त्रिभुवन विश्वविद्यालयलाई क्रान्तिकारीले बुझायो ३४ बुदे मागपत्र

यस्ता छन मागहरु

काठमाडौं, नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले त्रिभुवन विश्वविद्यालय सुधारको लागी ३४ बुदे मागपत्र पेस गरेको छ ।

सङ्गठनको त्रिभूवन विश्वविद्यालय, क्याम्पस विशेष समितीको तर्फबाट सोमबार विश्वविद्यालयका उपकुलपती धर्मकान्त बास्कोटा समक्ष विद्यार्थी संग सम्बन्धित ३४ बुदे मागपत्र बुझाईएको हो ।

अखिल (क्रान्तिकारी) केन्द्रीय उपाध्यक्ष बिरेन्द्र शाह, केन्द्रीय कार्यालय सदस्य तथा त्रिभूवन विश्वविद्यालय, क्याम्पस विशेष समिती इन्चार्ज गोबिन्द बिष्ट नेतृत्वको विद्यार्थी नेताहरुको टोलिले विश्वविद्यालयको समग्र शैक्षिक सुधारको लागी मागपत्र बुजाएको हो ।

उक्त मागहरुमा त्रिभुवन विश्वविद्यालयको शैक्षिक क्यालेण्डर तत्काल सार्वजनिक गरी विश्वविद्यालयका सम्पूर्ण कामकार्वाहीहरु सो बाहेक नहुने गरी प्रबन्ध गर्न, शैक्षिक सत्रको स्नातक तहमा दोस्रो वर्षको वार्षिक परीक्षा र स्नातकोत्तर तहमा पहिलो सेमेस्टरको परीक्षादेखि लागु हुने गरी नेपाली माध्यम भाषाबाट अध्ययन अध्यापन हुने मुख्य क्षेत्रहरु, शिक्षाशास्त्र संकाय, कानून संकाय, व्यवस्थापन संकाय र मानविकी तथा सामाजिकशास्त्र संकाय अन्तर्गत स्नातक र स्नातकोत्तर तहका प्रश्नपत्रहरुमा प्रमुख भाषा नेपाली र सहायक भाषा समेत हुने गरी व्यवस्था गर्न, विश्वविद्यालयका दोहोरो प्राध्यापन गर्ने प्राध्यापकहरुको नियमन गरि निर्देशिका विपरित कार्य गर्ने वा अटेर गर्नेलाई कडा कावीही गर्नुपर्ने बताइएको छ ।

त्यस्तै राजनीतिक भागबण्डाका आधारमा विश्वविद्यालयका पदाधिकारी नियुक्ति गर्न बन्द गर्न र योग्यता, वरिष्ठता र क्षमताका आधारमा सेवा आयोगको परामर्शमा सरुवा र बढुवालाई निष्पक्ष ढंगले व्यवस्थित गर्न, प्रमाणपत्र बनाउन केन्द्रीय कार्यालय नै धाउनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्न र ट्रान्सकिष्ट र प्रोभिजनल प्रमाणपत्र विद्यार्थिले सबै आंगिक क्याम्पसहरुबाट पाउन सक्ने गरी प्रबन्ध गर्न समेत माग गरिएको छ।

उक्त मागहरुको त्रिविले एक महिना भित्र सम्बोधन गर्नुपर्ने समयसिमा समेत तोकिएको र समाधान नभएको खण्डमा आवस्यक संघर्षमा जाने समेत चेतावनी दिइएको छ ।

यस्तो छ मागपत्रको पुर्ण पाठ :

श्री उपकुलपतिज्यू
त्रिभुवन विश्वविद्यालय कीर्तिपुर, काठमाडौं ।

ज्ञापन पत्र –

हाम्रो गौरवशाली संगठन अनेरास्ववियू (क्रान्तिकारी) शिक्षा क्षेत्रको आमूल रूपान्तरण तथा सहज एवं सुलभ वैज्ञानिक, जीवनोपयोगी, व्यावहारिक र सिर्जनशील शिक्षा प्राप्तिको संघर्ष संगै राष्ट्रियता, जनतन्त्र र जनजीवीकाको सवालमा अनवरत अग्रमार्थाको नेतृत्व गर्दै आएको कुरा सर्वविदितै छ। नेपालको शैक्षिक धरोहरको रुपमा रहेको यस त्रिभुवन विश्वविद्यालयको शैक्षिक लगायत समग्र विकासका लागि विश्वविद्यालयसँग सम्बन्धित तपशिल बमोजिमका मागहरु एक महिना भित्र पूरा गर्न यो मागपत्र पेश गर्दछौं । हाम्रो मागहरू प्रति बेवास्ता गरिए विश्वविद्यालयको समग्र हितका खातिर आवश्यक संघर्षको कार्यक्रम अगाडि बढाइने कुरा यसै मागपत्र मार्फत सचेत गराउंदछौ ।

