विद्यालय, भारतौलीका २५ वर्षीय शिक्षक हरिप्रसाद चौधरी र वाडीका करिब ६३ वर्षीय दानबहादुर ओली घाइते भएका हुन्।

चौधरीलाई बिहान करिब साढे ६ बजे विद्यालय जाने क्रममा बाटोमा भालुले आक्रमण गरेको थियो। उनको पेटमा चोट लागेको छ। उनलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ।

त्यस्तै, ओलीलाई बिहान करिब साढे ५ बजे घर फर्कने क्रममा भालुले आक्रमण गरेको हो। रातभर खेतमा बालीनाली रेखदेख गरेर श्रीमतीसहित घर फर्किरहेका उनलाई भालुले आक्रमण गरेको बताइएको छ।

ओलीको पेट र दायाँ खुट्टामा गम्भीर चोट लागेको छ। उनको पनि जिल्ला अस्पतालमा उपचार भइरहेको छ।