हाजिरीजवाफमा हिमरश्मी प्रथम, एन्जल हार्ट र मेगा पब्लिक क्रमशः दोस्रो–तेस्रो
काठमाडौं । अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको आयोजनामा तारकेश्वर नगरपालिका स्तरीय अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता–२०८३ सम्पन्न भएको छ।

ग्रामीण आदर्श बहुमुखी क्याम्पस, नेपालटारमा आयोजित प्रतियोगितामा तारकेश्वर नगरपालिकाका २४ विद्यालय सहभागी भएका थिए। प्रतियोगितामा हिमरश्मी हाई स्कूल प्रथम, एन्जल हार्ट मावि द्वितीय र मेगा पब्लिक स्कूल तृतीय भएका छन्। सिर्जना ज्ञानसागर मावि र नेपाल राष्ट्रिय माविले सान्त्वना स्थान हासिल गरेका छन्।
प्रथम भएको हिमरश्मी हाई स्कूलको टोलीमा आर्यन कार्की, अंकिता बस्याल र महम्मद जियाद अलि सैयद रहेका थिए। एन्जल हार्ट माविबाट प्रिन्स बराल, विमोचन अधिकारी र जेसिका पौडेल तथा मेगा पब्लिक स्कूलबाट विवेक ढुङ्गाना, प्रिया चौधरी र कुश थापा मगर सहभागी थिए।
सिर्जना ज्ञानसागर माविबाट इम्रन उचै, सन्दिपा धरेल र शिरिष लामिछाने तथा नेपाल राष्ट्रिय माविबाट तारा तामाङ, अनिश परियार र सन्जोग श्रेष्ठ फाइनल राउण्डमा पुगेका थिए।
प्रथम हुने विद्यालयलाई शिल्ड, मेडल, प्रमाणपत्रसहित १० हजार रुपैयाँ, द्वितीयलाई ७ हजार रुपैयाँ र तृतीयलाई ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो। सान्त्वना प्राप्त विद्यालयलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। प्रतियोगितामा सहभागी सबै विद्यार्थी तथा विद्यालयलाई सहभागिता प्रमाणपत्रसमेत प्रदान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा ग्रामीण आदर्श बहुमुखी क्याम्पस, एकीकृत समृद्धि नेपाल, कौशल मावि, एन्जल हार्ट मावि, फ्लोरोसेन्ट मावि र लालीगुराँस माविलाई सम्मानपत्र प्रदान गरिएको थियो। क्विज मास्टर सूर्य पौडेल, सागर अधिकारी र सन्जु राईलाई मायाको चिनोसहित सम्मान गरिएको थियो।
कार्यक्रम अखिल (क्रान्तिकारी) राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य मिमबहादुर ऐडीको अध्यक्षतामा सम्पन्न भएको थियो। अखिल (क्रान्तिकारी) केन्द्रीय संयोजक वीरेन्द्र शाहको प्रमुख आतिथ्यता तथा ग्रामीण आदर्श बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख राजेन्द्रध्वज थापाको विशिष्ट आतिथ्यता रहेको थियो। कार्यक्रममा एकीकृत समृद्धि नेपालका सञ्चालक भीमप्रकाश रोका मगर, नेकपा (बहुमत) विद्यार्थी जिल्ला समिति सेक्रेटरी डिबी शाही, अखिल (क्रान्तिकारी) पूर्व केन्द्रीय सचिव गोविन्द बिष्टलगायतको आतिथ्यता रहेको थियो। कार्यक्रम पारस राहादी मगरले सञ्चालन गरेका थिए।
प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति आयोजकले आभार व्यक्त गरेको छ। साथै सहभागी सबै विद्यार्थी तथा विद्यालयलाई धन्यवाद र पुरस्कार विजेता विद्यार्थी एवं विद्यालयलाई बधाई ज्ञापन गरिएको छ।