हाम्रा मागहरु :

(१) त्रिभुवन विश्वविद्यालयको शैक्षिक क्यालेण्डर तत्काल सार्वजनिक गरी विश्वविद्यालयका सम्पूर्ण कामकार्वाहीहरु सो बाहेक नहुने गरी प्रबन्ध गरियोस् ।

२) यसै शैक्षिक सत्रको स्नातक तहमा दोस्रो वर्षको वार्षिक परीक्षा र स्नातकोत्तर तहमा पहिलो सेमेस्टरको परीक्षादेखि लागु हुने गरी नेपाली माध्यम भाषाबाट अध्ययन अध्यापन हुने मुख्य क्षेत्रहरु, शिक्षाशास्त्र संकाय, कानून संकाय, व्यवस्थापन संकाय र मानविकी तथा सामाजिकशास्त्र संकाय अन्तर्गत स्नातक र स्नातकोत्तर तहका प्रश्नपत्रहरुमा प्रमुख भाषा नेपाली र सहायक भाषा समेत हुने गरी व्यवस्था गरियोस् ।

(३) विदेशी विषयवस्तुलाई बढी जोडतोडका साथ उठाइने तर नेपालका तमाम विषयहरु उपेक्षामा पर्ने विगतको प्रवृतिलाई नदोहोन्याइयोस् । समय सापेक्ष र परिवेश सुहाउँदो पाठ्यक्रम निर्माणमा ध्यान दिईयोस् । पाठ्यक्रममा नेपालको सभ्यता, नेपाली जनताको त्याग र बलिदानीको वास्तविक इतिहास लगायत नेपालका आर्थिक, सांस्कृतिक, प्राकृतिक सम्भावनायुक्त सुन्दर पक्षहरुलाई समावेश गरियोस् । प्रत्येक विद्यार्थिको रचनात्मकता, उद्यमशीलता, सिर्जनशीलता विकास गर्ने तथा आफ्नो स्वभिमान र आत्मनिर्भरतामा बाँच्न सिकाउने गरी पाठ्यक्रम निमार्ण गरियोस् ।

४) परीक्षा प्रणालीलाई वैज्ञानिक, व्यवस्थित र समय सापेक्ष बनाउँदै समयमा नै नतिजा प्रकाशन हुने सुनिश्चितता गरियोस् ।

५) त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरुमा नाफाका निम्ति सञ्चालित सम्पूर्ण शैक्षिक कार्यक्रमको दायित्व विश्वविद्यालयले लिने गरी सञ्चालन गरियोस् ।

६) त्रिभुवन विश्वविद्यालयका सम्पूर्ण आंगिक क्याम्पसहरुमा अध्ययन अध्यापन हुने विषयहरूको शुल्कमा एकरुपता कायम गरियोस् । विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सामुदायिक र निजी क्याम्पसहरुको शुल्क निर्धारण सम्बन्धी यथोचित मापदण्ड तयार गरी कडाईका साथ लागु गरियोस् । सो को कार्यान्वयन सुनिश्चिताका निम्ति एक केन्द्रीय अनुगमन समिति तयार गरी मापदण्डको पालना नगर्ने त्यस्ता कलेजहरुलाई कावाही गरियोस् ।

१९) त्रिभुवन विश्वविद्यालय र यसका आङ्गिक क्याम्पसहरुमा हाल थुप्रै शिक्षक र कर्मचारीहरुको पद रिक्त रहेको अवस्था छ । मनोमानी ढंगले करार नियुक्ती गर्ने काम भएको छ । यसलाई यथाशीघ्र नियन्त्रण गरी सेवा आयोगबाट निष्पक्ष पदपूर्ति हुने प्रबन्ध मिलाइयोस् ।

२०) विद्यार्थि स्वास्थ्य बिमाको व्यावहारिक कार्यान्वयन गरियोस् ।

२१) विज्ञान संकायका निम्ति आवश्यक गुणस्तरीय प्रयोगात्मक सामग्रीको उचित व्यवस्थापन गरियोस् ।

२२) सेमेस्टर प्रणालीमा विश्वविद्यालयले निर्धारण गरेका आन्तरिक मूल्यांकन मापदण्डको प्रभावकारी पालना हुने। व्यवस्था गरियोस् । सम्बन्धित क्याम्पस र विभागको मनोमानी प्रवृतिलाई नियन्त्रण गरियोस् ।

