चुनौती र गौरवपूर्ण बाटो हिँडेका छौँ : रामकुमारी झाँक्री

काठमाडौं, नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले नयाँ दल दर्ता गरेर आफूहरू चुनौती र गौरवपूर्ण बाटोमा हिँडेको बताएकी छन् ।

पार्टी दर्ताका लागि बुधबार सनाखत गर्न निर्वाचन आयोग पुगेकी नेतृ झाँक्रीले सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उक्त कुरा बताएकी हुन् ।

आफूहरू कम्युनिस्ट आन्दोलन पुनर्जागरणको बाटोमा हिँडेकाले सहमत हुनेहरू यो अभियानमा सामेल हुन सक्ने बताइन् । उनले पार्टीमा आउन चाहनेहरूका लागि ढोका खुल्लै रहेको प्रतिक्रिया दिइन् ।

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएसँगै माधव नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) दर्ताको प्रक्रियामा छ । एकीकृत समाजवादीका केन्द्रीय नेताहरू सोमबारदेखि चन्द्रागिरीमा भेला भएका थिए । बुधबार उनीहरू त्यहाँबाट सिधै निर्वाचन आयोगमा पुगेका हुन् ।

यसैबीच दिल्लीमा उपचाररत नेता झलनाथ खनालले पनि समाजवादीको पक्षमा सनाखत गरेका छन् । उनले दूतावासमार्फत सनाखत गरेका हुन् ।