देश बेइमानले चलाएका छन् : ओली

काठमाडौं, प्रमुख प्रति पक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश नै अहिले बेइमानले चलाएको आरोप लगाएका छन् । नेकपा एमाले झापा–काठमाडौं सम्पर्क मञ्चले गरेको एक कार्यक्रमलाई आज (मंगलबार) सम्बोधन गर्दै ओलीले अहिले जताततै विकृति बढेको बताएका छन् ।

‘झुट बेइमानी बाहेक कहीं नहुने भएको छ । हाम्रो समाज छातीमा हात राखेर भन् भनेपछि झुटो बोल्न सक्दैनथ्यो । तर अहिले त्यो दिन रहेन’, उनले भने । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले दोहोरीमा छिरेको विकृतिबारे आफ्नो धारणा राखेका हुन् । ओलीले नेपालको मौलिक भनिएको दोहोरी गीत समेत अचेल हेरिनसक्नु भएको गुनासो गरे । ‘दोहोरी भनेर गीत गाउँछन्, यसो टेलिभिजनमा हेर्‍यो, के–के गाउँछ, के–के भन्छन्, हेर्दाहेर्दै उठेर भाग्नु पर्छ’, ओलीले भने, ‘अचेल त हेर्नै सकिँदैन के के भन्छन् भन्छन् १ दोहोरी हो कि रत्यौली हो चिन्न गाह्रो भयो ।’

उनले अहिले दोहोरीमा प्रयोग भएका शब्दा उहिले रत्यौलीमा मात्रै प्रयोग हुने गरेको पनि बताए । ‘म अलि अलि बुझ्ने भएको रहेछु । गाउँमा हुँदा रत्यौली हेर्न गएको थिएँ । तर रत्यौलीमा प्रयोग हुने शब्द अलिअलि बुझ्ने भएकाले भागेर हिंडे । अहिले त समाजमै रत्यौली खेल्न थालेपछि भाग्ने कहाँ, लुक्ने कहाँ, जाने कहाँ ?’

उनले अब दोहोरी गीत र हाम्रो संस्कृतिमा देखिएको विकृतिलाई सुधार्नु बाहेक विकल्प नरहेको बताएका छन् । ‘अब त्यसलाई सहनु र बदल्नु लाग्नु बाहेक हामीसँग विकल्प छैन’, उनले भने, ‘सांस्कृतिक अधपतनलाई रोक्नुपर्छ । त्यसलाई सच्याएर अगाडि बढ्नु पर्छ।’

उनले भूकम्पले भत्किएको धरहरा दुई वर्षमा बनाएको बताए । ‘धरहरा भत्कियो, दुई वर्षमा बनायौं । तर जब संस्कृति र संस्कार भत्किन्छ दुई वर्षमा होइन, दुई पुस्तामा पनि बनाउन गाह्रो हुन्छ ।’