२३) विश्वविद्यालयको वार्षिक कार्यक्रममा अध्ययन गर्न चाहने विद्यार्थिहरुको लागि शिक्षा र मानिविकी तथा सामाजिकशास्त्र संकायमा वार्षिक पाठ्यक्रम सहितको आवश्यक व्यवस्थापन गरियोस् ।

२४) विश्वविद्यालयका दोहोरो प्राध्यापन गर्ने प्राध्यापकहरुको नियमन गरि निर्देशिका विपरित कार्य गर्ने वा अटेर गर्नेलाई कडा कावीही गरियोस् ।

२५) विश्वविद्यालयमा अध्ययनरत विद्यार्थिहरुका लागि स्थानान्तरण प्रक्रिया तत्काल सुचारू गरि सहजै स्थानान्तरण गर्ने व्यवस्था गरियोस् ।

२६) समकक्षता सम्बन्धि झन्झटिलो प्रक्रियागत जटिलताको अन्त्य गरियोस् ।

२७) आर्थिक चलखेल र निकटताको आधारमा निजीलाई शैक्षिक सम्बन्धन दिने गलत प्रवृतिको अन्त्य गरियोस् ।

२८) विश्वविद्यालय र आङ्गिक क्याम्पसहरुमा भौतिक निर्माणमा भएको ढिलाई, लापर्वाही र मापदण्ड विपरीत भएको कामकार्वाहीको छानबीन गरी दोषिउपर कार्बाही गर्न, निर्माण सम्बन्धि कामको गुणस्तरीयता सुनिश्चित गर्न र समयमै काम सम्पन्न गर्न गराउन तत्काल आवश्यक पहलकदमी लिइयोस् ।

२९) विश्वविद्यालयका प्राध्यापक र कर्मचारीहरु आफ्‌नो जिम्मेवारी र मर्यादा विपरीत राजनीतिक गतिविधिमा संलग्न र सक्रिय हुने तथा आफ्‌नो कर्तव्य र दायित्वबाट विमुख हुदै जाने प्रवृत्ति हाबी हुदै गएको अवस्था छ । त्यसलाई रोक्न आवश्यक छ, तत्काल रोकियोस् ।

३०) वर्तमानको स्ववियु निर्वाचन प्रक्रिया विकृत हुन पुगेको छ । जसका कारण क्याम्पस भ्रष्ट, अराजक र दलालहरुको अखडा बन्ने अवस्था सिर्जना भएको छ । वास्तविक विद्यार्थिहरुको स्ववियुप्रतिको आस्था र विश्वास घट्दै गएको छ । त्यसैले स्ववियुको आगामी निर्वाचन पूर्ण समानुपातिक समावेशी सिद्धान्तका आधारमा हुने विकल्प खोजियोस् ।

३१) विश्वविद्यालयसंग सम्बन्धित सूचनाहरुको प्रभावकारी व्यवस्थापनको निम्ति एकिकृत सूचना व्यवस्थापन केन्द्रको निर्माण गरियोस् ।

३२) स्नातकोत्तर भन्दा माथिका शोधपत्रको प्रभावकारिता र विश्वसनीयता अभिवृद्धि गर्न प्रत्येक क्याम्समा आवश्यक व्यवस्थापन गरियोस् ।

७) नेपालको केन्द्रीय लाईबेरीलाई थप व्यवस्थित र सुविधायुक्त बनाउनुको साथै त्रिभुवन विश्वविद्यालय अन्तर्गतका देशैभरीका विद्यार्थिलाई निःशुल्क रुपमा २४ सै घण्टा Remote access Facility समेत उपलब्ध गराइयोस् ।

८) त्रिभुवन विश्वविद्यालयका सबै आंगिक क्याम्पसहरुमा पुस्तकालयको प्रभावकारी व्यवस्थापन गरियोस् । क्याम्पसका पुस्तकालयमा सम्बन्धित क्याम्पसमा अध्यापन गराइने विषयहरुको सन्दर्भ सामाग्रीहरु सहित पर्याप्त पुस्तकहरुको व्यवस्था B Lib. Sc. / M Lib. Sc. अध्ययन गरेका कर्मचारीहरु मार्फत पुस्तकालयको सञ्चालन व्यवस्थाका साथै सबै पुस्तकालयलाई ई-लाइब्रेरीको सन्जालमा जोड्दै त्यसको प्रभावकारी सञ्चालनको सुनिश्चितता गरियोस् ।

९) विश्वविद्यालयद्वारा विभिन्न संकायमा प्रदान गरिदै आएको छात्रवृत्तिमा थप १० प्रतिशत वृद्धि गरियोस् ।

१०) त्रिभुवन विश्वविद्यालयकै पहलकदमीमा Study-cum-work Model तयार गरी कम्तीमा विश्वविद्यालयका आंगिक क्याम्पसहरुमा अध्ययनरत बेरोजगार विद्यार्थिहरुको लागि हप्ताको न्यूनतम २० घण्टा रोजगारीको ग्यारेण्टी गरियोस् वा विद्यार्थिहरुको निम्ति उद्यमशील तथा व्यवसाय कोष खडा गरी विश्वविद्यालय मार्फत ऋण उपलब्ध गराइयोस् ।

११) कानूनतर्फ BALLB र LLB, विज्ञान संकाय तर्फ B Sc. CSIT र BIT, मानविकीतर्फ BSW र BCA, व्यवस्थापनतर्फ BHM, BBA, BIM, BTTM, ईन्जिनियरिङका कार्यक्रम लगायत कार्यक्रमहरु प्रत्येक प्रदेशका कम्तीमा एक आंगिक क्याम्पसमा अध्ययन-अध्यापन हुनेगरी सेवाको विस्तार गरियोस् ।

१२) चिकित्साशास्त्रमा सीट संख्यालाई दोब्बर पारियोस्, र माथेमा आयोगको सिफारिस बमोजिम शुल्क समायोजन गरियोस् ।

१३) विभिन्न बाहानामा विश्वविद्यालयको जमिन दुरुपयोग भईरहेको तथा त्यहाँ आर्थिक चलखेल समेत हुने गरेको हुँदा अनुचित र अस्वभाविक ढंगबाट भाडामा लगाईएका जमिन तत्काल फिर्ता ल्याइयोस् । साथै, सम्पुर्ण आङ्गिक क्याम्पसहरुको सार्वजनिक सम्पत्तिको संरक्षण र उचित सम्भारको व्यवस्था गरियोस् ।

(१४) प्रशासन सेवालाई अनलाईन र डिजिटल बनाईयोस् । प्रशासनिक कर्मचारीले विद्यार्थिउपर गर्ने व्यवहारमा सापेक्षित सुधार ल्याइयोस् ।

१५) प्रमाणपत्र बनाउन केन्द्रीय कार्यालय नै धाउनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गरियोस् । ट्रान्सकिष्ट र प्रोभिजनल प्रमाणपत्र विद्यार्थिले सबै आंगिक क्याम्पसहरुबाट पाउन सक्ने गरी प्रबन्ध गरियोस् ।

१६) बिग्रेका प्रमाणपत्र सच्याउने प्रक्रियालाई छिटोछरितो पारियोस्, र निःशुल्क सच्याउनुपर्ने व्यवस्था गरियोस् ।

१७) आगामी शैक्षिकसत्र देखि स्नातकोत्तर तहमा भर्नाका निम्ति औपचारिकता स्वरुप लिईने प्रवेश परीक्षा खारेज गरियोस् । स्नातकोत्तर तहको पाठ्यक्रम नेपाली भाषामा समेत तयार पारियोस् र स्नातकोत्तर तहको (Compendium) पाठ्यक्रममा देशैभरीका सबै विद्यार्थिहरुको सहज र सुलभ पहुँच कायम हुने गरी व्यवस्था गरियोस् ।

१८) शिक्षक-शिक्षिका र कर्मचारीहरुलाई तालिम र उचित प्रोत्साहनको व्यवस्था गरियोस् ।

३३) त्रिभुवन विश्वविद्यालयको केन्द्रीय परिसरमा रहेको क्रिकेट मैदानलाई थप व्यवस्थित गर्दै अन्य खेलहरुका लागि पनि आवश्यक खेल मैदान निर्माण गरि पर्याप्त खेलकुद सामग्रीको व्यवस्थापन गरियोस् ।

(३४) राजनीतिक भागबण्डाका आधारमा विश्वविद्यालयका पदाधिकारी नियुक्ति गर्न बन्द गरियोस् । योग्यता, वरिष्ठता र क्षमताका आधारमा सेवा आयोगको परामर्शमा सरुवा र बढुवालाई निष्पक्ष ढंगले व्यवस्थित गरियोस् ।

क्रान्तिकारी अभिवादन सहित !

बोधार्थ
-सबै आगिक क्याम्पसहरु ।

……………………
गोविन्द विष्ट
ईन्चार्ज
त्रिभूवन विश्वविद्यालय, क्याम्पस विशेष समिती